भनेका थिए – नउठ, खर्च गर्न सक्दैनौ, हार्छौ… तर उनले हारेनन्

गोरखा, जेठ १२ – स्थानीय तहको पहिलो चरणको चुनावको मिति नजिकिँदै थियो । गोरखास्थित राजनीतिक दलहरु उम्मेद्वार चयनको रस्साकस्सीमा थिए । त्यसै क्रममा शहीद लखन गाउँपालिका वडा नम्वर ४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट टिकट पाए, ३३ वर्षका कृष्ण चेपाङले ।

टिकट पाउनु के थियो, उनलाई चुनाव नलड्न आग्रह र दवाव आउन थालिहाल्यो । यसरी आग्रह गर्नेहरुको एउटै तर्क थियो, ‘तिमीले भनेजति खर्च गर्न सक्दैनौं र चुनाव हार्छौ ।’

हुन पनि हो, शहीद लखन गाउँपालिका वडा नम्वर ४ ताक्लुङको विपन्न चेपाङ परिवारमा जन्मिएका कृष्णसँग चुनावमा खर्च गर्ने पर्याप्त रकम थिएन, चुनावकै लागि उहाँलाई आर्थिक सहयोग गर्छु भनेर वचन दिने पनि कोही थिएनन् । ‘तर ६३ सालदेखि लगातार गाउँको विकास निर्माणदेखि भैपरी आउने धेरैजसो समस्या समाधानमा दौडिएकाले मलाई जित्न सक्छु भन्ने विश्वास थियो’ चुनावी परिणाम आएको एक सातापछि गोरखा सदरमुकाममा उज्यालो अनलाइनसँग कुरा गर्दै कृष्णले भन्नुभयो, ‘मलाई चेपाङ समुदायको मात्रै होइन, वडाका सबैप्रति विश्वास थियो ।’

उम्मेद्वारी मनोनयनको दिन नजिकिँदै जाँदा उहाँलाई फेरि अर्को थरि तर्क गरेर हतोत्साहित पारियो । ५ कक्षासम्म पढेको स्थानीय सिञ्जाली माविका पूर्व प्रधानाध्यापक अर्थात आफ्नै गुरु प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा भएकाले गुरुसँगै मिलेर पो चुनाव लड्ने कि भन्ने खालका सल्लाह दिनेहरु पनि थिए । तर पुरानो पार्टीबाट अलग्गिएर बनेको नयाँशक्ति पार्टीका उम्मेद्वार गुरुका लागि मैदान छोड्ने कुरा पनि भएन । कृष्ण सबै कुरा पन्छाउँदै चुनावमा होमिनु भयो ।

चुनाव सकियो, मतगणना सुरु भयो, गाउँपालिकाको १, २ र ३ नम्वर वडामा एमालेले वडा अध्यक्षसहितका पदहरु जित्यो । अब पालो आयो, कृष्ण चुनाव लडेको वडा नम्वर ४ को । गणनामा संलग्नहरु समेत चकित पर्ने गरि कृष्णको भोटको पारो माथि चढेको चढ्यै भयो र नजिकका प्रतिद्वन्द्वी एमाले उम्मेद्वार लोकनाथ पन्तको भन्दा ३ सय २४ मत बढी ल्याएर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाका धेरैजसो मतदाता ब्राम्हण, क्षत्री, मगर लगायत समुदायका थिए ।

ति समुदायले त माया गरेनै, तर आफ्नै समुदायका झण्डै साढे २ सय चेपाङ मतदाताले उहाँको पक्षमा एक्छापे मत हालिदिए । जुन समुदायका लागि उनले लामो समय समाजसेवामा बिताएका थिए, त्यही समुदायको निर्णायक मतका साथ चुनाव जितेका कृष्ण जिल्लामा यति ठूलो पदमा चुनाव जित्ने पहिलो चेपाङ पनि बन्नुभएको छ ।

चेपाङ र वडाका अरु सबैले विश्वास गरेपछि ३३ वर्षका कृष्ण चेपाङको काँधमा दुवै जिम्मेवारी थपिएको छ, चेपाङ र आम समुदायको नेतृत्व गर्ने । कृष्ण नेपाल चेपाङ संघका गोरखा जिल्ला अध्यक्ष र भूमि अधिकार मञ्चका पनि जिल्ला अध्यक्ष हुनुहुन्छ । चेपाङ समुदायलाई लालपूर्जा दिलाउने, गाउँसम्म सडक लैजाने, सिँचाइको सुविधा पुर्‍याउने र निमेक गरेर गुजारा गर्ने चेपाङ युवालाई तरकारी खेतीतर्फ आकर्षित गर्ने, कृष्णका पहिलो प्राथमिकताका काम हुन् ।

‘भीर, पखेरामा बस्ने चेपाङ समुदायको भूमि अधिकार स्थापित गराउनु र गाउँमा बाटो, सडक, खानेपानी, विजुलीको ब्यवस्था गर्नुछ’ उहाँले भन्नुभयो, ‘शिक्षामा हाम्रो समुदाय निकै पछि छ, जनचेतनाका काम सँगै जीविकोपार्जनका अरु कुराहरु पनि गर्नुछ । तर चेपाङ समुदायको लागि मात्रै काम गर्ने कुरा पनि भएन’ कृष्ण भन्नुहुन्छ, ‘म त चेपाङ अध्यक्षचाहिँ हुँ, तर चेपाङको मात्र अध्यक्ष त होइन, सबैका लागि काम गर्नु पर्‍यो नि ।’ ताक्लुङका चेपाङ उहाँप्रति यत्ति आशावादी बनेका छन् कि, सोच्छन्, आफ्नो समुदायको पहिलो वडाध्यक्षले चाह्यो भने धेरै गर्न सक्छ । कृष्ण सुनाउनुहुन्छ ‘हाम्रो गाउँका लागि त प्रधानमन्त्री, मन्त्री जे भने पनि तिमी नै हो भन्नुहुन्छ, गाउँलेहरु ।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.