काठमाडौं महानगरको मतगणना भइरहेको स्थल राष्ट्रिय सभागृह बाहिरको सडकमा बुधबार दिउँसो करिब दुई सय जना झुण्ड-झुण्ड भएर बसेका थिए । उनीहरुबीच हाँसो-ठट्टासहित रोचक चुनावी बहस चलिरहेको थियो ।
गफको ‘टपिक’ थिइन् रन्जु दर्शना । समूहभित्रबाट यस्ता गफ सुनिए ।
– ‘केटीले पारा ल्याई है, कांग्रेसको भोट खर्लप्पै काटी ।’ ‘कांग्रेसको मात्रै होइन, सबै पार्टीको काटेकी छे ।’ ‘यिनको त भोट माग्ने स्टाइल नै खत्रा रैछ नि । मैले एउटा पम्प्लेट भेटेको थिएँ । त्यहाँ एउटा फोन नम्बर दिएर यसमा मिसकल गर्नु भनेर लेखेको थियो । मैले त्यसमा मिसकल गरेँ । त्यसको भोलिपल्ट त मलाई रन्जु दर्शना आफैंले फोन गरेर भोट मागी ।
– ‘पोलिसी… पोलिसी… । त्यो बाठी रहिछे । भोट माग्ने पोलिसी त त्यस्तो पो हुनुपर्छ ।’ ‘२१ वर्षमै यस्ती छे, पछि त यसले तहल्का मच्चाउँछे । मेरो विचारमा ४० वर्षमा प्रधानमन्त्री पड्काउँछे ।’ ‘रुप पनि छ, ट्यालेन्ट पनि छे । केटी मान्छेलाई यी दुई कुरा भएपछि सक्किगो नि ।’ ‘यति राम्री केटीले फोन गरेर भोट मागेपछि कसले नदिने ? मैले त दिएँ ।’ ‘तर यत्री बच्चीलाई यत्रो मान्छेहरुलाई फोन गर्ने खर्च कहाँबाट आयो भन्नुस त ? पोष्टर पम्प्लेट नपुगेको कहाँ छ ? सानो उ गरेका छन् ? त्यो बच्चीको कुनै कमाइ धमाइ छैन । भर्खर पढ्दैछे । कहाँबाट ल्याई यत्रो पैसा ?’ ‘जे होस यो केटीले ठूलो चर्चा कमाई । काठमाडौंका जनताले पनि माया गरेर मत पनि हाले । २१ वर्षकी बच्ची मेयरमा उठेर यति भोट ल्याउनु चानचुने कुरा हो त ?’ ‘पञ्चायतकालमा पनि नानीमैया दाहालले नजितेको हो र ? अत्यधिक मतले जितेकै हो नि ।’ ‘नानीमैया र रन्जुमा धेरै फरक छ । अहिलेको रन्जु राजनीतिक रुपमा कन्सियस छे । गोविन्द केसीको आन्दोलनबाट हाइलाइटमा आएकी हो । भूकम्प जाँदाखेरि धेरै काम गरेकी थिई ।’ ‘यो केटीले राम्रो पोलिटिक्स गर्छे । भोलि गएर राजु थापाको ठाउँ यसले लिन्छे ।’ ‘राजु थापा होइन, उज्वल थापा भन्नुस् न ।’
(काठमाण्डौंको भोट गनिरहेको राष्ट्रिय सभागृह बाहिरको चुनाबी गफगाफ अनलाइनखबरबाट लिइएको हो )
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.