केपी ओलीलाई पोखेको महिनावारीको पीडा स्वास्थ्यमन्त्री गगनले बुझें

सम्माननीय स्वास्थ्यमन्त्री ज्यू,
हजुरको स्वास्थ्य ठिकै होला भन्नेमा पूर्ण आशावादी छुँ ।
म गंगा खड्का । गुल्मीबाट । स्वास्थ्यमन्त्री भएदेखीनै नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिरहनुभएको खवर म दिनहुँ पढ्छु र सुन्छु । पत्रबाटै म धन्यवाद व्यक्त गर्दछु । हजुरले स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत परिवर्तन र स्वास्थ्य सुविधा उपलव्धको विषयमा जति काम अगाडी बढाउनुभएको छ । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हो । योजना कार्यान्वयन होउन् मेरो शुभकामना हजुरलाई ।

कहिलेकाँही लाग्छ छिनछिनमा परिवर्तन भइरहने सरकार र मन्त्रीहरुले हजुरले अगाडी बढाएका कामलाई निरन्तरता नदिएर हामी फेरी शुन्यमा पुग्ने हौं की ? आशा छ आम नागसरिकको हितमा भएका कामलाई सबैले कार्यान्वयन गर्नुहुनेछ ।

म जिल्लामा बसेर गुल्मी लगायत अन्य जिल्लामा विगत पाँच वर्षदेखी हामी महिलाहरुले भोग्दै आइरहेको महिनावारीका बेला गरिने विभेद, सरसफाईको कमीले हुने संक्रमण र महिनावारी भएको समयमा समाजले हामीलाई हेर्ने फरक दृष्टिकोण परिवर्तनका लागि ‘सुरक्षित महिनावारी राष्ट्रिय अभियान’ सञ्चालन गरी काम गरिरहेकी छुँ । आजभन्दा पाँच वर्ष अगाडी महिनावारी सरसफाईका कुरा गर्न गाउँ पुग्दा मैले भोगेको तितो अनुभवले मलाई आजपनि दुःखी बनाउँछ । तर यहि समाज हो हिजो अपहेलना र लाञ्छना बेहोर्नु परेको थियो । तर, आज उही समाजले सबैभन्दा बढी खुसी व्यक्त गरेर स्वागत गरिरहेको छ । मानसिकता र वर्षौदेखिको सोँच परिवर्तन गर्न एकैपटक सम्भव कहाँ थियो र ? त्यसैले त निरन्तर काम गरिरहेकी छु ।

हामी महिलाहरुले ‘अनुपम बरदान’को रुपमा पाएको मासिक श्राव(महिनावारी) यो नितान्त प्राकृतिक प्रक्रिया हो । यही चक्रले नै हामी मानव जातीलाई निरन्तरता दिइएको छ । म महिनावारी भएकोमा गर्व गर्छु । किनकी पुरुषले यो अनुपम बरदानको अनुभव चाहेर पनि लिन सक्दैनन् । तर हाम्रो समाजले यो प्राकृतिक प्रक्रियालाई अनेक तरिकाले परिभाषित गरी पीडामा बदलिदिएको छ । अब हामी कसरी खुसी हुन सक्छौं ? हामीलाई गर्ने यो विभेद कसरी सहन सक्छौं ? महिनावारी भएको समयमा हामी छोरीहरु यसैपनि कमजोर हुने र शारीरीक पीडा त छदैछ त्यसमाथि समाजले गर्ने विभेद, पौष्टिक तत्वको कमी, फोहोर कपडाको प्रयोग, लाजका कारणले झन् पीडामाथि पिडा थपिदै जीवन नै बोझ बनाएर जिउन बाध्यतामा हामी छौं । शहरमा आरमदायी जीवनयापन गर्नेहरुका लागी यो सामान्य विषय होला तर हामी ग्रामीण ठाउँमा बस्ने छोरीहरु महिनावारीका कारण कति समस्यामा छौं भन्ने कसलाई सुनाउने ? त्यसैले त सामाजिक कुरीतिको बिरोधमा हाम फाल्ने हिम्मत पलाएर आयो होला।

स्वास्थ्यमन्त्री ज्यू, आज यो अभियानमा नेपालका झण्डै ३ दर्जन संस्थाहरु क्रियाशील भएर काम गरेको सुन्दा खुसी लागेको छ । अझ त्यसमाथि हजुरले जब स्यानेटरी प्याडलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको सूचीमा यसै महिना सूचिकृत गरी कर छुटका लागी अर्थमन्त्रालयमा पत्रचार गर्नुभएको समाचार सुनेपछि हर्षले मन थाम्नै सकिन । यो खुसी आम नेपाली छोरीहरुको हो । हामीले रहरले नभई बाध्यताले प्रयोग गर्ने टेपमा सरकारले लिने गरेको कर छुटका लागी ५ वर्षदेखी स्वास्थ्य मन्त्रालयका सचिवदेखी आजकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई अन्नपूर्ण पोष्ट मार्फत पत्र लेखेकी थिए । खै के कारणले हो उहाँहरुले हाम्रो समस्या समाधानका लागी कुनै पहल गरेको जानकारी प्राप्त गर्न सकिएन । केही गर्नुहुन्छ भन्ने आशा हजुरको लागेको थियो ।

हाम्रो समस्यालाई बुझ्ने प्रयास गर्नुभएको छ । हामी यसैमा गर्व गर्छौ । दिनहुँजसो विद्यालयका छात्राहरुको भिडमा पुग्ने म ती कलिला हाम्रा चेलीहरुले सोधेको एक प्रश्नको जवाफ दिन सक्ने भएकोमा म अत्यन्तै खुसी छु । उहाँहरुले मलाई सोधिहाल्ने प्रश्न थियो, “दिदी स्यानेटरी प्याड महँगो छ । फोहोर कपडा प्रयोग गर्नु हामी गरिव छोरीको रहर नभएर बाध्यता हो ।” म नजवाफ भएर मौनताबाटै बाहिर निस्कनुपर्ने पीडा अब कम भएको महशुस गरिरहेकी छु ।

मन्त्रीज्यू, विद्यालयमा इन्सिनेटर सहितका छात्रा शौचालय, महिनावारी सुरक्षित सामग्रीहरु, स्वास्थ्य शिक्षक, सुरक्षित महिनावारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम, स्यानेटरी प्याड उत्पादनमा सरकारले लिने गरेको कर खारेजका विषयमा म ५ वर्ष देखीनै आवाज उठाउँदै आईरहेकी छु । हजुरले विद्यालयमा अनिवार्य नर्स राख्नैपर्ने निर्णयले मलाई अझ बढी खुसी बनाएको छ । एकातर्फ नेपालमा स्वास्थ्य विषय पढेर बेरोजगार बनेका युवाहरुका लागि रोजगार हुने अर्कोतर्फ विद्यालयका विद्यार्थीमा आउने एकाएक स्वास्थ्य समस्याको समाधान र जानकारी एउटै व्यक्तिबाट हुने भएपछि ढुक्कसँग पढ्न सक्ने वातवरण सिर्जना हुनेछ । यो महत्वपूर्ण निर्णय देशैभर लागुहुनेछ भन्नेमा पनि म पूर्ण विश्वस्त छु ।

मानिसको स्वास्थ्य नै स्वस्थ भएन भने हामीले स्वस्थ र विकासशील समाजको निर्माण कसरी कल्पना गर्न सकिएला र ? त्यसैले त मन्त्रीज्यू हामीले गुल्मीका झण्डै २ दर्जन विद्यालयमा जिल्ला सम्वन्य समिति र विदेशी भूमिमा पसिना बगाएका नेपाली दाजुभाईको न्यून सहयोगमा अभियान सञ्चालन गरिरहँदा जिल्लाका सयौँ विद्यालय र छिमेकी जिल्लाले पनि कार्यक्रमका लागि दिनहुँ फोन गरिरहेका हुन्छन् । तर हामीसँग ती गाउँहरुमा पुगेर महिनावारी सरसफाई सम्बन्धी जानकारी दिने कुनै श्रोत नै छैन । के स्वास्थ्य मन्त्रालयले ती मागहरुलाई सम्बोधन गर्न सक्दैन ? म आशावादी छु । हाम्रा कलिला चेलिहरु सुरक्षित महिनावारीको ज्ञानको अभावमा पीडामा बाँच्नपर्ने छैन । हजुरको सकारात्मक सम्बोधन पक्कै हुनेछ र हामीले महिनावारीमैत्री समाजको महशुस गर्न सक्नेछौँ । आगामी दिनमा हजुरको कार्य सफलताको कामना गर्दछु !

गंगा खड्का(गुल्मी) ।
मिति ः २०७४ जेठ १४

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.