February 2016

कहिलेकाहीँ फेसबुक मित्रको दुःखको खवर सेयर हुँदा कसरी दुःख ब्यक्त गर्ने भन्ने चिन्ताले तपाइँ पक्कै पनि चिन्तित हुनुहुन्थ्यो होला । साथीको दुःखमा साहनुभूति दिन पाए हुन्थ्यो भन्ने तपाइँको इच्छा अब फेसबुकले पुरा गरिदिएको छ ।
फेसबुकले लाइकको विस्तारका रुपमा हालै पाँच नयाँ इमोसनहरु सुरु गरेको छ जहाँ तपाइँले आफ्नो साथीको दुःखमा स्याड चिन्ह प्रयोग गरेर साहनुभूति दिन सक्नुहुन्छ ।
तपाईले मोवाइल तथा ट्याबलेट र कम्युटरमा फेसबुक खोल्दा ‘लाईक बटन’ हुने स्थानमा अव अन्य पाँच बटनहरु हुनेछन् ।
फेसबुकले ल्याएको लाईकका बिकल्पहरुमा माया, रिस, दुःख, हाँसो र आश्चर्य लगायत छन् । सबै पोष्टमा प्रयागकर्ताले लाईकमात्र गर्न नसक्ने यथार्थलाई मध्यनजर गरी फेसबुकले बिकल्पका रुपमा यी पाँच प्रतिक्रियात्मक संकेत उल्लेख गरेको हो ।
फेसबुक चलाउँदा कसैको पोष्टमा प्रतिक्रिया दिनुपरेमा तपाइले लाइक भएको स्थानमा ‘टच’ गर्नुहोस । त्यसपछि पाँचवटै विकल्पहरु खुल्नेछन् । तपाईले चहानुभएको विकल्पमा ‘टच’ गरी ‘पोष्ट’ गर्न सक्नुहुनेछ ।
फेसबुकले यस बिकल्पलाई पहिलो पटक गत अक्टोबरमा आयरल्याण्ड, जापान र स्पेनमा परिक्षण गरेको थियो । परिक्षण सफल भएपछि यसलाई नियमित बनाउन लागिएको हो ।
तर समर्थकको सबैभन्दा धेरै माग रहेको ‘डिसलाइक बटन’ को सुविधा भने फेसबुकले यसपटक पनि बिस्तार गरेन । फेसबुकका प्रोडक्ट डिजाइन डइरेक्टर जुली जुहोले भनेका छन्, ‘फेसबुकले लाइकका अलावा पाँच प्रतिक्रियाको सुविधा थपेको छ । त्यसले उनीहरुको अभिव्यक्तिलाई नियन्त्रण गर्न सक्छ ।’
फेसबुक मालिक मार्क जुकरवर्गले डिसलाइक बटन नल्याउने बरु त्यसको सट्टा दुःख वा रिस ब्यक्त गर्ने चिन्ह थप्ने सोंच ल्याएका थिए । त्यसैलाई कार्यन्वनय गर्दै फेसबुकले नयाँ इमोसन चिन्हहरु ल्याएको हो ।


फागुन १५ । विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्वमा जियानी ईन्फान्टिनो निर्वाचित भएका छन् ।
युएफाका महासचिव रहेका स्वीट्जरल्याण्डका ईन्फान्टिनो अरु तीन प्रतिष्पर्धीलाई पछि पार्दै फिफाको अध्यक्ष बन्न सफल भएका हुन् ।
दोस्रो चरणको मतदानमा उनले ११५ मत पाए भने उनका निकटतमप्रतिष्पर्धी एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा उनीभन्दा २७ भोटले पछि परे ।
स्विट्जरल्याण्डको ज्युरिचमा शुक्रबार भएको निर्वाचनमा अध्यक्षको प्रत्याशीमा जोर्डनका राजकुमार अली बिन अल हुसेन, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल थिए ।
गत वर्ष पाँचौ कार्यकालको लागि निर्वाचित भएको केही हप्तापछि सेप ब्लाटरले फिफा अध्यक्षको पदत्याग गर्ने घोषणा गरेपछि निर्वाचन गरिएको हो ।



फागुन १५। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको आयोजनामा प्रथम रुस्लान कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
रुस्लान क्रिकेटको प्रमुख प्रायोजनमा आगामी फागुन १५ गतेदेखि २२ गतेसम्म त्रिभुवन बिश्व बिद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतिोगितामा कुल १६ टोली सहभागी हुने छन् ।
एक समुहमा ८ टोली राखेर गरिने सहभागी टोलीहरुलाई दुई समुहमा बिभाजन गरी नकआउटको आधारमा खेलाइने छ । प्रतियोगितामा तीन बिभागिय टोलीसहित राजधानी भित्र र बाहिरका १६ टोलीहरुले सहभागिता जनाउने छन् ।
बिभिन्न टोलीबाट राष्ट्रिय टोलीका सबै खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको दाबी छ । प्रतियोगिताको उपाधी बिजेता टोलीले २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ 

फागुन १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ । प्रि–क्वाटरफाईलन अन्तर्गत गएराति आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल बार्सिलोनाले २–० ले विजयी भएको हो । खेलमा बार्सिलोनाका लागि दुबै गोल लियोनल मेस्सीले गरे ।
मध्यान्तरसम्म गोलरहित बराबरीको अवस्थामारहेको खेलमा मध्यान्तरपछि बार्सिलोना हावी भएको हो । मेस्सीले ७१ र ८३ औं मिनेटमा गोल गरे ।
यो जितसँगै बार्सिलोनाले क्वाटरफाईनल पुग्ने सम्भावना बलियो बनाएको छ भने दोस्रो लेगको खेलपूर्व आर्सनल दबाबमा आएको छ ।
च्याम्पियन्स लिगअन्र्तगत गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिख र ईटालीको युभेन्टसले २–२ गोलको बराबरी खेलेका छन् । युभेन्टसको मैदानमा भएको खेलमा बायर्न म्युनिखका थोमस मुलर र आर्यन रोबेनले एक–एक गोल गरे । २–० ले पछि परेको घरेलु टोली युभेन्टसका लागि पावलो दिबाला र स्टेफानो स्टुरारोले एक–एक गोल फर्काउँदै खेल बराबरीमा टुंग्याए ।
यो बराबरीपछि हारको मुखमा पुगेको युभेन्टसलाई केही राहत मिलेको छ । दोस्रो लेगको खेल बायर्न म्युनिखको मैदानमा हुनेछ ।
युएफा च्याम्पियन्स लिग फुटबल प्रि–क्वाटरफाईनल अन्तर्गत आज राति दुई खेल हुनेछन् । आज युक्रेनको डाईनामो किभ र इङ्ल्यान्डको म्यानचेस्टर सिटी भिड्दा नेदरल्याण्ड्सको पिएसभीले स्पेनको एथ्लेटिको मड्रिडको सामना गर्ने छ ।

फागुन ११ । नेपाल पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको क्वार्टरफाइनलमा दाबेदार क्लब मनाङ–मर्स्याङ्दीलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछिखेल अतिरिक्त समयतर्फ धकेलियो । थपिएको २० मिनेटमा गोल नभएपछि टाइब्रेकरमा मनाङ चुकेको हो ।

यसअघि, ७०औं मिनेटमा विनोद कार्कीको गोलबाट पुलिसले अग्रता लिएकामा इन्जुरी समयमा पाएको पेनाल्टीलाई मनाङका सुजल श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

जितसँगै पुलिसले सेमिफाइनलमा मोरङ फुटबल क्लब प्रतिद्धन्द्धी पाएको छ ।

पहिलो सेमिफाइनलमा झापा–११ र सशस्त्र प्रहरी भिड्ने छन् ।

फागुन १२ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान म्याग्दीको रोक्सेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ  ।
तीनजना चालक दलका सदस्यसहित २३ जना यात्रु सवार विमान दुर्घटना भएको हो । यात्रुहरुको अवस्था यकिन हुन नसकेको जनाइएको छ । नाइन एन ए एच एच विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीनभएको थियो ।
सो विमानको चालक दलका सदस्यहरुमा क्याप्टेन रोशन मानन्धर, को–पाइलट विकेस नेम्कुल र परिचालिका रमा राउत रहेको जनाइएको छ ।
विमानमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार थिए । त्यसैगरी बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र मोतीबहादुर केसी पनि विमानमा सवार रहेको तारा एयरले जनाएको छ ।
उद्दारमा खटिएका क्षेत्रीय प्रहरी कार्यालय पोखराका निमित्त प्रहरी नायव महानिरीक्षक महेन्द्र पोखरेलले विमानमा १८ जना नेपाली, दुई विदेशी र दुई बालबालिका रहेको जानकारी दिए ।
म्याग्दीको गल्याम्दीमा सोमबार गएको सुख्खा पहिरोका कारण धुलो उडेर दृष्यशक्ति कम भएर नै विमान दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको स्मार्टफोन बुधबार भारतको नयाँ दिल्लीमा सार्वजनिक गरिएको छ । फ्रीडम २५१ नाम दिइएको उक्त स्मार्टफोनको मूल्य २ सय ५१ भारु तोकिएको छ ।
बिहिबार बिहान ६ बजेदेखि यसलाई अनलाइनमार्फत बुक गर्न सकिने बताइएको छ । फोन निर्माता कम्पनी रिंगिंग बेल्सको वेबसाइटमै गएर यो स्मार्टफोन बुक गर्न सकिनेछ । फोन बुक गरेकाहरुको ठेगानामा कम्पनीले पछि फोन डेलिभरी गर्नेछ ।
स्मार्टफोनको दुनियामा नवोदित कम्पनी रिंगिंग बेल्सले सुरुवातमै दुनियाको सस्तो स्मार्टफोन ल्याएर सबैलाई चकित पारेको छ । आफुलाई सस्तो फोन निर्माणमा सरकारको कुनै सहुलियत प्राप्त नभएको दाबी कम्पनीका प्रवक्ताको छ ।
मेक इन इण्डिया कार्यक्रमबाट प्राप्त करछुटका साथै मार्केटिंगको नयाँ तरिकाका कारण फोन सस्तोमा बेच्न सम्भव भएको उनको भनाइ छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्कीले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सातौँ पोखरा सूचना प्रविधि मेला गर्ने भएको छ ।
विगतका वर्षमा क्यान कास्कीले आफ्नो छुट्टै समयमा मेला सञ्चालन गर्दै आएकामा यस वर्ष बढी दर्शक भेला हुने पोखरा उद्योग वाणिज्य सङ्घले गर्ने व्यापार मेलामा कार्यक्रम गर्न लागेको क्यानका सचिव विश्वास भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखरा प्रदर्शनी केन्द्रमा रहेको डोमभित्रका ७८ कक्षमा सूचना प्रविधिसँग सम्बन्धित कक्ष राखिनेछ ।
गएका वर्षमा अधिकांश कक्षमा डेक्सटप, ल्यापटप र अन्य कम्प्युटर मात्र राखिने गरिएकामा यस वर्ष भने नवीनतम प्रविधि प्रदर्शनी एवम् मोबाइल बिक्रीका लागि पनि कक्ष राखिने संस्थाका अध्यक्ष चिन्तामणि बाँस्तोलाले बताए।
मेलामा विदेशका विभिन्न कलेजमा अध्ययन एवम् रोजगार गर्न चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिन सक्ने कक्ष पनि राखिएको छ ।
मेलामा काठमाडौँबाट पनि विभिन्न कम्प्युटर तथा मोबाइलको प्रदर्शनी तथा बिक्रीका लागि धेरै कक्ष रहने समेत बताइएको छ ।
मेला सम्पन्न गर्न अध्यक्ष बाँस्तोलाको संयोजकत्वमा मूल समिति र उपसमितिहरु गठन गरिएको छ । रासस

एन्ड्रोइड स्मार्टफोनमा एउटा यस्तो भाइरस फैलिएको छ, जसले विश्वका लाखौँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता जोखिममा परेका छन् । डेनमार्कको एक अनलाइन सेक्योरिटी कम्पनीले टेक्स्ट म्यासेजद्धारा फैलिने एन्ड्रोइड मालवेयर मजर पत्ता लगाएको हो ।
हेम्डल कम्पनीका अनुसार ह्याकरहरुले डेनमार्कका झण्डै एक लाख स्मार्टफोनमा यस्तो भाइरसजन्य एसएमएस पठाइसकेका छन् । विश्वका अन्य देशका स्मार्टफोन प्रयोगकर्ताले यस्तो एस एम एस प्राप्त गरे नगरेको अझै थाहा हुन नसकेको कम्पनीको भनाइ छ ।
यस्तो मेसेज झ्वाट्ट हेर्दा जोखिमपूर्ण तथा आपत्तिजनक हुँदैन र यसमा एउटा लिंक दिइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेसँगै त्यसले टर सफ्टवेयर डाउनलोड गर्छ र बेनामी इन्टरनेट कनेक्सन स्थापित हुन्छ ।
टर सफ्टवेयरबाटै भाइरस पनि आफै डाउनलोड भैसकेको हुन्छ जसका कारण उक्त भाइरस सफ्टवेयरको खास श्रोत के हो भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ह्याकरले उक्त फोनमा सम्पूर्ण पहुँच स्थापित गर्ने, स्मार्टफोन प्रयोगकर्ताले गर्ने फोन कल तथा एसएमएस सबै थाहा पाउनुका साथै आफै एसएमएस तथा कल समेत गर्न सक्ने र फोनबाट सबै डाटा डिलिट गरिदिन पनि सक्दछन् ।
रोचक कुरा त के भने यो भाइरसले एन्ड्रोइड अपरेटिंग सिस्टमको रुसी भाषा छनोट गरेका स्मार्टफोनमा आक्रमण गर्दैन । त्यसैले यस्तो मोबाइल भाइरस फैलाउनुमा रुसको हात रहेको कतिपयले शंका गरेका छन् ।
मोबाइल सुरक्षा विज्ञले भने आफ्नो स्मार्टफोनलाई यस्तो एसएमएस भाइरसबाट जोगाउनका लागि चनाखो बन्न आग्रह गर्दै त्यस्ता एसएमएसलाई नखोल्न र डिलिट गरिहाल्न भनेका छन् । नचिनेका नम्बर तथा कहिलेकाहीँ चिनेकै साथीको नम्बरबाट समेत लिंक सहितका एसएमएस आएमा त्यस्तो लिंकमा क्लिक गर्नु हुँदैन ।
तर गुगलका प्रवक्ताले भने एन्ड्रोइड स्मार्टफोनहरुमा सुरक्षाको जोखिम निकै कम रहेको भन्दै एक अर्ब भन्दा बढि स्मार्टफोनहरुलाई गुगल प्ले ले निरन्तर रुपमा सुरक्षा प्रदान गरिरहेको बताए । उनका अनुसार गुगल प्ले ले हरेक दिन मोबाइल डिभाइसहरुको २ करोड सेक्योरिटी स्क्यान गरेको हुन्छ ।
गुगल प्लेबाट इन्स्टल गरिने एप मध्ये केवल ०.१५ प्रतिशत मात्र जोखिमपूर्ण रहेको गुगलको दाबी छ ।

कलेज पढ्ने दिनहरुमा साथीहरुबीच प्रायः सबै चिज सित्तैमा प्राप्त गर्ने होडबाजी नै चल्छ । छलछाम, तिकडम मात्र होइन कहिलेकाहीँ राम्रै सँग बुद्धि लगाएर पनि पैसा पर्ने चिजहरुलाई सित्तैमा पाउने कसरत गरिन्छ ।
कुनै प्रतिस्पर्धा होस् र त्यसमा केहीपनि खर्च नगरीकन भाग लिएर पुरस्कार जितियोस् । त्यो भन्दा मज्जा के हुन्छ ? मोबाइल फोनको यो जमानामा मोबाइल फोन सँग सम्बन्धित कुराहरु जसलाई पैसा तिर्नुपर्छ ती निशुल्क प्राप्त गर्नुजत्तिको आनन्द अरु नहोला । अहिले स्मार्टफोनमा अनगिन्ती एपहरु निशुल्क नै हुने भएपनि कतिपय एपहरु पैसा तिरेर डाउनलोड गर्नुपर्ने हुन्छ ।
तर यदि बुद्धि घुमाउने हो भने पैसा तिरेर डाउनलोड गर्नुपर्ने कतिपय एपहरु समेत निशुल्क डाउनलोड गर्न सकिन्छ ।
यसका लागि तपाइँले गुगल प्ले स्टोरमा गएर प्रोमो कोड्स नामको यो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
यस एपले विभिन्न एप निर्माता कम्पनीहरुलाई उनीहरुको एपको बारेमा प्रयोगकर्ताको धारणा उपलब्ध गराइदिन सहयोग गर्ने उद्धेश्यका साथ त्यस्ता एपहरु प्रयोगकर्तालाई निशुल्क रुपमा प्रयोग गर्नसक्ने सुविधा प्रदान गर्दछ ।
हरेक १२ घण्टा तपाइँलाई एउटा एप देखाइन्छ र यसलाई तपाइँले निशुल्क रुपमा डाउनलोड गर्नसक्ने सम्भावना पनि हुन्छ । सुरुवातमा निशुल्क रुपमा डाउनलोड गर्न सकिने एपहरु प्राप्त गरिरहने सम्भावना कम हुने भएपनि प्रयास गर्दैजाँदा त्यस्ता सशुल्क एपहरुलाई निशुल्क डाउनलोड गर्ने सुविधा प्राप्त हुने प्रोमो कोड्स एप निर्माताको भनाइ छ ।
प्रायः नयाँ एप निर्माताले प्रोमो कोड्समा आफ्नो नयाँ प्रडक्ट विज्ञापनको रुपमा देखाउँदछ । ती मध्येे कतिपय एप्सहरु सशुल्क हुने भएपनि प्रोमो कोड्समा देखिएका बेला निशुल्क रुपमा डाउनलोड गर्न सकिने पनि हुन्छन् । बीबीसी

तपाइँको फेसबुकको फ्रेण्ड लिस्टमा धेरै यस्ता मानिसहरु हुन्छन् जसलाई तपाइँले खासै चिन्नुभएको नै हुँदैन । त्यसकारण यस्ता कुँडाकर्कटलाई सफा गरेर आफ्नो प्रोफाइललाई सफा तथा सुरक्षित राख्नु आवश्यक हुन्छ ।
आफ्नो सेक्योरिटी तथा प्राइभेसी सेटिंग्स अपडेट गर्नुहोस् ताकी चिन्नु न जान्नुका मानिसहरुले तपाइँको बारेमा जरुरत भन्दा धेरै कुरा थाहा नपाउन् । आफ्नो अकाउण्टबाट आफुले प्रयोग नगर्ने गेम्स तथा एपहरु पनि हटाउनुहोस् । फेसबुक प्रयोगकर्ताले गर्नैपर्ने अन्य काम यस्ता छन् :
· अकाउण्टलाई सुरक्षित पार्नुस्:  फेसबुकको पासवर्ड कठीन तथा सुरक्षित खालको राख्नुहोस् । यसका लागि फेसबुक वालमा रहेको Security अप्सन भित्र गएर Account Settings मा जानुहोस् । त्यहाँ Login Approvals को अप्सन देख्नुहुनेछ ।
यसलाई अन गरेसँगै जब तपाइँले कुनै नयाँ डिभाइसमा फेसबुक लगइन गर्नुहुन्छ तब तपाइाको मोबाइलमा एक कोडा पठाइनेछ । लग इन गर्नका लागि तपाइँले फेसबुकमा उक्त कोड हाल्नुपर्छ । जसका कारण अरु मानिसले तपाइँको फेसबुक लगइन गर्न सक्दैन र फेसबुक ह्याक हुनबाट जोगिन्छ ।
· आफ्नो प्राइभेसी सेटिंग्स रिभ्यु गर्नुहोस्:  फेसबुकमा केही प्राइभेसी सर्टकर्टस् हुन्छन् । ल्यापटप वा डेक्स्टपमा तपाइँब्राउजरको माथि दायाँपटि्ट किनारामा सानो चाँबी आकारको आइकन देख्नुहुन्छ ।
त्यसमा Who can see my stuff भन्ने सर्टकर्टस् हुन्छ । फेसबुकमा कुन प्रकारका सामाग्री कस कसलाई देखाउने भन्ने  कुरा यसबाट तपाइँले निधो गर्न सक्नुहुन्छ ।
तपाइँले फेसबुकमा गर्ने पोष्टहरु जो आफ्ना साथीहरुलाई मात्र देखाउन चाहनुहुन्छ भने सेटिंग्समा Public को साटो Friends गरिदिनुहोस् । Timeline and Tagging मा गएर तपाइँआफुलाई अरुले तपाइँको अनुमति विना कुनैपनि तस्वीरमा ट्याग गर्न नसक्ने बनाउन सक्नुहुन्छ ।
· अनफेण्ड गर्नुहोस् :  जसलाई तपाइँ चिन्नुहुन्न र अहिले खासै सम्पर्कमा हुनुहुन्न तर फेसबुकमा साथी हुनुहुन्छ भने त्यस्ता मानिसलाई फेसबुकबाट अनफेण्ड गरिहाल्नुस् । अनफेण्ड गर्न मन लागेन भने Acquaintances वा Restricted लिस्टमा पनि राख्न सक्नुहुन्छ ।
Acquaintances लिस्टमा राखिसकेपछि तपाइँले उक्त व्यक्तिको पोष्ट आफ्नो न्युज फिडमा देख्न सक्नुहुन्न तर तपाइँका पोष्ट भने उक्त व्यक्तिले देख्दछ । Restrictedको अर्थ उक्त साथीले तपाइँको Public पोष्ट मात्र देख्न पाउँछ ।
यो प्रभाकारी तरिका हो, किनकी यसो गर्दा कसैलाई साथीबाट हटाउनु पनि पर्दैन तर खासै जान पहिचान नभएको व्यक्तिले तपाइँको बारेमा धेरै कुरा थाहा पाउन पनि सक्दैन । यसका साथै तपाइँले College Friends, Family तथा Collegues को लिस्ट पनि बनाउन सक्नुहुन्छ ।
· अनावश्यक एप्सलाई हटाउनुहोस्स:  हुनसक्छ केही वर्ष पहिले कसैले तपाइँलाई कुनै गेम खेल्नका लागि इन्भाइट गरेको होस् र तपाइँ पनि कुनै गेम खेल्ने गर्नुहुन्थ्यो ।
तर अहिले यदि तपाइँत्यो गेम फेसबुकमा खेल्नुहुन्न भने त्यस्ता गेम एपलाई तुरुन्त हटाइहाल्नुस् । किनकी सोही गेमएपको सहायताले तपाइँको त्यो पूरानो साथीले तपाइँको बारेमा विभिन्न जानकारी प्राप्त गरिरहेको हुन्छ ।
यसका लागि डेक्स्टप ब्राउजरमा प्राइभेसी चेकअप टूलमा गएर अनावश्यक एपलाई हटाइदिनुस् । कुनै एप प्रयोग गर्नुहुन्छ भने Account Settings मा गएर Apps मा क्लिक गर्नुहोस् ।
· आफ्नो डाटा नियन्त्रण गर्नुस् : कसैले फेसबुक पोष्ट सबै हेन मन लाग्छ भने कसैको खासै हेर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यस्तोमा तपाइँले मान्छे हेरिकन उसका फेसबुक पोष्टलाई नियनत्रण गर्न सक्नुहुन्छ । यसका लागि तपाइँले News Feeds Preferences मा गएर सेटिंग गर्न सक्नुहुन्छ ।
यो सेटिंग्स अप्सन तपाइँको ब्राउजर तथा एन्ड्रोइड एपमा माथि पटि्ट दायाँ तथा आइफोनमा तल दायाँपटि्ट देखापर्छ । त्यहाँ गएर तपाइँ ती साथीहरुलाई छान्न सक्नुहुन्छ जो तपाइँको न्युजफिडमा तुरुन्तै देखिइहालुन् ।
खासै महत्व नराख्ने तथा मन नपर्ने मान्छेका पोष्टहरु हाइड गर्न अर्थात् लुकाउन सक्नुहुन्छ । यदि फेसबुकको वालमा भिडियो अटो प्ले भएर अनावश्यक रुपमा डाटा युज भएर पीडित हुनुभएको छ भने एन्ड्रोइडमा एप सेटिंग्समा गएर अटोप्ले बन्द गर्नुस् । आइफोनमा यो Videos and Photoss मा रहेको Account Settings मा रहेको हुन्छ ।
·  योजना बनाउनुस् : दुइवटा सेटिंग्सबाट तपाइँले फेसबुकमा भविष्यका लागि योजना बनाउन सक्नुहुन्छ, आफ्नो मृत्युसम्मका लागि ।
सेक्योरिटी सेटिंग्समा तपाइँ केही साथीहरुलाई trusted contacts मा एड गर्न सक्नुहुन्छ । यदि तपाइँको अकाउण्ट कुनै कारणले लक भयो भने ती साथीहरुले तपाइँलाई सहयोग गर्न सक्छन् । तपाइँले एक Legacy Contact पनि एड गर्न सक्नुहुन्छ ।
तपाइँले कुनै आफन्त तथा नजिकका साथीलाई आफ्नो एडमिनिस्ट्रेटर बनाउन सक्नुहुन्छ, जसले तपाइँको पछिल्लो स्टाटस अपडेट हालिदिन सकोस् । त्यस्ता साथीले तपाइँ मृतकको तर्फबाट तपाइँको फेसबुक वालमा केही पोष्ट गरिदिन तथा फ्रेण्ड रिक्वेस्टको प्रतिक्रिया दिन पाउँदछन् ।


फागुन ५ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले छनोट गरेको उत्कृष्ट ११ युवा खेलाडीमा परेका छन् ।

बंगलादेशमा सम्पन्न आइसीसी यु–१९ विश्वकप क्रिकेटमा गरेको प्रदर्शनको आधारमा गरिएको छनोटमा सन्दीपले स्थान बनाएका हुन् ।

उनले बंगलादेशमा भएको प्रतियोगितामा ६ खेलमा १७ दशमलव शून्य सातकोऔसतमा १४ विकेट लिएका थिए ।

उनी सर्वाधिक विकेट लिनेमा नामिबियाका फ्रिट्ज कोइट्जी भन्दा १ विकेटले मात्र पछाडि थिए । सन्दीपले आयरल्यान्डसँगको खेलमा ५ विकेट लिने क्रममा ह्याट्रिक गरेका थिए ।

यु–१९ विश्वकपमा ह्याट्रिक गर्ने सन्दीप नेपालको पहिलो र विश्वका पाँचौं खेलाडी हुन् । सन्दीपको सो प्रदर्शनपछि नेपाल यु–१९ विश्वकपमा दोस्रोपटक दोस्रो चरण पुगेको थियो ।

आइसीसीकाअनुसार छानिएका ११ खेलाडीमा सन्दीपले स्पिन बलिङको नेतृत्व गर्नेछन् ।

‘फ्युचर स्टार–११’ नाम दिइएको उत्कृष्ट खेलाडीको सूचीमा आयरल्यान्डका रोरी एन्डर्स र सन्दीपमात्र एसोसिएट राष्ट्रबाट समेटिएका खेलाडी हुन् ।

११ जनाको सूचीमा सन्दीप र रोरीसहित विश्वकप विजेता वेस्ट इन्डिजका ४ तथा भारत, पाकिस्तान, श्रीलंका, इंगल्यान्ड र बंगलादेशका १–१ खेलाडी परेका छन् ।

वाइफाइ इन्टरनेट चलाउने मन छ ? त्यसोभए यो ढुंगाको नजिक आगो बाल्नुस् । तपाइँले इन्टरनेट चलाउन वाइफाइ सिग्नल प्राप्त गर्न सक्नुहुनेछ । ढुंगा नजिक आगो बाल्दा वाइफाइ चलाउन पाइने भन्ने कुरा सुन्दैमा मनगढन्ते तथा हावादारी लाग्नसक्छ । तर यो साँचो हो ।
जर्मनीको न्युएनकिर्चेनमा एउटा यस्तो म्युजियम छ जहाँराखिएको एउटा ढुंगाको नजिक आगो बालिदिएपछि वाइफाइ सिग्नल प्राप्त गर्न सकिन्छ । यो आउटडोर मूर्ति संग्राहलयमा यस्तो अद्भुत प्रविधि छ ।
ढुंगामा नजिकै आगो बालेर ढुंगालाई तताउँदा कसरी वाइफाइ तरंग प्राप्त हुन्छ ? भन्ने कौतुहलता जाग्नु स्वभाविकै हो । तातेपछि वाइफाइ तरंग उत्पन्न गरिदिने त्यो ढुंगा कस्तो होला ? साँच्ची हाम्रो डाँडाकाँडामा रहेका ढुंगैढुंगा पनि कतै त्यस्तै वाइफाइवाला पो छन् की ।
एकचोटी तताएर पो हेरौँ की भन्ने कुरा मनमा खेलाउन पनि थाल्नुभयो होला । तर शान्त हुनुहोस्, त्यो ढुंगा आफैमा त्यस्तो चमत्कारी ढुंगा चाहीँ होइन । खासमा उक्त ढुंगाभित्र एक वाइफाइ राउटर राखिएको छ । त्यो राउटर तबमात्र चल्दछ जब उक्त ढुंगाको नजिकै आगो बालेर त्यसलाई तताइन्छ ।
आगो बालेपछि राउटर चल्नुको कारण कारण छ । वास्तवमा ढुंगाभित्र राउटर सँगै एक थर्मोइलेक्टि्रक जेनेरेटर अर्थात् तातो हुँदा विजुली उत्पन्न गर्ने जेनेरेटर राखिएको छ । जब ढुंगाको नजिकै आगो बालेर ढुंगा तताइन्छ तब ढुंगाभित्रको जेनेरेटर चल्दछ र विजुली उत्पादन हुन्छ । सो बिजुलीले वाइफाइ राउटर संचालन हुन्छ र आसपासमा वाइफाइ सिग्नल प्राप्त हुन्छ ।
यो ढुंगा डेढ टन तौलको रहेको छ । वाइफाइ सिग्नल निकाल्ने यो ढुंगाको नाम किप अलाइभ अर्थात् जिउँदै राख भन्ने राखिएको छ । यसलाई एरम बर्थोल नामका कलाकारले बनाएका हुन् । म्युजियममा आउने पर्यटकलाई आफै उक्त ढुंगाको नजिक आगो बालेर वाइफाइ सिग्नल उत्पन्न गर्न अनुरोध गरिन्छ । यसरी आगो बालेर वाइफाइ तरंग प्राप्त गरी पर्यटकहरुले म्युजियम भित्रै मज्जाले वाइफाइ चलाउन पाउँछन् ।

फागुन ४ । नेपालले दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको छ । १२ औं सागको हिजो भएको फाइनलमा भारतलाई उसकै घरेलु मैदानमा २–१ ले हराउँदै नेपालले स्वर्ण पदक जितेको हो ।
नेपालले एक महिनाभित्र फुटबलमा जितेको यो दोस्रो उपाधि हो । नेपालले गत जनवरी २२ मा ढाकामा भएको फाइनलमा बहराइनलाई३–० ले हराएर राष्ट्रिय बंगबन्धु गोल्डकप च्याम्पियन भएको थियो ।
भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हिजो भएको फाइनलको ३१ औं मिनेटमै गोल बेहोरेको नेपालले दोस्रो हाफमा संयमित र आक्रामक खेल प्रस्तुत गर्दै जित हात पारेको हो ।
दोस्रो हाफमा सब्स्टिच्युट खेलाडी प्रकाश बुढाथोकीले फ्रिकिकमा लोभलाग्दो गोल गर्दै ६६ औं मिनेटमा नेपाललाई १–१ को बराबरीमा पुर्‍याएका थिए । दोस्रो गोलमा पनि प्रकाशकै योगदान रह्यो । उनले क्रस गरेको बललाई नवयुग श्रेष्ठले वान टच फिनिसिङ गर्दै ७० औं मिनेटमा उत्कृष्ट गोल गरे । उनको १२ औं सागमा यो सातौं गोल हो । यसअघि उनले पहिलो खेलमा भुटानमाथि ५–० र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४–३ को जितमा ह्याट्रिक गरेका थिए ।
उपाधि जितेपछि नेपालका प्रशिक्षक राजु शाक्यले नेपाली फुटबलको विजयी शुरुआत भएको प्रतिक्रिया दिए । उनले नेपाली फुटबल अझै धेरै माथि जानेसमेत बताए । कप्तान विराज महर्जनले आफूहरुको मेहनतले राम्रो प्रतिफल दिएको प्रतिक्रिया दिए । प्रतियोगिताका सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठले पनि सफलतामा निकै खुसी भएको बताए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले साग खेलकुदको फुटबलमा उपाधि जितेकोमा नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । उनले नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय रहने उल्लेख गर्दै सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

रमाइलो वा प्रेमको मुड बनाउन खानाको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्राचीनकालदेखि नै युवायुवतीले यौन उत्तेजना बढाउने खालका विशेष खानेकुरा खान्थे । बेरी, फिग्स, महले यौन शक्ति बढाउने भन्दै यसको कम उपभोग गरेको बताइन्छ । यौन उत्तेजना गराउने दश ओटा उत्तेजक खानेकुराः
लसुन
अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् ।  तर यो खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।


मह
आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस्  । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई  शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ । भर्खरै बिरामी भएर निको भएका व्यक्तिको तग्रिन पनि यसले सहयोग प्रदान गर्छ । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ ।
ट्रफल

दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आर्कर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।

चोरिजो (स्पेनिश पोर्क)
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।
अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ ।
अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । सेक्सपियरकी पात्र तथा सुन्दरताकी प्रतिमूर्ती क्लियोपेट्राको मन पर्ने फल पनि अन्जिर थियो । प्राचीन ग्रीसमा अन्जिरलाई प्रेमको प्रतिक पनि मानिन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।
मेडजोल डेट्स
मेडजोल डेट्स  उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।
लिक्वोराइस

प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।

साल्मोन

समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ ।  जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

फाल्गुन ३।  नेपालले आज चीर प्रतिद्वन्दी भारतको सामना गर्दै छ ।  भारतमै जारी रहेको दक्षिण एसियाली खेलकुद अन्तर्गत  फुटबल टिमले आज भारतसँग फाइनल खेल खेल्न लागेको हो ।
१७ वर्षपछि साग समिकरणको फाइनमा पुगेको नेपाल आज भारतलाई उसकै भूमीमा पराजित गर्न चाहन्छ ।
सेमिफाइनल भिडन्तमा माल्दिभ्सलाई अन्तर्राष्ट्रिय स्तरको खेल प्रदर्शन गर्दै पराजित गरेको नेपाल उच्च मनोबलमा रहेको छ । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई उसकै भूमिमा हराएर च्याम्पियन बन्ने इच्छा रहेको भन्दै त्यो अवसर अहिले पाएको बताए । उनले भारत दक्षिण एसियाकै राम्रो टिम भएको र ‘होम ग्राउन्ड एडभान्टेज’ रहेको भएपनि खेलमा केहि भन्न नसकिने तर्क गरेका छन् ।
नेपालले यसअघि सन् १९८४ र १९९३ मा उपाधि जितेको थियो । खेल आज साझ सवा ७ बजे भारतको गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा खेलिने छ ।

अमेरिकाको क्यालिफोर्नियाका बैज्ञानिकहरुले यस्तो एप बनाएका छन्, जसले भूकम्पबारे सूचना दिन सहयोग गर्नेछ । वर्कले युनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्र्तगत भूकम्प अनुसन्धान ल्याबका अनुसन्धानकर्ताले यस्तो एप तयार पारेका छन् ।
माइशेक‘ नामको यो एपले भूकम्प आउँदै गरेको सूचना दिनेछ । जसको मद्दतले तपाइँ सुरक्षित रहन वा भाग्न समय मिल्ने छ र सम्भावित क्षति कम गर्न सहयोग गर्नेछ ।
यो एपले फोनको मोसन सेन्सरको मद्दतले जमिन मुनी भइरहेको कुनै पनि तरङ्ग पत्ता लगाउनेछ । फोन तपाईंको खल्तीमा होस् वा ब्यागमा, त्यसबेला पनि काम गर्छ ।
यो प्रोजेक्ट चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले भने, एप बनाउने हजारौं फोन प्रयोगकर्ताको सहयोगबाट एक डेटा नेटवर्क बनाउन चाहन्छौं । जसले आउन लागेको भूकम्पबारे चेतावनी दिनसक्छ ।’
हाल यो एप एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध छ जसलाई प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
बैज्ञानिकहरुका अनुसार जमिनमुनी हुने खतरनाक हलचल ठूलो भूकम्प बन्न केही समय लाग्छ । यो समयमा मानिसहरु कुनै एक ठाउँमा पुग्न सक्छन् । एलेन भन्छन्, केही सेकेण्डको चेतावनी नै ठूलो हो । जो भूकम्पको क्रममा तपाईर्ंलाई भाग्न र ज्यान बचाउन पर्याप्त हुन्छ ।
अहिलेसम्म यो एपले १० किलोमिटरको दायरमा ५ रेक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्छ । बर्कले सीस्मोलोजिकल ल्याब्रेटरीका बैज्ञानिकहकरुका अनुसार यदि सबैलाई यस्तो जानकारी दिन सकियो भने ५० प्रतिशतसम्म हताहती रोक्न सकिनेछ । -बीबीसी

सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलले आफ्ना कर्मचारीको रुपमा बाख्रालाई पनि जागिर दिएको छ भन्दा अनौठो लाग्ला । तर गुगलको कार्यालयमा २ सय वटा बाख्रा कर्मचारीको रुपमा रहेका छन् ।
तर गुगलमा यी बाख्राले कुनै हार्डवेयर तथा सफ्टवेयर निर्माण गर्ने काम गरिरहेका छैनन् । मात्र यिनीहरुको काम भनेको गुगल परिसरको चौरमा पलाएको घाँस खानु अर्थात चर्नु हो ।
अमेरिकास्थित गुगलको माउन्टेन भ्यू मुख्यालयमा यी बाख्राहरुलाई जागिर दिइएको हो ।  चौरको घाँस खाने काम गर्ने यी बाख्राहरुलाई त्यो गरेबापत नियमित रुपमा तलब तथा अन्य सुविधाहरु पनि दिइएको छ, अन्य कर्मचारीलाई जस्तै ।
हप्तामा एक पटक यी बाख्राहरुले गुगल परिसरको चौरमा चर्दछन् । यसरी नियमित रुपमा बाख्रा चरेपछि चौरको घाँस बढ्न पाउँदैन र सफाचट् हुन्छ । गुगलले आफ्नो कार्यालय परिसरको चौरको घाँस काट्नका लागि मेसिनको प्रयोग गर्दैन र सोही कारण यी दुइ सय बाखैलाई जागिर दिएको छ ।
घाँस काट्ने मेसिन प्रयोग गर्दा त्यसबाट निस्कने धुवाँ तथा आवाजले भित्र काम गरिरहेका कर्मचारीहरुलाई डिस्टर्ब गर्ने भन्दै गुगलले घाँस खानकै लागि बाख्रालाई जागिर दिएको हो ।
वास्तवमा गुगलको परिसरभित्रै ती बाख्राहरु पालिएको भने छैन । कुनै बाख्रा फार्मबाट नियमित रुपमा ती बाख्रा फार्मकै कर्मचारीले गुगलमा चराउन ल्याउने बन्दोवस्त गरिएको छ ।
बाख्रा चराउन ल्याउने गोठालोलाई विशेष तालिम दिइएको हुन्छ, ता की बाख्राहरु गुगलको चौरमा राम्रोसँग चरेर घाँस सफाचट् पारुन् तर कार्यालयभित्र नछिरुन् ।
यसरी घाँस खानका लागि बाख्रालाई जागिर दिने कामको सुरुवात याहुले पहिलोपटक सन् २००७ मा गरेको थियो । जसलाई पछि गुगलले सिको गरेको हो ।

यसलाई एक्काइसौँ सताब्दीको सबैभन्दा लज्जाजनक नियम नभनेर के भन्ने ? विश्व अर्थतन्त्रको उदीयमान विकाशशील राष्ट्र दक्षिण अफिकामा अहिले एउटा विवादित छात्रवृत्ति योजना चर्चाको शिखरमा छ ।
त्यहाँको एक स्कुलले आफुलाई कुमारी अर्थात् भर्जिन सावित गर्ने किशोरी छात्राहरुलाई मात्र छात्रवृत्ति दिने योजना अघि सारेको छ । मानव अधिकारवादी संगठनहरुले भने छात्रवृत्ति पाउनका लागि छात्राहरुले आफुलाई भर्जिन सावित गर्नुपर्ने यो अनौठो नियमको विरोध गरेका छन् ।
क्वाजुलु नटाल क्षेत्रस्थित एमसीसीनी गाउँमा रहेको एक स्कुलले यस्तो नियम बनाएको हो । बीबीसीका संवाददाता नोमसा मासेको स्वयं उक्त स्कुलमा पुगेर त्यहाँका छात्राहरुसँग कुराकानी गरेका छन् ।

आफुलाई कुमारी प्रमाणित गरेर छात्रवृत्ति पाउन सफल एक छात्रा थुबेलीहली ड्लोड्लो निकै खुसी छिन् । आफ्ना अभिभावकहरु आफुलाई पढाउने पर्याप्त रकम नहुँदा आफुले छात्रवृत्तिका लागि बाध्यतावस आफ्नो कुमारित्व प्रमाणित गराउनु परेको उनी बताउँछिन् ।
छात्रवृत्तिका लागि आफ्नो कुमारित्वलाई कायम राख्नैपर्ने कुराले उनी हरेक दिन घरबाट निस्किँदा निकै सजग बन्छिन् ।
उनका अनुसार नियमित छात्रवृत्ति रकम पाउनका लागि समय समयमा हुने कुमारित्व परीक्षणमा पास हुनुपर्छ । आफु अहिलेसम्म भर्जिन नै रहन सकेकोमा उनलाई गर्व छ र त्यसरी छात्रवृत्तिका लागि कुमारित्व सावित गर्नुपर्दा उनी खुसी नै छिन् । उनका अनुसार कुमारित्वको जाँच उनीहरुको संस्कृतिको एक महत्वपूर्ण हिस्सा हो ।
कानून अनुसार दक्षिण अफ्रिकामा १६ वर्ष पुगेपछि किशोर किशोरीहरुलाई यौन सम्पर्क गर्न छुट छ । यसरी स्कुले छात्राहरुलाई कुमारित्व परीक्षण गरेर छात्रवृत्ति दिने स्कुलको नियमको अधिकारवादीहरुले विरोध जनाएका छन् । उनीहरुका अनुसार यो गोपनियताको हनन हो । शिक्षाको अवसर र सेक्सलाई सँगै जोडेर हेर्नु गलत भएको उनीहरु बताउँछन् ।
तर यस्तो छात्रवृत्ति योजना एकजना महिला मेयरले नै सुरु गरेकी हुन् । मेयर डुडु माजीबुका अनुसार यस्तो छात्रवृत्ति कुनै पुरस्कार होइन, छात्राहरुको जिन्दगीभरको पुँजी हो ।
यसरी कुमारित्व सावित गरेर छात्रवृत्ति लिन नचाहने छात्राहरुका लागि अन्य प्रकारका छात्रवृत्तिको व्यवस्था समेत रहेको उनी बताउँछिन् ।
गाउ काउन्सिलले उक्त स्कुलका छात्राहरुलाई विभिन्न १ सय प्रकारका छात्रवृत्ति दिन्छ र त्यसमा १६ वटा छात्रवृत्ति कुमारी छात्राहरुलाई दिइन्छ ।

माघ २७ । नयाँ पत्रिकाले भूकम्पपीडितको सहयोगार्थ आयोजना गरेको शीर्ष नेता भर्सेस कलाकारको फुटबलको प्रमुख आकर्षण थिए, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला ।
नेताको टोलीको कप्तानी गरेका कोइराला ११ नम्बरको जर्सीमा मैदानमा उत्रिएका थिए । सबैभन्दा वृद्ध खेलाडी भएकाले उनलाई युवा नेताहरूले केही समयपछि आग्रह गरे,‘प्रधानमन्त्रीज्यू, रिप्लेस गरौँ, तपाईं थाक्नुहुन्छ ।’
सायद यो आग्रहले कोइरालालाई छोएन, उनी मैदानबाट बाहिरिन चाहेनन् । कोच, अन्य खेलाडीको अनुरोधलाई उनले जवाफ दिए, ‘अब एकैछिन ।’ मैदानमा जगिङ गर्दै प्रवेश गरेका कोइराला लगातार २५ मिनेट मैदानमा टिकिरहे । त्यसबीचमा उनले हेड गर्ने प्रयास गरे, ड्रिब्लिङ प्रयास गरे र पास पनि दिए ।
कोइरालाले खेल अवधिमा १० पटक ‘पावरफुल सट’ हान्ने प्रयास पनि गरे । टसपछि कोइरालाले बल पास गरे । तर, धेरै टाढा पुगेन । पुनः प्रहार गर्न बलतर्फ बढ्दै गर्दा विपक्षी कलाकारको टोलीले बल नियन्त्रणमा लियो । तैपनि कोइराला पछाडि फर्केनन्, बलतिरै दौडिइरहे । कलाकार खेलाडीले ‘मिस पास’ गर्दा कोइराला किक हान्न पनि सफल भए ।
खेल सुरु भएको १० मिनेटपछि कोइरालासँगै मैदान प्रवेश गरेका अन्य नेता मैदानबाट बाहिरिए । दर्शकको अनुमान थियो– कोइराला पनि अब बाहिरिन्छन् ।
उल्टो कोइराला स्ट्राकरको भूमिकामा देखिए । लगत्तै मैदानको केन्द्रबाट नजिक पुगेको बललाई कोइरालाले अघि बढेर बल नियन्त्रणमा लिँदै विपक्षीको गोलपोस्टतर्फ अघि बढाउने प्रयास पनि गरे ।
कोइराला थाकेको हुनसक्ने भन्दै दोस्रोपटक रिप्लेस गर्न अघि सरेका एमाले सचिव योगेश भट्टराई पनि निराश भएर फर्किन बाध्य भए । केही बेरपछि बल ‘डी’ एरिया आसपास आयो ।
कोइराला अघि बढे, तर बल नियन्त्रणमा लिन सकेनन् । कोच हरि खड्काले कोइराला थाकेको भन्दै रिप्लेसका लागि एमाले सचिव योगेश भट्टराईलाई फेरि मैदानमा पठाए, त्यसपछि मात्र कोइराला मैदानबाट बाहिरिए । मैदानबाहिर आउँदा कोइरालाको अनुहारमा चमक देखिन्थ्यो– अझै खेल्न तयार भएजस्तै । 

२७ माघ। उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ स्थानका लागि भएको पाकिस्तानविरुद्धको ‘प्ले अप म्याच’मा नेपाल पराजित भएको छ ।
बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रङ्गशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । पाकिस्तानका जितमा हसन मोहिनले शतकसहित ११७ रन जोडे भने सइफ मोहसिनले ८८ बनाए ।
त्यस्तै, नेपालका लागि भने प्रेम तामाङले सर्वाधिक ६५ रन जोडे । कप्तान राजु रिजालले १५, सन्दीप सुनुवार पाँच तथा योगेन्द्र सिंह कार्कीले चार रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेन ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, आरिफ शेख र दीपेन्द्र ऐरीले समान दुई÷दुई विकेट लिए भने सुशील कँडेलले एक विकेट लिए ।

एप्पलले आफ्ना प्रयोगकर्ताका फुटेका आइफोन किन्ने भएको छ। कम्पनीले स्क्रिन, क्यामरा वा बटन फुटेको आइफोन प्रयोगकर्ताबाट खरिद गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। पहिले एप्पल र यसको प्रोग्राम पार्टनर कम्पनीले निश्चित खराबी भएको अवस्थामा मात्रै पुरानो आइफोन खरिद गर्थे।
रिपोर्टका अनुसार, केही मात्रामा फुटेको पुरानो आइफोन फाइभ एसको ५० डलर, सिक्सको २०० डलर र बाइब्याक कार्यक्रम अन्तरगत रहेका सिक्स प्लसको २५० डलर दिइनेछ।
कम्पनीले आफ्नो ‘रियूज र रिसाइकल’ स्कीम फैलाउन पुराना आइफोन खरिद गर्ने सुविधा ल्याएको हो। यसबाट थप आइफोन विक्री हुने विश्वास कम्पनीको छ।
यसका साथै कम्पनीले आइफोनको स्क्रिनको सुरक्षाका लागि आफ्नै स्टोरमा थर्ड पार्टीको स्क्रिन प्रोटेक्टर लगाउने सेवा पनि विस्तार गर्दैछ।

माघ २६ ।  लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्री सुशील कोइराला को गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको भएको छ । 
कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कोइरालाको कारण निधन भएको जानकारी दिएका छन् ।  
 
पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोलेथलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा अफ्ठायारो भएकोथियो ।  
 
पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियता रहेक  कोइराला केही दिन देखि अस्वास्थ्य बने पछि भएपछि निवासमै आराम गरिरहेका थिए। 

माघ २५।  मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको कुनै पनि नम्बरमा  कर बाहेक मात्र १२ पैसा प्रतिमिनेटमा रात्री कल गर्न सक्छन् ।
नाइट भ्वाइस प्याक योजना  सोमबारबाट लागू हुनेछ । योजनामा ग्राहकले ६० मिनेट टक टाइम रहेको रात्रीकालिन भ्वाईस प्याक कर बाहेक ७ रुपैयाँमा खरिद गर्न सक्छन् । अर्थात रातको समयमा प्रतिमिनेट कर बाहेक करिब १२ पैसामा एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।
नाइट भ्वाइस प्याक २४ घण्टासम्म मान्य छ र प्याक अन्र्तगतको टक टाइम एनसेल नेटवर्क भित्र राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । एनसेलका सम्पूर्ण ग्राहकले यस योजनामा सहभागी भई प्याक अन्तर्गतको सुविधाको लिन सक्छन् ।
ग्राहकले १७१०६ मा डायल गरी प्राप्त जानकारी अनुसार नाइट भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी अंग्रजीको ‘ए’ टाइप गरी १७१०६ मा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ ।

माघ २५  । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले हालसम्म ३ रजत र ६ कास्यसहित कुल ९ पदक जितेको छ । नेपालका लागि पौडीमा १३ बर्षीया गौरिका सिंहले कास्यपदक जितेकी छिन् ।
गौरिकाले यो ऐतिहासिक पदक २ सय मिटर ब्याकस्ट्रोकमा जितेकी हुन् । उनले २ मिनेट २६.९३ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित कास्यजितेकी हुन् ।
यता, उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत जिते । त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले कास्य जितेकी छिन् ।
कुस्तीको पुरुष ६१ केजीमा रामबहादुर यादवले कास्य जिते । त्यस्तै टेनिसको पुरुष टिम स्पर्धामा पनि नेपालले कास्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको हो ।
यसअघि भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनमै देवीकुमारी चौधरीले कास्य र कुस्तीमा सरोज यादवले कास्यपदक जितेका हुन् ।
१२ औं सागमा हालसम्म २७ स्वर्णपदकसहित ४२ पदक जितेको भारत शीर्ष स्थानमा छ । ८ स्वर्णसहित श्रीलंका दोस्रो स्थानमा रहँदा समान दुई स्वर्णसहित पाकिस्तान तेस्रो तथा बंगलादेश चौथो स्थानमा छ । नेपाल पाँचौं स्थानमा रहँदा एक रजतसहित अफगानिस्तान छैटौं स्थानमा छ । भुटान र माल्दिभ्सले भने पदकको खाता खोल्न सकेका छैनन् ।

यदि तपाइँ आफ्नो स्मार्टफोनमा विकिपेडिया तथा गुगल म्याप जस्ता वेबसाइबाट चलाउन थाल्नुभयो भने इन्टरनेटको आवश्यकता पर्छ । त्यसका लागि कि त तपाइँ वाइफाइको सुविधामा हुनुपर्छ, कि त मोबाइल डाटा प्रयोग गर्नु आवश्यक हुन्छ ।
तर यदि तपाइँले सही एप डाउनलोड गर्नुभयो भने मोबाइल डाटा वा वाइफाइ विना नै यी लगायतका वेबसाइटहरु चलाउन सक्नुहुन्छ र आफुले चाहेको जानकारी प्राप्त गर्न सक्नुहुनेछ । बस, त्यसका लागि तपाइँले थोरै मेहेनत गर्नुपर्ने हुन्छ र केही एपहरु आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने हुन्छ ।
प्रविधिको खबर थाहा पाउन
यदि तपाइँलाई विश्वभरका नविनतम प्रविधिजन्य खबर पढ्नु छ भने तपाइँले इन्टरनेटको पहुँचमा भएको बेला आफ्नो स्मार्टफोनमा FeedMe नामको एप डाउनलोड गर्नुहोस् । यो एपको सेटिंगमा गएर यसमा फुल अफलाइन सिंक नामक अप्सन सेट गर्नुहोस् । त्यसो गरेसँगै सबै टेक्स्ट तथा तस्वीरहरु तपाइँको फोनमा अफलाइनमै प्राप्त हुनेछन् । अर्थात् इन्टरनेट विनै तपाइँले दुनियाका प्रविधि सम्बन्धी नयाँ नयाँ खबर पढ्न सक्नुहुनेछ ।
ताजा खबर थाहा पाउन
तपाइँलाई यदि देश दुनियाका ताजा ताजा विविध खबरहरुको बारेमा थाहा पाउन मन छ भने पनि मोबाइलको डाटा खर्च गरिरहनुपर्दैन । यसका लागि तपाइँले आफ्नो स्मार्टफोनको गुगल प्लेस्टोरमा गएर SMSmart नामक एप डाउनलोड गरे पुग्छ ।
विकिपेडिया
यदि तपाइँलाई विकिपेडियामा केही कुराहरु अफलाइनमा पढ्ने मन छ भने Kiwix  नामको एप स्मार्टफोनमा डाउनलोड गर्नुस् । यसमा विकिपेडिया पूरै अफलाइनमा पढ्न सकिन्छ ।
अफलाइन गुगल म्याप
गुगल म्याप पनि तपाइँ इन्टरनेट विना नै प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि यो केवल एक महिनाको लागि मात्र प्रयोग गर्न सकिन्छ । त्यसपछि तपाइँले म्यापलाई पुनः डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि तपाइँले गुगल म्यापको सेटिंग्समा गएर अफलाइन एरियाज नामक अप्सनमा गई कुनै खास ठाउँको नक्सा डाउनलोड गर्न सक्नुहुन्छ ।

बलात्कार जघन्य अपराध हो । जसले मानिसलाई शारिरीक पीडाका साथै मानसिक पीडासमेत दिन्छ । जीवनभर बिर्सन नसकिने पीडा हो बलात्कार । आत्मसम्मान र अस्मिता नै लुटिन्छ बलात्कारमा । विशेषगरी केटा भन्दा केटी धेरै बलात्कारको सिकार हुने गर्छन् । विभिन्न देशमा बलात्कार गर्नेलाई बेग्लाबेग्लै सजाय दिने गरिन्छ । कुन देशमा बलात्कारीलाई कस्तो सजाय छ त ? पढौँ केही देशका कारबाही नमूनाहरु ।
१. एसिया महादेशको इरानमा बलात्कारीलाई मृत्युदण्ड दिइन्छ भने केही बलात्कारीलाई ढुंगा प्रहार गरेर मारिन्छ ।
२. एसिया महादेशमै पर्ने अर्को मुलुक अफगानिस्तानमा बलात्कार गर्नेलाई बलात्कार गरेको चार दिनमा टाउकोमा गोली हानेर मारिन्छ या अदालतको आदेश बमोजिम सजाय दिने गरिन्छ ।
३. छिमेकी राष्ट्र र विश्वकै बढी जनसंख्या भएको मुलुक चीनमा बलात्कारीलाई सजाय मात्र दिने गरिन्छ । बलात्कारको अवस्था हेरेर कहिलेकाहिँ मृत्युदण्डसमेत दिइन्छ ।
४. दक्षिण कोरियामा बलात्कारीलाई गोली हानेर मारिन्छ या जागिरबाट निकाल्ने गरिन्छ ।
५. निकै कडा कानुन रहेको साउदी अरबमा मानिसहरुको भिडमा लगेर बलात्कारीलाई सजाय दिने गरिन्छ ।
६. हाम्रो छिमेकी मुलुक भारतमा बलात्कारीलाई जीवनभर जेलमा बस्नुपर्ने सजाय दिइन्छ या बलात्कारको अवस्था हेरेर केही वर्षका लागि मात्र जेलजीवनको सजाय दिइन्छ ।
७. अरु देशमा जस्तो कडा सजाय रसियामा छैन । बलात्कारीले २ या ३ वर्षको जेलजीवनपछि छुटकारा पाउँछन । बढीमा २० वर्षसम्मको जेलजीवनको सजायको व्यवस्था छ ।

८. महिला र पुरुषको सहमतिबिना भएको यौन कार्यलाई नर्वेमा बलात्कार भनिन्छ । शरीरमा भएको असरअनुसार ४ देखि १५ वर्षसम्मको जेल सजाय दिने गरिन्छ ।

९. अमेरिकामा धेरै कानुन छन् । बलात्कारको मुद्दा कानुनविपरीत भयो भने बलात्कारीलाई केही वर्ष या जीवनभरको जेल सजाय दिने गरिन्छ ।

१०. फ्रान्स यस्तो मुलुक हो, जहाँ बलात्कारीका लागि कुनै बाधा छैन । बलात्कारीलाई केही वर्ष या जीवनभर जेल सजाय दिने गरिन्छ ।

११. अर्को मुलुक इजिप्टमा बलात्कारीलाई झुन्ड्याएर मारिन्छ ।

१२. इजरायलमा बलात्कारीलाई १६ वर्ष या जीवनभर जेल सजाय दिइन्छ ।
स्रोतः क्यलुज एरिना 

नेपालको कानुनमा मृत्युदण्डको व्यवस्था नभए पनि मुलुकी ऐनले महिलालाई विशेष प्रतिरक्षाको अधिकार दिएको छ । बलात्कृत महिलाद्वारा बलात्कारीलाई मार्न पाइने कानुन छ । नेपालको मुलुकी ऐन जर्बजस्ती करणी महलको ८ नं. ले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको एक घण्टाभित्र पीडक अथवा बलात्कारीलाई मारेको खण्डमा ती महिलालाई कानुन नलाग्ने छुट दिएको छ । महिला अधिकारबारे सचेत हुने हो भने आफू बलात्कृत हुनासाथ बलात्कारीलाई मारिदिन सक्छ । एक घण्टा उप्रान्त मारेमा ५ हजार रुपैयाँसम्म जरिवाना वा १० वर्षसम्म कैद हुन्छ ।

माघ २३  । दक्षिण एसियाली खेलकुद (साग)को १२ औं संस्करण शुक्रबारदेखि भारतमा सुरु भएको छ ।

शुक्रबार भएको महिलातर्फको फुटबल खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको छ ।

नेपालका लागि दीपा अधिकारी, अनु लामा र निरु थापाले एक–एक गोल गरे । नेपाल साग फुटबलको उपविजेता हो ।

अब समूहको दोस्रो खेलमा नेपालले आइतबारमाल्दिभ्ससँग खेल्ने कार्यक्रम छ ।

प्रतियोगिताको पहिलो दिन भलिबल र आर्चरीसमेत सुरु भएको छ ।

माघ २२ । दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करण आजबाट भारतको गुवाहाटीमा शुरु हुँदैछ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक भव्य समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतकै अर्को राज्य मेघालयको राजधानी सिलोङमा पनि प्रतियोगिता हुनेछ ।
justify;">भारतीय प्रधानमन्त्री मोदीले शनिबार सिलोङमा पनि प्रतियोगिताको छुट्टै उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा भाग लिन सहभागी खेलाडी, पदाधिकारी र सञ्चारकर्मी पुग्ने क्रम जारी छ ।
आयोजक भारतसहित नेपाल, बंगलादेश र पाकिस्तानका अधिकांश सहभागी आयोजनास्थल पुगिसकेका छन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानका खेलाडीले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताका विभिन्न २३ वटा खेलका स्पर्धा समावेश गरिएको छ । नेपाल, भारत र श्रीलंकाले मात्र २३ वटै खेलमा भाग लिएका छन् । प्रतियोगितामा नेपालबाट तीन सय ८७ खेलाडीसहित ५ सय २२ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ ।
प्रतियोगिताका १६ खेल गुवाहाटी र सात खेल सिलोङमा हुनेछन् ।
भारतले तेस्रो पटक साग आयोजना गर्न लागेको हो । दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण भने नेपालमा भएको थियो ।

गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ? 

गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।

गर्भावस्थाको  जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।

गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?

गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत गर्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।

गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?

गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पु¥याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?

पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।

गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?

गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ ।
– डा ज्योती अग्रवाल, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.