चिरिबाबुले चुनाव जिते, देउवाले बाजी हारे !

काठमाडौं, जेठ १० – ललितपुर महानगरपालिकाका पहिलो मेयर बन्ने सौभाग्य पाएका चिरिबाबु महर्जनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित एक सय रुपैयाँको बाजी पनि जित्नुभएको छ । चुनावमा उम्मेदवारी दिनुअघि पार्टीको तल्लो तहदेखि नै तेस्रो नम्बरमा सिफारिस हुँदै आउनु भएका चिरिबाबुलाई नै टिकट दिइनेछ भन्ने आशा थोरै कार्यकर्तालाई मात्र लागेको थियो । तर अन्तिम चरणमा सभापति देउवाले ललितपुरका बौद्धिक तहबाट सिफारिस लिँदा चिरिबाबु ललितपुरका लागि निर्विकल्प उम्मेदवार भएको निष्कर्षमा पुग्नु भयो । पुल्चोकवासी चिरिबाबुका बालसखा तथा हाल त्रिविवि बौद्ध अध्ययन विभागका उप–प्राध्यापक डा. गौतमवीर बज्राचार्य आश्चर्यजनक घटना विवरण सुनाउनुभयो– ‘सभापति देउवाले चिरिबाबुले जित्नुहुन्छ त ? भनी प्रश्न गर्दै हारे भने त बर्बादै हुन्छ नि भन्नु भयो । मैले पनि ललितपुरमा चिरिबाबु बाहेक अरुले जित्नै सक्दैनन् भनिदिएँ ।’

नेपाली कांग्रेस समर्थित नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य समेत रहेका डा. बज्राचार्यले रोचक विवरण सुनाउनुभयो– ‘त्यस्तो बेला सभापति देउवालाई चिरिबाबु दाईले बाजी राख्नुभयो– यदि मैले हारेँ भने म पार्टीलाई एक लाख रुपियाँ दिन्छु, जितेँ भने मलाई एक सय रुपैयाँ पुरस्कार दिनुहोस् ।’

यसरी बाजी अनुसार ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले जित्नुभयो भने बाजीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकसय रुपैयाँ हार्नुभएको छ । अब निर्वाचित भएपछि पहिले गरेको वाचा अनुसार सभापति देउवासित एकसय रुपैयाँको पुरस्कार थाप्न जाने मानसिकता बनाइसक्नुभएको छ, उहाँहरुले ।

चिरिबाबु सानैदेखि मेहनती, तीक्ष्ण बुद्धि, इमान्दार, पारदर्शी साथै व्यवहारिक समेत भएकोले उहाँलाई यसअघि स्थानीय बासिन्दाले तीनपटकसम्म वडाध्यक्षमा जिताए । हरेक चुनावमा उहाँले प्राप्त गर्ने मत विपक्षी भन्दा तीन दोब्बर बढि हुन्थ्यो । निम्न मध्यमवर्गीय परिवारमा जन्मेर हुर्किएका चिरिबाबुले वडाध्यक्ष हुँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजनामा व्यवस्थापकको जागीर खाइरहनु भयो । वडाध्यक्ष पदमा रहुञ्जेल कुनै आर्थिक विवादमा आउनुभएन भन्ने डा. बज्राचार्यको ठहर छ ।

‘उहाँ जे काम पनि आफैं गर्न अघि सर्नु हुन्थ्यो, तत्काल निर्णय गर्नुहुन्थ्यो । काममा मेहनती हुनाले लोकप्रिय हुनुहुन्थ्यो । त्यसैले यसपटकको चुनावमा महर्जन थरकै धेरै उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा पनि उहाँलाई मतदाताले पत्याए भन्ने विश्लेषण ललितपुरवासीको छ । अब उहाँले मतदाताको विश्वास अनुरुप आफ्ना आश्वासनहरु व्यवहारमा पूरा गरेर देखाउने बेला आएको छ । निर्वाचनका क्रममा दिइएका आश्वासनहरु पूर्ण रुपमा पूरा गर्न अब योजनावद्ध ढंगबाट लाग्नुपर्छ’ डा. बज्राचार्यले भन्नु भयो ।

यसपटक ललितपुरका बासिन्दाले एक सादा जीवन उच्च विचारका धनी कर्तव्यनिष्ठ र सक्षमलाई काम गर्ने अवसर दिएको छ, त्यसको परीक्षा आजैदेखि सुरु हुँदैछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.