काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ बन्ने सरकारमा माओवादी केन्द्रबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा चर्चा हुन थालेको छ ।
अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राजिनामा दिएपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।
देउवा नेतृत्वको सरकारमा माओवादीलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने अनुमान गरिएको छ । यसो भएको खण्डमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नेतृत्वको दावी समेत केही नेताले गरेका छन् ।
सभापति देउवा नेतृत्वको सरकारमा माओवादीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा यतिखेर पार्टीभित्र चर्चा चलेको देखिन्छ । पार्टीगत रुपमा औपचारिक छलफल नचलेपनि सामाजिक सञ्चालमा र माओवादी समर्थकहरुबीच भने यतिखेर विभिन्न नेताहरुको नाम चर्चामा छ ।
सामाजिक सञ्जालमा कतिपयले अहिलेका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई नै सरकारमा माओवादी मन्त्रीहरुको नेतृत्व गर्ने गरी पठाउनुपर्ने बताएका छन् । उर्जामन्त्री भएपछि चर्चा कमाएका जनार्दन शर्मालाई नेतृत्व दिइएमा अहिलेको सरकारको स्पिरिट कायम रहने तर्क शर्माका समर्थकहरुको छ ।
यद्यपी कतिपयले भने शर्मालाई उर्जामा नै अझै निरन्तरता दिनुपर्ने समेत बताएका छन् । जनार्दन शर्माले गरेका कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा उनलाई नै ऊर्जामन्त्री दिनुपर्ने भनिएको छ ।
उनले ल्याएका योजना पुरा गर्न समेत उनलाई उर्जामा नै निरन्तरता दिनुपर्ने तर्क दिएको भेटिन्छ । केहीले भने जनार्दनलाई सरकारमा पठाउने, गृहमन्त्री समेत उनलाई नै दिने बताइएको छ ।
अर्कोतर्फ पार्टीभित्रको समीकरणका आधारमा हेर्दा नारायणकाजी श्रेष्ठ निकट रहेका र ओली सरकारमा शिक्षामन्त्री समेत रहेका नेता गिरिराजमणी पोखरेलले समेत उपप्रधानमन्त्री र गृहमन्त्रीमा दावी गरेका छन् ।
माओवादी कार्यालय स्रोतका अनुसार, पोखरेललाई माओवादीको नेतृत्व गर्ने गरी सरकारमा सहभागी गराउन नेता श्रेष्ठले लबिङ शुरु गरेका छन् । यद्यपी पोखरेलका तर्फबाट भने यसबारेमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।
वरिष्ठता र विगतमा बाबुरामका निकट भएर पनि नयाँ शक्तिमा नगएका टोपबहादुर रायमाझीले समेत सरकारमा माओवादीको नेतृत्व लिनुपर्ने चर्चा समेत माओवादीभित्र चलेको छ ।
माओवादी कार्यालय स्रोतका अनुसार, रायमाझी स्वयम्ले समेत यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग कुरा गरेर आफूलाई नेतृत्व दिएर सरकारमा जाने निर्णय गर्न आग्रह गरेका छन् । source:news24nepal.tv
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.