Latest Post

अभिनेत्री करिश्मा र कलाकार तथा निर्देशक विनोद मानन्धर दम्पतिले वर्षौंदेखि ललितपुरस्थित आफ्नै निवासमा मनाउँदै आएको होली पर्वको निरन्तरता यस वर्ष पनि उल्लासमय बन्यो। पति विनोदको जन्मदिन पनि होलीकै दिन परेकाले करिश्माका लागि यस वर्षको होली अझ विशेष बन्ने गर्दछ । पहिलेका वर्षका तुलनामा निवासको होलीको रौनकता झन्झन् बढ्दै गएको उनले बताइन् । ‘फिल्मक्षेत्र पनि बढ्दैछ र कलाकार पनि बढ्दैछन्।’ उनले भनिन्,‘ सुरुसुरुमा फिल्मको सुटिङ धेरै पर्ने भएकाले होली मेरा लागि छुट्टि मनाउने र साथीहरुसँग भेट्ने मौकाजस्तो हुन्थ्यो। अहिले धेरै जनासँग जमघट हुन्छ। कति त वर्षको एकपटक यही होलीमै भेटिँदा झन् रमाइलो लाग्छ। अरु चाडमा धेरैजना काठमाडौंबाहिर जानुहुन्छ । होलीमा सबैसँग भेट्ने मौका पाइन्छ।’

करिश्मा निवासमा होली मनाउन फिल्मक्षेत्र सम्बद्ध कलाकार, प्राविधिक तथा निर्देशकहरुको उल्लेख्य उपस्थिति थियो। बिहानै जमघट र नाचगान सुरु भएको छ । साँझसम्म चलेको यो क्रम चल्नेछ ।

अचम्म त के छ भने होली मनाउन करिश्मा निवासमा कलाकार मात्र हैन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका थिए। कम्युनिष्ट नेता होलीको रंगमा रमाउनु त्यो पनि कलाकारको घरैमा पुगेर अलिक अनौठो देखिएको थियो ।

The post करिश्मासँग रंग खेल्न पुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराई !हेर्नुहोस १० तस्विर करिश्मा निवासमा भएको होलीको रौनक appeared first on Taja nepali news.

http://ift.tt/2GQwE0X

३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरले रङ्गहरु पर्व होलीका दिन प्रकाश लाई सम्जिदै बिगतका वर्षको होलीका फोटा सार्बजनिक गर्दै यस्तो लेखेकि छन् तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी…..
miss you ……

The post होलीको दिन् प्रकाश लाई सम्झिदै फेसबुकमा बिना मगर यस्तो लेखिन यस्तो स्टाटस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

होलीको माहोल थियो । ठमेलको काठमाडौं गेस्ट हाउस नजिकै दुई जना विदेशी पर्यटक रमाइलो मान्दै रिक्सामा आइरहेका थिए । दुवैको शरीर होलीको रङले छपक्कै रंंगिएको थियो । केही पर पुगेपछि होली मनाउँदै हिँडेको एक समूह उनीहरु नजिकै आए ।

रङ छ्याप्दा त उनीहरु रमाएकै थिए । ह्याप्पी होली…भन्दै खुसी साटिरहेका थिए तर उनीहरुको खुसीको समय छोटियो ।

रङको साटो पानी छ्याप्न सुरु भयो । दुवै एक अर्कालाई जोगाउनतिर लागे । पछाडि बसेकी महिला केही डराइन् । अगाडि बसेकी युवती साथीलाई जोगाउन काखमा बसिन् । भिडमध्येका एक जनाको हात अगाडि बढिसकेको थियो । जब एक रौसिया पुरुषको हात महिलाको संवेदनशील अंग मुर्सान पुग्यो, उनी चिच्याइन्, ‘फ…क यू’ । महिलाको आक्रोशित मुहार देखेर समूह बिस्तारै पर–पर सर्यो ।

यो दृष्य २०६४ साल होलीको हो । प्रत्यक्षदर्शी थिए– फोटो पत्रकार विजय राई ।

‘पानीबाट क्यामरा जोगाउँदै ठमेल पुग्दा रमाइलै भइरहेको थियो तर रङ दल्ने बहानामा भएको दुव्र्यवहार देख्दा दिक्कै लाग्यो,’ त्यो दृश्य सम्झँदै उनले भने, ‘होली मनाउने भन्दा पनि त्यहाँ सिकार खोज्न हिँडेका ब्वाँसोजस्तो व्यवहार भयो । फोटो खिचिरहन सकिनँ ।’

राईले पर्वको बहानामा भएको त्यो दुव्र्यवहार देखेको १० वर्ष टेक्यो यस २०७४ को होलीमा । यस बीचमा होली मनाउने शैली निक्कै फेरिइसक्यो । जबर्जस्ती लोला हान्ने, पानीले भिजाउने, रङ छ्याप्ने क्रम केही घटेका छन् । नघटेको पक्ष भने यही पर्वमा सल्बलाउने दुव्र्यवहार गर्ने हात नै हुन् ।

होली । नामै काफी छ यो रङहरुको पर्व हो । एकअर्कालाई रङ लगाउने, नयाँ–नयाँ साथी बनाउने, ह्याप्पी होली भन्दै पुरानो मनमुटाव हटाउने । वास्तवमै होली मित्रताको पर्व हो तर होली यतिमा मात्रै सीमित छैन ।

चोक–चोकमा उभिएर हेर्दा देखिने दृश्यले भन्छ, ‘होलीको बहानामा हुने दुव्र्यवहार भने उस्तै छ ।’ पर्व मनाउन उत्साहसाथ हिँडेकाहरु दुव्र्यवहारको सिकार हुँदा मुहारमा दलिएको सप्तरङ्गी चमक एकाएक फिक्का हुन्छ ।

‘हुन त यो रमाइलो चाड हो तर मान्छेहरुले गर्ने अमानवीय व्यवहार देख्दा होली कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ,’ होलीको दुःखद अनुभव सुनाउँदै लोकदोहोरी गायिका प्रीति आलेले भनिन्, ‘होलीमा जथाभावी छोएको, रङ दल्देको अनुभव धेरैपल्ट भोगेँ ।’

होलीबारे उनको तीतो अनुभव यत्तिमै सकिएन ।

‘हामी गायकगायिकालाई रङबाट टाढा रहनुपर्ने हुन्छ, यसले स्वरमा असर गर्छ तर यहाँ चिनेको होस् या नहोस् अनुहारतिर हेरेर ‘ह्याप्पी होली’ भन्दै अन्तै (संवेदनशील अंग) हात पुर्याउनेको कमी छैन । होलीमा केटी मान्छे केटाबाट बढी नै जोगिनुपर्छ । जोगिने सुरमा होली मनाउँदाको खुसी नै हराउँछ ।’

होलीबारे अभिनेत्री रजनी केसीको अनुभव पनि त्यत्ति सुखद छैन । शुक्रबारसँग उनले एक वर्षअघिको अनुभव साटिन् । घर (सामाखुसी)बाट होली मनाउने भनेर उनी बाहिर निस्कदै थिइन् । उनलाई लिन दिदीहरु गाडीमा आउँदै थिए । घरबाट चोकसम्म पैदल हिँड्डाहिँड्दै एक हुल केटाहरु होली खेलिरहेका थिए । त्यही समूहका एकजनाले उनलाई ताकेर लोला हान्यो । लोला उनको स्तनमै लाग्यो । उनलाई त्यस लोलाले असाध्यै दुखायो तर केही बोलिनन् । सरासर घर फर्किइन् ।

‘त्यो घटना म कहिल्यै बिर्सन सक्दिनँ,’ शुक्रबारसँग भावुक हुँदै उनले भनिन्, ‘त्यतिबेला एकदमै दुखेको थियो । घर पुगेरका हट वाटर ब्यागले एक घण्टाजति छाती सेक्नु प¥यो । त्यही घटना सम्झेर अहिले पनि म होली भन्नेबित्तिकै तर्सिहाल्छु ।’

दुव्र्यवहारमा मौन

शुक्रबारले होलीमा हुने हिंसा अथवा दुव्र्यवहारलाई लिएर करिब ५० जनासँग कुराकानी गर्दा कमैले मात्र दुव्र्यवहार हुने कुरा स्वीकारे । अधिकांशले दुव्र्यवहार हुनु नराम्रो हो मात्र भने । तपार्इंले गर्नु भएको छ या दुव्र्यवहारमा पर्नुभएको छ भन्ने जिज्ञासामा अधिकांश तर्किए ।

नेपाल प्रहरीको तथ्यांकले पनि होलीका बेला गरिने दुव्र्यवहार निकै बढ्ने देखाउँछ । होलीमा चोक–चोकमा दुव्र्यवहार भएका दृश्य बग्रेल्ती देखिन्छ तर प्रहरीकोमा उजुरी भने आउँदैन ।

होलीमा प्रहरीसम्म आइपुग्ने उजुरी कस्ता रहेछन् त ? प्रहरी प्रधान कार्यालयबाट २०७३ को होलीका अपराधको तथ्यांक हेर्दा छक्कै परियो ।प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार २०७३ मा ७५ जिल्लामा होलीसँग जोडिएका जम्मा ५ वटा घटना मात्रै दर्ता छन् । ती पाँचै वटा झगडा सम्बन्धित छन् । केही दुर्घटनाका तथ्यांक प्रहरी रेकर्डमा छ । त्यसमा पनि होलीको भन्दा अन्य कारण नै बढी छ ।

‘होलीमा हुने अधिकांश घटना झगडासम्बन्धी देखिन्छ,’ न्यौपानेले शुक्रबारसँग भने, ‘केही दुर्घटनाबारे छन् तर ती सबै होलीसँग मात्र जोडिएका छैनन् ।’होलीमा हुने दुव्र्यवहारबारे कुराकानी र प्रहरी तथ्यांक वास्तविक दृश्यभन्दा भिन्न रहेको यसैले देखाउँछ । दुव्र्यवहारबारे अझै पनि नेपाली समाज खुलेर बोल्न चाहँदैन ।

लोकप्रिय अभिनेत्री केकी अधिकारी समाजको यस्तो प्रवृत्तिदेखि दुःखी छन् । उनी आफैं पनि होलीमा हुने यौनिक हिंसाको शिकार भएकी छन् । उनले आफ्नो तीतो अनुभव साटिन् ।‘तीन वर्ष अघिको होलीमा घरबाट स्कुटीमा बाहिर निस्केकी मात्रै थिएँ, केटाहरुले छातीमै लाग्नेगरी लोला हाने,’ शुक्रबारकर्मीसँग उनले भनिन्, ‘मेरालागि त्यो डरलाग्दो अनुभव थियो ।’

गायिका ज्योती मगर आफूलाई अहिलेसम्म दुव्र्यवहार गर्ने हिम्मत कसैले नगरेको तर अरु दुव्र्यवहारमा परेको थुप्रैपल्ट भोगेको बताउँछिन् । उनलाई लाग्छ– सामान्तः केटाहरु अरु समय केटीहरुलाई छुन पाउँदैनन्, त्यसैले होलीमा मौका छोप्छन् ।

शुक्रबारसँग उनले भनिन्, ‘स्कुल पढ्दाखेरी मलाई पनि नर्मल्ली टच गर्न खोजेका थिए, अहिले त कसैले हिम्मत गर्दैनन् । यहाँ बोल्न नसक्ने केटीहरु धेरै दुव्र्यवहारमा पर्छन् । केटाहरु घरबाट निस्कदै गरेका केटीलाई देख्यो कि ताकी ताकी बाँकी नछाड्ने मानसिकता बोक्छन् ।’‘एक्लै हिँड्नै हुन्न, अट्याक गरिहाल्छन्’

मोडलिङमा संघर्षरत काठमाडौं, सामाखुसी बस्ने उरुषा पाण्डे होली भन्नासाथ तर्सिन्छन्, घरबाट बाहिर निस्कनै चाहदिनन् ।

किन त ?

‘होली खुसी साट्ने पर्व हो तर यही दिन म दुःखी भएको छु,’ उनले होलीमा भोग्नुपरेको अनुभव सुनाउँदै भनिन्, ‘दुई वर्षअघि होलीमा विशेष कामले घरबाट बाहिर निस्किरहेकी थिएँ । त्यहीबेला एक हुल केटाहरुले चारैतिरबाट घेरेर लोला हाने । म त फेन्ट नै भएछु ।’गायिका एन्जिला रेग्मीलाई पनि यस्तै लाग्छ, ‘होलीमा एक्लो हुनै हुँदैन, अट्याक गरिहाल्छन् ।’

उनलाई यस्तो त्यसै लागेको होइन, अनुभवले सिकाएको हो । ‘एक वर्षअघि होलीको कार्यक्रममा जान कोठाबाट निस्किएर ट्याक्सी कुरिरहेका बेला ३–४ जना केटाहरु आएर टमाटर हानेर रङ लगाए । सबैले रक्सी खाएका थिए । उनीहरुले फोहोर पानीको बोतल मेरो शरीरमा खन्याइदिए । गर्नसक्ने केही थिएन । म घर फर्किएँ र ड्रेस चेन्ज गरेँ ।’

मोडल सवनम चौधरी पनि होलीमा हुने दुव्र्यवहारको अनुभवबाट मुक्त छैनन् । उनलाई लाग्छ– सहमतिमा रङ लगाउने ठीकै हो तर केटीहरुको ‘प्राइभेट पार्ट’ ताकेर लोला हान्नु ठीक होइन ।

‘होली खुसीको पर्व हो तर कसैको जीउमा जबरजस्ती छोएर, जबरजस्ती दलेर, जबरजस्ती लोला हानेर मिल्ने खुसी कस्तो खुसी र कस्तो आनन्द हो ?’ उनले प्रश्न गरिन् ।

मौन बस्ने हैन, उजुरी गर्नुस्

एसएसपी दिवेश लोहनी, महानगरीय प्रहरी अपराध महाशाखा

सुरक्षा निकायको प्रयास र नागरिकको सहयोगमा पर्वमा हुने विकृति घट्दै गएको छ । जसलाई पायो त्यसलाई लोला हान्ने, फोहोर पानी खन्याउने, जर्वजस्ती रङ लगाउने, चिन्नै नसक्ने गरी मुहारमा रङ दलेर सवारी साधनमा हिड्नेजस्ता प्रवृत्ति घटेका छन् ।

कसैले जबर्जस्ती लोला हान्यो भने अहिले प्रहरीकोमा खबर आउँछ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने र पर्व हो भनेर २ पाङ्ग्रे सवारीमा हेलमेट नलगाई ४ जनासम्म चढेर हिँड्ने दृश्य सहरी क्षेत्रमा दुर्लभ भइसक्यो तर पनि अझै केही विकृति नभएका हैनन् । होली लगायतका सार्वजनिक पर्वमा यौन हिंसा हुने गरेको सुनिन्छ । यसको नियन्त्रणका लागि प्रहरीले प्रयास गरेको पनि छ । आएका उजुरीमाथि गम्भीरतापूर्वक छानबिन गर्ने गरेका छौँ तर यसबारे चर्चा सुनिने गरे पनि प्रहरीमा उजुरी आउनेक्रम अलि कम नै छ । पर्वमा हुने अन्य गलत काम जसरी घट्यो, त्यसरी नै यस्ता प्रवृत्तिलाई हटाउन पीडित पक्षले होस् होली हो भनेर मौन बस्नुको साटो प्रहरीमा खबर गर्ने बानी बसाले यौन हिंसारहित पर्व बनाउन सहज हुन्छ । यो पाटोमा प्रहरी गम्भीर छ । जो हिंसामा पर्नुहुन्छ, खबर गर्नुस् ।

होलीका तीन अनुभव

–डा. रन्जितकुमार झा, कन्सल्टेन्ट फिजिसियन तथा कार्डियो डाइबिटोलोजिष्ट गजेन्द्रनारायण सिंह

होलीका केही रमाइला सम्झना छन् । पहिलो काठमाडौंमा बिएस्सी पढ्दाको क्षणको हो । अहिले सम्झदा पनि हाँसो लाग्छ त्यो । भएको के थियो भने साथीहरूसँग मस्तले होली खेलियो । साथीहरूले झुक्याएर भाङ खुवाएछन् । डेरामा पर्खन खोज्दा बिजुली बजारको पुल पार गर्नै सकिएन । लठ्ठै परेँछु, उठ्नै सकिनँ । दुई घण्टासम्म त्यही पुलमा बसे ।

अर्को चै क्याम्सको सम्झना हो । म अमृत साइन्स क्याम्पसमा पढ्दै थिएँ । साथीहरूसँग मिलेर क्याम्पसको होस्टलको छतमा बसेर बाटोमा हिँड्ने एउटी युवतीलाई लोला हानेका थियौं । ती युवती र उनका आफन्त सरासर होस्टलको छतमा आएर पटापट चड्कन हाने । भागाभाग भयो । वास्तवमा हाम्रै गल्ती थियो । हामीले सरी भन्यौं ।

म सम्झिन्छु, ‘२०७२ साललाई । काठमाडौंमा थिएँ । साथीहरूसँग पार्टी खाँदै होलीमा रमाउँदै थियौँ । खुब रमाइलो गर्दै थियौँ । अस्पतालबाट बिरामी अत्यन्तै सिरियस अवस्थामा पुगेको भन्दै फोन आयो । कपडाले हतारहतारमा रङ पुछेर अस्पताल दौडिएँ । अस्पताल पुगेँ । बिरामी भेन्टिलेटरमा छट्पटाइरहेका थिए । ती बिरामी निमोनियाले सिरिएस थिए । बिरामी ४५ वर्ष उमेरका थिए । ती बिरामीलाई जेनतेन बचाएँ ।

होलीमा चिकित्सक पनि रमाउन चाहन्छन् । अरूले जस्तै रङसँग खेल्न मन लाग्छ । खानपिन गर्न मन लाग्छ । तर संवेदनशिल पेशाका कारण मन खोलेर मनाउन पाइदैन । सरकारले होलीको दिन सार्वजनिक बिदा दिँदै आए पनि चिकित्सकीय पेसामा भएकालाई बिदा मिल्दैन । परिवारसँग रमाएर ढुक्कले खेल्न पाइँदैन ।

२५ वर्षपछि होली पर्वमा तराईमा आएको छु । यसपालि अस्पतालबाट केही समय फुर्सद मिल्यो भने मनाउने योजना छ ।

दुःखद् होली

आमा गुमाउँदाको क्षण: नाजिर हुसेन

होली खेल्न रमाइलो लाग्छ तर केही वर्षदेखि होलीमा आमाको याद थपिएको छ । ६ वर्षअघि होलीकै समयमा आमा गुमाएँ । अरू सबै साथीहरु ह्याप्पी होली भनेर रङमा रमाइरहेका बेला म एक्लै थिएँ । त्यसैले अहिले पनि होलीमा आमाको यादले एक्लोपन थप थप्दो रहेछ । साथीहरुसँग होली खेलिरहे पनि कतै न कतै आमाको याद आउँदो रहेछ ।

त्यसलाई भेटे कच्याककुचुक्क पार्दिन्थेँ: दिपाश्री निरौला, कलाकार

होलीका नरमाइला घटना धेरै छन् । एउटा घटना भने अझै बिर्सन सकेकी छैन । काठमाडौं आएपछि होली मनाउन चाबहिल दिदीकोमा स्कुटरमा जाँदै थिएँ । कुन चाहिँले लोलाले यस्तोसँग बजायो कि स्कुटरको हेडलाइट नै फुट्यो । त्यही फुटेको हेडलाइट ल्याफ्रयाक ल्याफ्रयाक पार्दै घर पुगेँ । त्यो सम्झिँदा अहिले पनि लोला हान्ने ती मान्छेलाई फेला पारे अनुहारै कच्याककुचुक्क पार्दिन्थेँ होला जस्तो रिस उठ्छ । सम्झिँदै जाँदा धन्न स्कुटरमा लाग्यो मेरो अनुहारमै लागेको भए त त्यो मान्छेको अनुहार ऐनामा हेर्दा आफंै तर्सिने जस्तो बनाइदिन्थेँ होला ।

रङको बदलामा जुठो पानी: पुष्पल खड्का

काठमाडौंको घटना हो । कोठामा बसिरहेको थिएँ, एकहुल साथी आएर एक्कासि अट्याक गरे । मसँग रङ थिएन । आफैँलाई बचाउन बाटामा भाँडा धोएर राखेको पानी छ्यापीदिएँ । हुलमूलसँगै आएकी मेरी एक निर्दोष केटी साथीलाई जुठो पानीले रुझायो, अनि उनी रुन थालिन् ।

बेलुकासँगै सिसाको टुक्रा:शिल्पा पोखरेल

एकपटक मेरो क्लासमेट साथी बाइक चलाएर कतै जाँदै थियो, छतबाट कसैले बेलुनमा पानी सँगसँगै सिसाका टुक्रा भरेर हानेछ । साथी बाइकबाट लडेर घाइते भयो, अनि घाँटीभरि सिसैसिसाले काट्यो । अहिले ऊ विदेशमा छ, राम्रै छ तर मलाई त्यो घटनाले बारम्बार झस्काइरहन्छ ।

छातीमै लोला लाग्यो: अभिनेत्री सरिता लामिछाने

हरेक होली रमाइलो लाग्छ । कलरसँग खेल्न मन लाग्छ । धेरै होली खेलेको पनि छु । असत्यमाथि सत्यको विजय मनाउने पर्व भएकाले रमाइलो पनि गर्नुपर्छ । तर हरेक होली रमाइलो हुन्न । त्यस्तै एक घटना घटेको छ मेरो जीवनमा पनि ।

८ वर्षअगाडी बागबजारमा हिँडिरहेको थिएँ । एक्कासि कताबाट एउटा लोला आयो र छातीमा लाग्यो । रिंगटा लागेर भुइँमा लडेँ । सास फेर्न निकै गाह्रो भयो । होली खेल्दा मरेको समाचार सुनेको थिएँ । आफैँलाई प¥यो । त्यो घटना सम्झँदा अहिले पनि कस्तो कस्तो लाग्छ ।

The post ओई हात काँ! appeared first on Taja nepali news.

http://ift.tt/2FHRMHd

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.