पोखरा : धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुनुहुन्छ। चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाउनुभएको होइन।
एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस जो हुनुभएको थियो। राष्ट्रपतिसँग मञ्जुले उहाँकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गर्नुभएको छैन। आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आआफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउनुहुन्छ। कसरी गाँसिएको थियो त उहाँहरुको सैनी साइनो ?
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आउनुभएको थियो। पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोच्नुभयो। नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो।
‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भन्नुभयो, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उहाँले सुनाउनुभयो। संयोग कस्तो पनि परेको छ भने उहाँ यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर हुनुहुन्थ्यो। छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी हुनुभएको छ।
भोजपुरमा जन्मिएकी विद्यालाई गण्डक प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरले सुनाउनुभयो। छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, पूmलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै सैनी लगाएको मञ्जुले बताउनुभयो।
साइनो गाँसिएपछि विद्या पोखरा आउँदा मञ्जुकहाँ बस्नुहुन्थ्यो भने मञ्जु काठमाडौं जाँदा विद्याकहाँ। ‘राष्ट्रपति भएपछि उहाँकी छोरीको बिहेमा जाँदा भेटेयता कुराकानी र भेट भएको छैन’, मञ्जुले अन्नपूर्णसँग भन्नुभयो। उहाँका अनुसार भेटघाटका बेला दुवैबीच पारिवारिक गफगाफ भइरहन्थ्यो। मञ्जु ३१ वर्षमै एकल हुनुभएको थियो। उहाँका पति मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। राजनीतिमा संलग्नता भने उहाँ अविवाहित हुँदादेखि नै थियो। आफ्ना मामाको प्रेरणाले कम्युनिस्टप्रति आकर्षित हुनुभएको थियो। अहिले उहाँ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष पनि हुनुहुन्छ। निजी विद्यालयमा शिक्षिकाको अनुभव संगालेपछि उहाँले साथीहरुसँग मिलेर अंग्रेजी माध्यमको स्कुल स्थापना गर्नुभएको छ।
उपमेयर भइसकेपछि न्यायिक जिम्मेवार सम्हाल्नुपर्ने मञ्जुलाई थाहा छ। त्यसैले उहाँले प्रतिबद्धता गरिसक्नुभएको छ,‘पोखरालाई महिलाहिंसामुक्त महानगर बनाउन लाग्छु, विभेदमुक्त महानगर बनाउन लाग्छु।’ source:annapurnapost.com
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.