नेपालको बिजुली बंगलादेशले किन्ने

बंगलादेशले भारतीय जिएमआर कम्पनीले बनाउन लागेको माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी–२ बाट ५ सय मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंमा बिहीबार सुरु हुने तीनदिने जलविद्युत सम्मेलन क्रममा बंगलादेशको पावर डिभिजन र जिएमआरबीच विद्युत खरिद समझदारी हुन लागेको हो।

प्रधानमन्त्री सुशील कोइरालाको रोहबरमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद र जिएमआरका नेपाल प्रमुख हरबिन्दर मनोचाले समझदारीपत्रमा हस्ताक्षर गर्ने नागरिक दैनिकमा खबर छ ।
गत कात्तिकमा १८ औं सार्क शिखर सम्मेलन क्रममा सार्क सदस्यराष्ट्रबीच बिजुली आदानप्रदान तथा ऊर्जा व्यापार गर्ने उद्देश्यले सार्कस्तरीय विद्युत व्यापार सम्झौता (पिटिए) भएको थियो। बंगलादेशलाई बिजुली बेच्ने समझदारी यो सम्झौताको पहिलो सुरुआत हो।
सार्क पिटिएले नेपाललाई आवश्यक पर्दा जुनसुकै देशबाट बिजुली किन्न सक्ने र बढी हुँदा बेच्न सकिने बाटो खुला गरेको छ। नेपालले केही समयअघि मात्र भारतसँग विद्युत खरिद सम्झौता (पिटिए) गरेको थियो।
‘भारतमा भन्दा बंगलादेशमा बिजुलीको राम्रो बजार पाइएको छ, त्यसैले हामी बंगलादेश प्रवेश गर्न खोजेका हौं,’ जिएमआरलाई उद्धृत गर्दै लगानी बोर्ड स्रोतले नागरिकसँग भन्यो, ‘यहाँ उत्पादित बिजुली किन्ने समझदारीपछि विद्युत खरिद सम्झौता (पिपिए) को प्रक्रिया अघि बढाउन कम्पनी तयार छ।’
समझदारीपछि यहाँ उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छ। यो देशका लागि सकारात्मक पक्ष रहेको बोर्ड अधिकारी बताउँछन्।
विगत दुई वर्षदेखि नै बंगलादेश यहाँबाट बिजुली किन्न इच्छुक रहेकाले यो समझदारी नेपालको बिजुली तेस्रो मुलुकको बजारमा पुग्ने पहिलो माध्यम हुने ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए ।
‘बंगलादेशले सुरुमा ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दीको २ सय मेगावाट किन्ने इच्छा देखाएको छ,’ उनले मंगलबार भने, ‘यो समझदारी बंगलादेशको पावर डिभिजन र जिएमआरबीच हुने हो, नेपाल सरकारको संलग्नता हुँदैन तर सरकारले समन्वयको भूमिका खेल्न सक्छ ।’
गत वर्ष काठमाडौंमा भएको सार्कस्तरीय जलविद्युत सम्मेलनमा बंगलादेशका सरकारी अधिकारीले जिएमआरको आग्रहमा माथिल्लो मस्र्याङ्दी आयोजनास्थल अवलोकनसमेत गरेका थिए । ‘यहाँको बिजुलीले बंगलादेशको बजार पाउनु सकारात्मक पक्ष हो,’ प्रवक्ता अधिकारीले भने, ‘यसले बिस्तारै अन्य देशसँग पनि व्यापारको ढोका खोल्नेछ ।’ यो सम्झौतासँगै जलविद्युतमा विदेशी लगानी भित्रन बाटो अझ सहज हुने अधिकारीले जनाए ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.