विवेकशीलसँग मिलेको भए नतिजा अझ दह्रो हुने रहेछः रवीन्द्र मिश्र

काठमाडौं महानगरपालिकाको निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई साझा पार्टी र विवेकशील नेपाली दलले कडा चुनौती दिइरहेका छन्। नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले यहाँ सुरुदेखि नै आफ्नो अग्रता कायम राखे पनि उनलाई साझा पार्टीका किशोर थापाले दोस्रो स्थानमा रहेर पछ्याउने क्रम जारी छ।

साढे दुई महिनाअघि मात्र दल घोषणा गरी औपचारिक दर्तासमेत नभएको साझा पार्टीका थापाले नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई समेत उछिन्दै आएका छन्।

बिबिसीको जागिरबाट राजीनामा दिएर राजनीतिमा हाम फालेका रवीन्द्र मिश्रले परम्परागत दलहरूको विकल्पका रूपमा गत फागुनमा साझा पार्टी खोलेका हुन्। त्यही पार्टीले आफ्नो पहिलो निर्वाचनमै प्राप्त गरिरहेको ‘उत्साहजनक’ मतलाई सबैले चासोका साथ हेरिरहेका छन्।

सोमबार राति मतगणना जारी रहँदा थापाले लगातार दोस्रो स्थानमा रहेर अग्रता पछ्याएपछि हामीले साझा पार्टीका संयोजक मिश्रसँग मतपरिणामबारे प्रतिक्रिया सोधेका थियौं।

‘हामी अहिले असाध्यै प्रारम्भिक चरणमा छौं, त्यसैले एकदमै बढी उत्साहित हुनु उचित नहोला,’ मिश्रले सोमबार मध्यरात टेलिफोनमा कुरा गर्दै सेतोपाटीसँग भने, ‘तर, अहिलेसम्मको नतिजाले नेपाली जनता सकारात्मक परिवर्तनका लागि साँच्चिकै कति व्यग्र रहेछन् भन्ने स्पष्ट भएको छ।’

मतगणनाको प्रारम्भिक नतिजामा साझा पार्टीले हासिल गरेको मतले आफू अत्यन्तै खुसी रहेको र यसले थप आशावादी बनाएको उनले बताए। ‘हामी अलि लामो समय अस्तित्वमा भइदिएको भए र काठमाडौं महानगरका टोल–टोल, वडा–वडासम्म पुग्न सकेको भए प्रस्टै रूपमा विजयी हुने रहेछौं,’ उनले भने।

पछिल्लो मतगणनाअनुसार काठमाडौं महानगरमा एमालेका शाक्यले १६१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेको साझा पार्टीका थापाले ११४ मत पाएका छन्। कांग्रेसका उम्मेदवार राजुराज जोशी १०१ मतसहित तेस्रो स्थानमा छन्। कांग्रेसलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले पछ्याइरहेकी छन्। उनले ७९ मत पाएकी छन्। यहाँ उपमेयरमा साझाले खडा गरेको निरुपमा यादवको पनि ८४ मत छ।

साझा दल घोषणा भएदेखि चुनावमा भाग लिँदासम्मको अवधि भनेको जम्मा साढे दुई महिना हो। त्यसमाथि पूर्वप्रशासक तथा सहरीविज्ञ थापालाई काठमाडौं महानगरको बागडोर सुम्पने गरी उम्मेदवारी घोषणा गरेको त एक महिना मात्र भयो। यति कम समयमै लामो समयदेखि राजनीतिमा रहँदै आएका प्रमुख दलका रैथाने उम्मेदवारहरूलाई कडा टक्कर दिन कत्तिको गाह्रो भयो?

यसबारे प्रश्न गर्दा साझाका संयोजक मिश्रले भने, ‘हामी यति छोटो समयमा पनि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा पुग्यौं। सामाजिक सञ्जालमा राम्ररी प्रस्तुत भयौं। मतदाताको घरदैलो अभियान र सामाजिक सञ्जालमा हामीले असाध्यै सकारात्मक प्रतिक्रिया पायौं। यसले हामीलाई निकै उत्साही बनाएको छ।’

चुनावी प्रचार क्रममा सफा टेम्पो चढेर घर–घर, टोल–टोल पुग्दा मतदाताबाट उत्साहजक स्वागत पाएको उनले बताए। मिश्रको टोली कयौं ठाउँमा स्थानीयकै निम्तोमा महानगरका विभिन्न टोल पुगेको थियो। थापा र उपमेयर उम्मेदवार यादवलाई डाकेर उनीहरूबाट सहरी विकासको भावी योजना सुन्न स्थानीय उत्सुक देखिएका थिए।

संयोजक मिश्र पनि साझा पार्टीप्रति स्थानीयले देखाएको उत्सुकताबाट अत्यन्तै उत्साही छन्।

‘चुनावी प्रचार क्रममा कयौं ठाउँमा हामीलाई स्थानीयहरूले नै आमन्त्रण गर्नुभयो, समय अभावले पुग्न बाँकी रहेका ठाउँहरू पनि थुप्रै रहे,’ उनले भने।

स्थानीयसँग अन्तर्क्रिया गर्दै भोट माग्दा सुरुमा थापालाई चिनाउन अलि अप्ठ्यारो नभएको होइन। पत्रकारका रूपमा मिश्र लोकप्रिय भए पनि शान्त स्वभावका थापालाई चिन्नेहरू कमै छन्। यहाँ मिश्रको अनुभव अलि फरक रह्यो। व्यक्तिगत रूपमा थापालाई नचिन्नेहरू पनि उनको कामसँग परिचित पाएको मिश्रले बताए।

‘सुरुसुरुमा उहाँ (किशोर थापा) लाई अलि कम चिनेको देखियो, तर पछि कुरा गर्दै जाँदा, आफ्नो अनुभव सुनाउँदै जाँदा राम्रैसँग चिनेको पाएँ,’ उनले भने, ‘सहरी विज्ञका रूपमा काठमाडौं महानगरपालिकामै रहेर उहाँले गरेको योगदान सुनेपछि त धेरै जना प्रभावित भए, त्यसपछि उहाँलाई आफ्नो योजना सुनाउन र मतदाताको विश्वास जित्न सजिलो भयो।’

काठमाडौं महानगरपालिकाको अहिलेसम्मको मतगणनाको नतिजाले साझा र विवकेशीलप्रति धेरैको चासो रहेको छर्लंग पार्छ। विवेकशील आफैं पनि कांग्रेससँग झिनो अन्तरले मात्र पछाडि छ। तेस्रो ठूलो दल माओवादीलाई त साझा र विवेकशील दुवैले फराकिलो अन्तरले पछाडि छाडेका छन्।

साझा पार्टी घोषणालगत्तै यी दुवै दलले स्थानीय निर्वाचनमा आपसी तालमेल गर्ने चर्चा थियो। यस सम्बन्धमा थुप्रै चरणका वार्तासमेत भएका थिए। दुवैलाई संयुक्त रूपमा चुनाव लड्न दबाब दिने समूहहरू पनि थिए। केहीले त लेख लेखेरै चुनावी तालमेल गर्न सुझाए। तर, यसपालि कुरा नमिलेपछि दुवै दल स्वतन्त्र रूपले चुनाव लडेका हुन्।

यही सन्दर्भमा हामीले मिश्रलाई सोध्यौं, ‘यो मतपरिणामले साझा र विवेकशीलबीच तालमेल हुनुपर्छ भन्ने धेरैको चासोलाई कसरी हेर्नुहुन्छ?’

यसमा मिश्रको जवाफ थियो, ‘हामीले आम नेपालीहरूले चाहेअनुसार मिलेर अगाडि बढ्न सकेको भए नतिजा आम रूपमा मानिसले अपेक्षा गरेजस्तै दरिलो हुने रहेछ। त्यो हुन नसक्दा हामी दुःखी छौं।’

‘हामी मिलेर अघि बढ्नु राम्रो हो भन्नेमा कुनै शंका छैन,’ उनले भने। source:setopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.