Articles by "खेलकुद"

Showing posts with label खेलकुद. Show all posts

बैशाख २७  । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।


जितसँगै हैदरावादले प्ले अफ्मा पुग्ने सम्भावना पनि बलियो पारेको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए ।
जवाफमा १ सय ३९ रनको मध्यम लक्ष्य हैदरावादले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।
हैदरावादका लागि शिखर धवनले ६२ रन जोड्दा मोइसेस हेन्रीक्सले ४४ रनको योगदान दिए ।
आईपीएल क्रिकेटको यो दशौं संस्करण हो । दशौं संस्करणको पहिलो खेलमा मुम्बई ईन्डियन्ससँग भोगेको हारको बदला हिजो हैदरावादले लिएको छ ।
आईपीएल क्रिकेटमा आज किङ्स ईलेभेन पञ्जाव र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

बैशाख २४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५-० को फराकिलो अन्तरले पराजित ग¥यो । घरेलु मैदानमा म्यानसिटीलाई जिताउन डेभिड सिल्भा, भिन्सेन्ट कोम्पानी, केभिन डे ब्रायन, राहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले एक/एक गोल गरे ।
यो जितसँगै म्यानसिटी ३५ खेलबाट ६९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
३५ खेलबाटै ७७ अंकसहित टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित उपाधि नजिक पुगेको छ ।
प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा हल सिटीलाई सण्डरल्याण्डले २-० ले हराएको छ । दोस्रो श्रेणीमा झरिसकेको सण्डरल्याण्डसँग पराजित भएपछि हल सिटी पनि रेलिगेशनको खतरामा पुगेको छ ।
राति एभर्टनलाई १-० ले हराउँदै स्वान्सी सिटी भने तालिकाको १७ औं स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट हल सिटीको ३४ अंक छ ।
राति भएका अन्य खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ३-० ले हराउँदा बर्नमाउथ र स्टोक सिटी तथा बर्न्ले र वेष्ट ब्रोमले २÷२ गोलको बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र साउथह्याम्पटन तथा आर्सनल र म्यानचेस्टर युनाईटेड भिड्नेछन् ।

 बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ ।


बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे ।
जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।

पुस २२ । इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् ।

इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने व्यवस्था छ । एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै यो प्रतियोगितामा सहभागी हुन्छन् । त्यसैले एफए कप फुटबल प्रतियोगितामा तेस्रो चरणदेखि निकै महत्वका साथ हेरिन्छ ।
आज हुने खेलमा प्रिमियर क्लबहरु म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड भिड्नेछन् । यसैगरी तेस्रो चरणकै खेलमा एभर्टन र लेष्टर सिटी भिड्दा हल सिटी र स्वान्सी सिटी तथा सण्डरल्याण्ड र बर्नले भिड्नेछन् ।
यसैगरी लिभरपुलले चौथो डिभिजनको प्लाईमाउथसँग खेल्दा चेल्सीले तेस्रो डिभिजनको पिटरबोरोसँग खेल्नेछ । म्यानचेस्टर युनाईटेडले च्याम्पियनसिप क्लब रिडिङसँग खेल्दा आर्सनल पनि च्याम्पियनसिपकै प्रेस्टनसँग खेल्नेछ । 
AFA कपका तेस्रो चरणका खेल आजबाट

पुस २२  । अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनको ११औं संस्करण आगामी फागुन ७ गते आयोजना हुने भएको छ ।

 नेपालको खेलकुद क्षेत्रमा क्रियाशील नेपाल भुतपूर्व खेलाडी मञ्चले प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको उल्लेख्य सहभागिता रहने मञ्चका अध्यक्ष खड्ग रानाभाटले बताए ।
प्रतियोगितामा ४२ दशमलव १९५ किलोमिटरको म्याराथनसहित छात्रा÷छात्रलाई ५ किलोमिटर र शारीरिक अशक्तता भएकाहरुका लागि ह्विल चेयर महिला/पुरुष ४ सय मिटरका इभेन्ट सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।

मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रबिन श्रेष्ठले तथा महिला स्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जिते ।
यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारे ।
यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जिते भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरे ।
जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते ।
पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाए ।
यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे ।
पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारे ।
पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते ।
यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जित्न सफल भए ।
महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाए ।
यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जितिन्।
महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जितिन ।

असार २४ l एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।
मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधि भीडण्त पक्का गरेको हो ।
फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
त्यसअघि जर्मनले फ्रान्सलाई निक्कै दवावमा राखेको थियो । मुख्य खेलाडी मारियो गोमेज, सामी खेडिरा तथा स्टार डिफेण्डर म्याट हृयूमल्सबिना मैदानमा उत्रिएको जर्मनीले पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको थियो ।
पहिलो हाफमा जर्मनीका ४ प्रहार फ्रान्सेली गोलकिपर तथा क्याप्टेन हृयुगो लोरिसले बिफल पारेका थिए । दोस्रो हाफमा पनि जमर्नीका स्ट्राइकरले गोलका केहि अवसर खेर फालेका थिए । खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको जर्मनीले गोल गर्न सकेन । आजको खेलमा मारियो गोमेजको अभाव जर्मनीलाई खड्किएको थियो ।
भेलड्रोम रंगशालामा ५१ हजारभन्दा बढी घरेलु समर्थकमाझ फ्रान्सेली टोलीले जर्मनीलाई हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा ब्यहोरेको १-० को हारको बदलासमेत लिएको छ ।
यता फ्रान्सेली सुपरस्टार एन्टोइन ग्रिजम्यानले जारी प्रतियोगितामा आफ्नो गोलसङ्ख्या ६ पुर्‍याएका छन् । उनी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । साथै उनी सन् १९८४ को युरोपछि ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी पनि बनेका छन् ।
फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति पौने १ बजे फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।

असार २३ l क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ ।
पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो ।
फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पोर्चुगलले सुरुवातमै २ गोल गर्न सफल भयो ।
५०औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई सदुपयाग गर्दै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत सुरुवाती गोल गरे ।
५३औं मिनेटमा भएको दोस्रो गोलमा पनि रोनाल्डोकै योगदार रहृयो र उनैको पासमा स्टार मिडफिल्डर नानीले सहजै बललाई जाली चुमाउन सफल भए ।
प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । उनको स्थानमा खेलेका एण्डी किङ र अर्का स्टार मिडफिल्डर जोय लेड्लीले पनि कुनै जादू देखाउन सकेनन् ।
अग्रपंक्तिमा ग्यारेथ बेलले पनि गतिलो साथ पाएनन् जति राम्सेसँग बेलको हुने गर्थ्यो । बेलले खेलमा केहि शशक्त लामो प्रहार गरेपछि पोर्चुगिज गोलराकले त्यसलाई सहजै बिफल पारे ।
टोटनहृयामका डिफेण्डर बेल डेभिसपनि दुई पहेँलोको प्रतिबन्धमा परेकाले वेल्सको रक्षापंक्तिपनि केहि धर्मराएको थियो । उनको स्थानमा आएका जेम्स केलिन्सले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन् ।
त्यसको बिपरित पोर्चुगिज टोलीको प्रदर्शन भने प्रतियोगिताका अघिल्ला खेलहरुमा भन्दा निक्कै सुधारिएको थियो । चोटग्रस्त पेपेको अनुपस्थितिमा पनि पोर्चुगलको रक्षापंक्ति कमजोर देखिएन । त्यस्तै मिडफिल्डमा रेनाटो सान्चेसको प्रभाव अघिल्ला खेलहरुमा भन्दा बढि नै देखिन्थ्यो ।
अग्रपंक्तिमा रोनाल्डोले आफ्नो गोलसङ्ख्या तीन पुर्‍याएका छन् । यसअघि समूहको अन्तिम खेलमा हंगेरीबिरुद्ध उनले २ गोल गरेका थिए । अपेक्षाकृत प्रदर्शन गर्न नसकेर आलोचना ब्यहोरेको रोनाल्डो पनि वेल्सबिरुद्ध प्रभावकारी देखिए । त्यस्तै नानीले पनि प्रतियोगितामा आफ्नो गोल सङख्या ३ पुर्‍याए । समूह चरणमा उनले २ गोल गरेका थिए ।
पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

असार २०।  फ्रान्सले पाँच गोल गर्दै आइसल्याण्ड गाथाको दुःखद समापन गरेको छ र युरो २०१६ को सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको छ ।
सोमबार विहान भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले आइसल्ल्याण्डलाई ५-२ गोल अन्तरले हरायो । अन्तिमतिर दुईसहित पहिलो हाफमा घरेलु टोलीले चार गोल गर्दा स्टेड डे फ्रान्समा धेरैले विश्वास नै गर्न सकेका थिएनन् ।
भलै युरो २०१६ को यात्राको समापन आइसल्याण्डले चाहेको जसरी भएन तर, उसले जीवनरभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएको छ
किनकी समूह चरणमा पोर्चुगललाई बराबरीमा रोकेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै शनसनी मच्चाएको थियो ।
तर, सोमबार विहान भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम राख्यो । उसले १२ औं मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको थियो । त्यसको ७ मिनेटपछि नै पल पोग्बाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
खेलको४२ औं मिनेटमा दिमित्री पयेटले गोल गरे भने ४५ औं मिनेटमा एन्टोनिओ गि्रजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४-० को अग्रता दिलाए ।
दोस्रो हाफमा आइसल्याण्डले सुधारिएको प्रदर्शन गर्‍यो । ५६ औं मिनेटमा घरेलु समर्थकलाई स्तभ्द पार्ने गरी आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गरे । आइरिस समर्थकले यो गोलको खुसी धेरैबेर मनाउन पाएनन् । पााच मिनेटपछि नै जिरउडले व्यक्तिगत दोस्रो गोल गरे र फ्रान्सले ५-१ को अग्रता लियो ।
खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् ।
आइसल्याण्डको शाहसिक यात्रा सकियो
समूह चरणको पहिलो खेलमा १-१ को बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान रोनाल्डोले भनेका थिए कि आइसल्याण्ड केही गर्न गइरहेको छैन । तर, उनी गलत सावित भए ।
युरो २०१६ अघिसम्म शायदै धेरैले यो देशको नाम सुनेका थिए, जसको जनसंख्या नै ३ लाख ३० हजार छ । तर, यो प्रतियोगितामा उनीहरुले आफ्नो देशलाई विश्व फुटबलको मञ्चमा प्रस्तुत मात्र गरेनन्, धेरै गाथाहरु लेख्न बाध्य पारे ।
समूह चरणमा उसले बराबरी मात्र खेलेन, अष्ट्रियालाई हराएर समूह उपविजेता बन्यो । र, पि्र क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई शिकार बनायो ।
फान्सविरुद्धको खेलमा पनि पहिलो हाफमा अप्रत्यासित रुपमा ४ गोल आएर पनि उसले पटक्कै हार मानेन । र, उनीहरुले दोस्रो हाफमा २-१ को नजिता निकाल्दै हार नमान्ने चरित्र र जितप्रतिको भोक कति छ भन्ने देखाएका छन् ।
आइसल्याण्डका समर्थकहरुको समर्थन पनि गज्जब रहृयो । खासगरी ताली बजाउने शैली ।
भलै युरो २०१६ को यात्राको समापन आइसल्याण्डले चाहेको जसरी भएन तर, उसले जीवनरभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएको छ ।

असार १९ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको बोर्डोमा शनिबार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मिनेटसम्म दुबै टोलीले एक एक गोल गरे ।
खेलमा जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेपनि ईटालीका लियानार्दो बोनुचीले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकेरमा पुग्यो ।
टाई ब्रेकरको सुरुवाती पाँच प्रहारमा दुबै टोलीले २-२ गोल मात्रै गरे । यसपछि सडन डेथको चौथो प्रहारमा ईटालीका माटियो डार्मीयान गोल गर्नबाट चुकेपछि जर्मनीले खेल जित्ने मौका पायो ।
यही अवसर सदुपयोग गर्दै जर्मनीका जोनास हेक्टरले टोलीलाई विजयी गराँउदै सेमिफाइनलसम्म पुर्याए ।
जर्मनीले अब युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र आइसल्याण्डविचको अन्तिम क्वाटरफाईनल विजेताको सामना गर्नेछ ।
यो खेल आइतबार राती हुनेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पोर्चुगल र वेल्स भिड्नेछन् ।


असार १८।  बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।
शनिबार विहानै भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।
तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । उनी खेलमा ठूलो शंका थियो, किनकी उनको काँधमा चोट लागेको थियो । तर, बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।

असार १०।  पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् ।
गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।
फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको  छ ।
डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।
फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् ।
गौचनले एकेडेमीबाट वार्षीक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।


जेस्ठ २६। बनेगोको गोलसँगै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोलले अघि हुँदा पनि दर्शकहरुले मेस्सी, मेस्सी भन्दै हुटिङ गर्न छाडेनन् । तर, वास्तवमा त्यहाँ एन्जल डि मारियाको नाम आउनु पथ्र्यो ।
कोपा अमेरिका अन्तरगत चिलीविरुद्धको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी बेन्चमा रहेपछि उनको स्थान निकोलस गेइटानले लिने चर्चा थियो । तर, खेलमा पीएसजीका विंगर मारिया छाए । उनले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए ।
खेलपछि अन्तरवार्ताका क्रममा मारिया निकै भावुक बने । खेल सुरु हुनु केही बेर अघि मात्र उनका हजुरआमाको निधन भएको थियो ।
तर, डि मारियाले हजुरआमा गुमाउँदाको पीडालाई भुलेर अर्जेन्टिनाका लागि खेले । उनले गोल गरेपछि देखाएको टिसर्टमा लेखिएको थियो, हजुरआमा म तपाईलाई सम्झिरहने छु ।’
हजुरआमा गुमाएको अवस्थामा पनि देशका लागि खेल्नुको कारण सुनाउँदै अर्जेन्टिनी विंगर डि मारियाले भनेका छन्, ‘मैले नेशनल टिमबाट खेल्दा हजुरआमा गर्व गर्नुहुन्थ्यो ।’
खेलमा अर्जेन्टिनाले डिफेण्डिङ च्याम्पियन चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।



जेस्ठ २६।  डिफेण्डिङ च्याम्पियन चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार विहान भएकोमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । र, उसले अघिल्लो संस्करणको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकोको उपाधि जितेको थियो ।
क्लालिफोर्नियामा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लिओनल मेस्सी विना मैदान उत्रिएको थियो ।
उसले ५१ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लियो । त्यसको ८ मिनेटपछि नै मारियाको पासमा बेनेगाले गोल गरे ।
खेलको अन्तिम मिनेटमा चिलीले गोल गरेपनि हार टार्न सकेन र अर्जेन्टिना २-१ गोल अन्तरले विजयी भएको छ ।


जेठ २४ । कोपा अमेरिका फुटबलअन्तर्गत आज बिहान भएका खेलमा मेक्सिको र भेनेजुएला विजयी भएका छन् ।
मेक्सिकोले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३–१ ले हराएको हो । खेलको चौथो मिनेटमै उरुग्वेका अल्भारो परेराले आत्माघाती गोल गरेपछि मेक्सिकोले मध्यान्तरसम्म १–० को अग्रता लिएको थियो ।
४५ औं मिनेटमा उरुग्वेका माटियास भेसिनो दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० जनामा समेटियो । ७३ औं मिनेटमा मेक्सिकोका होजे ग्वार्डाडोले दोहोरो पहेंलो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएको थियो ।
७४ औं मिनेटमा उरुग्वेका गिएडो गोडिनले गोल गर्दै टोलीलाई खेलमा फर्काए । तर अन्त्यतिर मेक्सिकोका राफेल माक्र्वेज र हेक्टर हेरेराले एक–एक गोल थपेपछि मेक्सिको ३–१ ले विजयी भएको हो ।
कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएलाले जमैकालाई १–० ले हराएको छ । खेलमा भेनेजुएलालाई विजयी गराउन होसेफ मार्टिनेजले १५ औं मिनेटमा निर्णायक गोल गरे ।
२४ औं मिनेटमा जमैकाका रोडोल्फ अष्टिनले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

जेस्ठ १४।  ब्राजिलियन फुटबल लेजेन्ड पेलेले लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले क्रिाष्टियानो रोनाल्डो मात्र होइन, डिएयो म्याराडोनाभन्दा पनि मेस्सीको नाम अगाडि राखेका छन् ।
पेले आफ्नो जिवनीमा बनेको फिल्म ‘पेले’को प्रमोसनका क्राममा मिलान पुगेका छन् । र, ला गजेटा डेला स्पोटर्ससँग उनले आफ्ना मन पर्ने फुटबलहरुबारे कुरानकाी गरेका छन् ।
समय अनुसार धेरै खेलाडीलाई आफूसँग तुलाना गरिएको भन्दै उनले अहिले मेस्सी भएको बताएका छन् । ‘मेस्सी मेरो मन पर्ने खेलाडी हुन्’ उनले भने, ‘रोनाल्डो र नेयमार पनि राम्रा छन् । उनीहरुको आफ्नै शैली छ ।’
पेलेले विश्वकपमा ब्राजिलको प्रदर्शनबारे पनि बोलेका छन् । विश्वकपमा ब्राजिलको प्रदर्शन खराब भएको भन्दै ७५ वर्षे पेलेले भनेका छन्, ‘हार्नु स्वभाविक हो । तर, हामीले सात गोल खायौं । यो अति भयो ।’
१९५० को विश्वकप फाइनलमा ब्राजिल उरुग्वेसँग हार्दा आफू बुबा रोएको आफूले देखेको भन्दै उनले अघि भने, ‘दुई वर्ष जब हामीले जर्मनीसँग ७-१ ले पराजित भयौं । मेरो छोराले म रोएको देख्यो ।’
ब्राजिलले घरेलु मैदानमा भएको दुई विश्वकप गुमाएको भन्दै उनले भने, ‘अब हामीसँग नेयमार मात्र छन् र यो निकै कम हुनेछ ।’


निक बिस्ट इटहरी,
बैशाख २० गते  । राष्ट्रिय तेक्वान्दो संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्य  समितिको आयोजनामा इटहरीमा दुई दिनसम्म सञ्चालन भएको क्षेत्रीयस्तरको सातौ ब्ल्याक बेल्ट प्रथम तथा चौथो डान ग्रेडिङ्गमा कार्यक्रममा सहभागि भएका खेलाडीहरुको छनौट गरी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
      ग्रेडिङ्गमा सहभागि भएका खेलाडीहरुमध्ये २४ जनाले प्रथम डान तथा १३ जना खेलाडीहरुले तेस्रो तथा चौथो डानको उपाधी प्राप्त गरेका छन । उनीहरुलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रमाणपत्र वितरण गरेका थिए ।
      सोही समारोहमा क्षेत्रीय अध्यक्ष नगरकोटीले पूर्वी नेपालका विभिन्न जिल्लाका तेक्वान्दो प्रशिक्षकहरु पिताम्वर पौडेल, सूर्य दङ्गाल खेमराज कार्की दिनेश गिरी दिनेश पौडेल सविन राई इच्छा घले लगायतलाई ट्रयाकसुट प्रदान गरेका थिए ।
            सोही अवसरमा राष्ट्रिय तेक्वान्दो सङ्घका केन्द्र्रिय उपाध्यक्ष हरिवहादुर बुढाथोकीले विश्वका ख्यातिप्राप्त र धनी देशका खेलाडीहरुलाई समेत जित्ने भनेको खेलमामात्र भएकाले यो खेलकुदलाई सवैले ब्यक्तित्व विकाससँगै स्वास्थ्य र राष्ट्रिय गौरवका रुपमा लिन आवश्यक रहेको बताए ।
      क्षेत्रीय छनौट समितिका संयोजक कृष्ण बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका इटहरी उपमहानगरपालिका अध्यक्ष रेवती घिमिरे तेक्वान्दोका मोरङ्ग अध्यक्ष पिताम्वर पौडेल लगायतको सहभागिता रहेको थियो ।  

बैसाख ११।  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत
रोयल च्यालेन्जर्स बैंग्लोर विजयी , शुक्रबार राति भएको खेलमा बैंग्लोरद्वारा राइजिङ पुणे सुपर जाइन्ट्स १३ रनले पराजित ।

चैत १८ । न्युजिल्याण्डलाई हराउँदै इङ्ल्यान्ड विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
भारतको दिल्लीमा बुधबार राति सम्पन्न खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । न्युजिल्याण्डकालागि कोलिन मुनरोले ४६ रन तथा केन विलियम्सनले ३२ रन जोडे ।
जवाफमा १५४ रनको लक्ष्य इङ्ल्यान्डले १८ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । इङ्ल्यान्डका लागि सुरुवाती व्याट्सम्यान जेसन रोयले ७८ रन जोडे ।
५० बल सामना गरेका रोयले ११ चौका र २ छक्का प्रहार गरे । जितसँगै इङ्ल्यान्डले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गर्दै दोस्रो पटक उपाधि जित्ने सम्भावना बलियो पारेको छ भने पराजित टोली न्युजिल्याण्डको पहिलो उपाधि जित्ने सम्भावना टुंगियो ।
विश्वकप क्रिकेटको दोस्रो सेमिफाईनलमा आज भारतले वेष्ट इन्डिजको सामना गर्नेछ । भारतको मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । आजको खेलमा भारतका लागि विराट कोहली तथा वेष्ट इन्डिजका क्रिश गेललाई हेर्न लायक खेलाडीको रुपमा लिइएको छ ।
दुबै टोलीले यसअघि विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् ।

चैत १७ । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले इङ्ल्यान्डलाई २–१ ले हराएको छ ।
इङ्ल्यान्डकै ऐतिहाँसिक वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोलीका जेमी भार्डीले पहिलो गोल गरे । तर दोस्रो हाफमा पाहुना टोलीका भिन्सेन्ट यान्सेन र लुसियानो नरसिंहले एक–एक गोलगर्दै नेदरल्याण्ड्सलाई विजयी गराए ।
अघिल्लो हप्ता जर्मनीलाई हराउँदै हौसिएको इङ्ल्यान्ड मंगलबार रातिको हारपछि भने निराश भएको छ । उता जर्मनीले मंगलबार राति भएको अर्को मैत्रिपुर्ण खेलमा ईटालीलाई ४–१ को फराकिलो अन्तरमा हराएको छ ।
जर्मनीमै भएको खेलमा घरेलु टोलीका लागि टोनी क्रुश, मारियो गोत्जे, योनास हेक्टर र मेसुत ओजीलले एक–एक गोल गरे । ईटालीका अल शरावीले एक गोल फर्काए ।
अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल अन्तर्गत मंगलबार राति भएका अन्य खेलमा फ्रान्सले रुसलाई ४–२ ले, पोर्चुगलले बेल्जियमलाई २–१ ले, स्कटल्याण्डले डेनमार्कलाई १–० ले तथा आईसल्याण्डले ग्रिसलाई ३–२ ले हराएका छन् ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.