
स्थानीय पुरातात्विक वस्तु, रहनसहन, वेशभूषा, जीवन्त कला संस्कृति, भाषालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा समाचार र जानकारीका माध्यमबाट निष्पक्ष र तटस्थ रुपमा प्रसारण गर्ने लक्ष्य ती दुई च्यानलले राखेका छन् ।
गत कात्तिक १ गतेदेखि एनटिभीले सञ्चालनमा ल्याएको समाचार च्यानललाई निकट भविष्यमै चौबिसै घन्टा प्रसारण गर्ने तयारी पनि भएको छ।
दुई स्थानबाट नयाँ च्यानल सञ्चालन भए एनटिभीका पाँचवटा प्रसारण च्यानल हुनेछन्।
एनटिभीको ३०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कामलाई आगामी केही वर्षभित्र सम्पन्न गर्ने एनटिभीले बतायो ।
विसं २०४१ माघ १७ गते स्थापना भएको संस्थानले आफूलाई सार्वजनिक प्रसारण संस्थाको भूमिकामा उभ्याउँदै सूचना तथा समाचार सामग्री हाल भूउपग्रहमार्फत देशभर र विश्वका ११६ मुलुकका दर्शकमाझ पुर्याइराखेको छ।
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वार्षिकोत्सव समारोहमा एनटिभी र रेडियो नेपालको मानवीय एवम् भौतिक सम्पत्तिलाई रुपान्तरण गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउने नीतिगत निर्णय भइसकेकाले यसलाई कार्यान्वयनमा लान मन्त्रालयले आवश्यक सहयोग पुर्याउने जानकारी दिए।
उनले यसका लागि गठित कार्यदललाई छिटो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिँदै प्रतिवेदनमा आउने सुझाव मन्त्रालयले कार्यान्वयन गर्ने विश्वास दिलाए। उक्त कार्यदलको कार्यालय एनटिभीको भवनभित्रै रहेको छ ।
मन्त्री रिजालले सोधे – हालै प्रसारणमा आएको तेस्रो समाचार च्यानल कुन रुपमा सञ्चालन गर्ने हो ? बन्द नै गर्ने हो अथवा सार्वजनिक प्रसारण सेवा संस्था नबनुन्जेलसम्मका लागि स्थगित गर्ने हो ? यसबारे निर्णयमा पुग्न म सञ्चालक समितिलाई आग्रह गर्दछु।
एनटिभीका अध्यक्ष निर शाहले एनटिभी र रेडियो नेपाललाई समन्वय गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउन गठित कार्यदलले यसका भावी सङ्गठन, सम्पत्ति, कानुनी पक्ष, प्राविधिक र कार्यक्रमबारे अध्ययन गरिरहेको बताए।
एनटिभी कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धितालले व्यवस्थापनको असक्षमताले शान्ति प्रवद्र्धनका लागि शान्ति कोषबाट प्राप्त रकम दुरुपयोग भएको बताउँदै तेस्रो च्यानल प्रभावकारी रुपमा सञ्चालनमा आउन नसकेको गुनासो गरे।