राजनीतिक इमान देखाएर हाँसेरै विदा भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ ९ । सत्ता छोड्नै नमान्ने नेपाली राजनीतिको परम्पराविपरित प्रधानमन्त्री प्रचण्डले भने सत्ता साझेदार दलसँगको सहमति अनुसार राजीनामा दिए ।

नेपाली कांग्रेसको समर्थन सरकारको नेतृत्व गर्दा भएको सहमतिलाई पालना गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका हुन । नेपाली कांग्रेस र माओवादीबीच अन्य राजनीतिक विषयका साथै नौ महिनामा सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो ।

नेपालको राजनीतिक इतिहासमा सकेसम्म सत्तामा नै बसिराख्ने, सत्ताबाट बाहिरिनुपर्दा मन अमिलो पार्ने, तीतो अनुभूति गर्ने र वितृष्णा व्यक्त गर्ने प्रवृत्ति देखिन्छ । आजसम्मका गठबन्धन सरकारमा सहमतिको भद्र पालना गरेर सन्तुष्टिपूर्वक सत्ता छोडेको उदाहरण भेटिंदैन । विगतमा नेपाली कांग्रेस र एमालेले एक आपसमा गरेका सहमति पालना नगरेपछि यसले ठूलो चर्चा समेत पाएको थियो ।

“राजनीतिमा इमान्दारिता आवश्यक हुन्छ, यो नभए राजनीति विकृत हुन्छ” प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका चक्रपाणी खनालले भने, “सत्तामा जुकोजस्तै टाँसिनु राजनीतिक चरित्र होइन, हामीले जे सहमति भएको, त्यसलाई पालना गरेर राजीनामा दिएर उदाहरण प्रस्तुत गरेका छौं ।”
प्रधानमन्त्री प्रचण्डले दोश्रो चरणको निर्वाचनको निर्वाचनको सुनिश्चितता गरेर सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न बाटो खुला गर्ने बताउँदै आएका थिए ।

खनाल भन्छन्, “हामीले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्यौं । नेपाली कांग्रेसले समेत साझेदार सहयात्रीकारुपमा उल्लेख्य सहयोग गरे । यो गठबन्धनभित्र कुनै विवाद भएन । यो पनि एउटा उदाहरण हो नेपाली राजनीतिमा” । खनालका अनुसार, अब नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको नेतृत्वमा बन्ने सरकारलाई समेत माओवादीले यही अनुसार सहयोग गर्ने छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि साझेदार दलका मन्त्रीहरुले समेत कुनै असहजता महसुस नगरेको खनाल बताउँछन् । “हामीबीच न्यूनतम सहमति भएको थियो, सोही अनुसार सबै मन्त्रीहरुले राम्रो काम गरे, कसैलाई पनि यो मेरो पार्टीको सरकार होइन, काम गर्न पाएन, प्रधानमन्त्रीले अप्ठ्यारो गरे भन्ने परेन ।” उनले भने ।

सहमतिमा गठबन्धनको सरकार बन्छ भने त्यो जसको सरकार बने पनि साझा सरकार भएको अनुभूति गर्नुपर्ने खनाल बताउँछन् । “नेतृत्व एउटाको होला, तर त्यो सहमतिको सरकार हो, त्यसैले त्यहाँ इमान्दारिता आवश्यक हुन्छ । जुन हामीले देखायौं ।” खनालले भने, “विगतमा यही इमान्दारिता एमालेले देखाउन सकेको भए त्यतिखेर हामीले समर्थन फिर्ता लिनुपर्ने थिएन ।”

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारमा माओवादी मन्त्रीहरुले बारम्बार काम गर्न नपाएको, बजेट काटिएको, भूमिका न्यूनिकरण गरेको भन्दै असन्तुष्टि प्रकट गर्दै आएका थिए । यता माओवादी केन्द्रले समेत पार्टीसँग यसअघि संविधान कार्यान्वयनलगायतका विषयमा भए गरेका सहमतिहरु प्रधानमन्त्रीले पालना गर्न नखोजेको, एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै पटकपटक सचेत पारेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दा उनलाई सरकार छोड्नु परेको पीडा देखिदैनथ्यो । सरकारले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको, संविधान कार्यान्वयनको महत्वपूर्ण खुडकिला पार गरेको र देशलाई निकास दिन लागेकोमा उनले गर्व व्यक्त गरेका थिए । त्यहाँ समर्थन नपाएको, सहयोग नपाएको, विपक्षी या सत्ता साझेदार दलबाट असहयोग भएको जस्ता कुनै आलोचनाका शब्द थिएनन् । बरु उनले मैले यहाँसम्म ल्याइपुर्याए, अब म विश्राम गर्छु, तिमी यहाँबाट अगाडि बढाऊ् भन्ने भावमा सम्बोधन गर्दै राजीनामा दिए । source:everestdainik.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.