गृहमन्त्रीज्यू, पति मैले गुमाएकी छु, छोराछोरी मेरा टुहुरा भएका छन्, मुद्धा तपाईले फिर्ता लिने ?

मधेसी–थारुको आन्दोलन शान्तिपूर्ण भनिएको थियो । सबै नेताले बारम्बार शान्तिपूर्ण भनेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनमा सुरक्षाकर्मीलाई लखेटी–लखेटी, भाला, बञ्चरो, खुकुरीले क्षतविक्षत बनाएर हत्या गर्नु राजनीतिक कार्य कदापी हुन सक्दैन । अहिलेका गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक घटना भन्नु भएछ । मेरो श्रीमान् नेपाल प्रहरीका निरीक्षक केशव बोहोरालगायतले हामीलाई छाडिदिनुस् भनेर हात उठाइसकेको अवस्थामा समेत पाशविक ढंगले बर्बरतापूर्वक हत्या गरियो । यस्तो बर्बरतापूर्वक हत्या गर्नेलाई राजनीतिको नाममा छुट दिने हो भने हत्या अभियोगमा जेल बसेकालाई पनि जेलमुक्त गर्नुपर्छ । मान्छे मार्दा पनि यो देशमा कानुन लाग्दैन भने बाँकी अपराधमा हुने सजाय पनि छुट दिनु पर्छ । राजनीतिको नाममा जघन्य अपराध गर्नेहरुलाई छुट दिन कसरी मिल्छ ? यो कहाँको न्याय हो ?

तराईमा आन्दोलन गर्ने कुनै नेताको कोही आफन्त मारिएका छैनन् । उनीहरु कसैले केही गुमाएका पनि छैनन् । गुमाएका हामीले छौं । हाम्रो त परिवार नै उजाड भएको छ । तर पनि हामीले सरकारसँग केही मागेका छैनौं । हामीले मागेको भनेको न्याय हो । जुन नमागि नै सरकारले दिनु पर्ने थियो । तर सरकार त उल्टै अपराधिलाई जोगाउन लागि परेको छ । टीकापुर घटनाका मुख्य अभियुक्तलाई प्रधानमन्त्रीले भेटेका छन् । गृहमन्त्री हत्यारालाई छुट दिनुपर्छ भन्दै हिँडेका छन् । त्यो घटनामा न प्रधानमन्त्री, न गृहमन्त्री न मधेसका नेताहरु कसैको कोही परेको छैन । उनीहरुलाई हाम्रो पीडा थाहा पनि छैन । महशुस गर्ने मन पनि छैन । उनीहरु त राजनीतिलाई बद्नाम गरिरहेका छन् । राजनीतिका नाममा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिरहेका छन् ।

मैले टीकापुर घटनामा संलग्न भएका मुख्य दोषी रेशमकुमार चौधरी हो । संलग्न भएका अन्यमा लाहुराम चौधरी, लक्ष्मण थारु लगायत छन् । सडक विभागको इञ्जिनियर भएर पनि धनीराम चौधरी खुलेआम हिँडिरहेको छ । धनिराम घटनाको मुख्य योजनाकार हो । घटनामा अन्य पनि संलग्न छन् । यीनीहरुलाई हदैसम्मको सजाय हुनुपर्छ भनेर मैले किटानी जाहेरी दिएकी छु । तर सरकारले आठ जना सुरक्षाकर्मीको हत्या गर्नेविरुद्धको मुद्धा फिर्ता लिने कुरा भइरहेको छ । जाहेरी दिने, अन्यायमा पर्ने हामी हौं । तर सरकारले आफूखुसीले एकलौटी ढंगबाट मुद्धा फिर्ता कसरी गर्दोरहेछ हामी पनि हेरिरहेका छौं ।

घटना भएपछि टीकापुर नै पुगेर छानविन भएको छ । त्यो छानविन आयोगको प्रतिवेदन अहिलेसम्म लुकाइएको छ । प्रतिवेदन सार्वजनिक गर्न पनि हामीले माग गरेका छौं ।

आन्दोलनमा हुलदंगा भयो भने, मान्छेले ढुंगा हानाहान गर्दा, भागदौडमा कुल्चिएर, एकातिर हान्दा अर्कोतिर लाग्दा वा अञ्जानवस भएको घटनालाई राजनीतिक रङ दिन पनि सकिएला । तर जानाजान बबरतापूर्ण ढंगबाट हत्या गर्नेहरुलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

(टीकापुर घटनामा वीरगति प्राप्त गरेका नेपाल प्रहरीका निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरासँग भएको कुराकानीमा आधारित) source:nepalaaja.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.