५ सय मतले जित्ने देवीको दाबी, रेणु भन्छिन्-म हजार भोटले जित्छु

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप रोचक बन्दै गएको छ ।

आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ ।

हालसम्म नेकपा एमालेका देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि छन् । उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह पाँच हजार हाराहारीले अगाडि छन्।

महानगरको २९ वडामध्ये एउटा वडाको गणना भइरहेको छ भने सातवटा वडाको गणना गर्न बाँकी छन् । गणना भएका २१ वटा वडामध्ये एमालेले ११, काँग्रेसले सात र माओवादी केन्द्रले तीनवटा वडा जितेका छन् ।

काँग्रेस र माओवादीबीच तालमेल भए पनि मतदाताले पार्टीको निर्देशनलाई पूरै पालना गरेको भने पाइँदैन ।

गणना भएको मतलाई हेर्दा सहरी क्षेत्रमा काँग्रेसले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई ३० देखि ५० प्रतिशत मत दिएको पाइन्छ भने ग्रामीण क्षेत्रमा ५० देखि ७० प्रतिशतसम्म मत दिएको देखिन्छ । तालमेलबाट रुष्ट करिब १० देखि १५ प्रतिशत काँग्रेस कार्यकर्ताले आफूलाई भोट दिएको एमालेका प्रमुख पदका उम्मेदवार ज्ञवालीको दाबी छ ।

उनको दाबीलाई सहायक मतदान अधिकृत गम्भीर घिमिरे मिल्दोजुल्दो नै मान्छन् । अधिकांश काँग्रेस मतदाताले रुखमा नै भोट हालेको, प्रमुख पदमा खाली छोडेको, राप्रपालगायतका अन्य साना दललाई भोट दिएको घिमिरेले बताए।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ पार्टीप्रति प्रतिबद्ध र इमान्दार कार्यकर्ताले गठबन्धनअनुसार नै मतदान गरेको बताउँछन् । प्रा डा सूर्यकान्त घिमिरे भने काँग्रेसका सचेत मतदाताको भोट गठबन्धनमा कम गएको विश्लेषण गर्छन्।

माओवादी केन्द्रका नेता नारायण दाहाल काँग्रेसभित्रको असन्तुष्टि साम्य हुन नसकेका कारण माओवादी केन्द्रका उम्मेदवारलाई कम मत परेको बताउँछन्।

मतगणनाको क्रम अन्त्यतिर पुग्नै लाग्दा पनि कसको जित हुन्छ भन्नसक्ने अवस्था छैन । गणना गर्न बाँकी वडा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । गणना गर्न बाँकी अधिकांश वडा चितवन क्षेत्र नं ४ मा पर्दछन् । जहाँबाट नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइराला भारी मतका साथ सभासद् भएका थिए।

ज्ञवाली पाँच सय मतले आफू जित्ने दाबी गरिरहँदा दाहाल एक हजार मतले जित्ने दाबी गर्छन्। यद्यपि दुबै पार्टीको भोटको आशा काँग्रेस भएकाले काँग्रेसले जसलाई बढी मत दिन्छ, उसैको जित निश्चित छ ।
अब गणना हुन बाँकी वडामा काँग्रेसको ६० प्रतिशतभन्दा बढी मत माओवादीले पाउन नसकेमा जित ज्ञवालीको हुने प्राध्यापक घिमिरेको अनुमान छ ।

अन्तिम परिणाम आउन अझै तीन दिन लाग्नसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.