चितवन,२८ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदेशीका अघिल्तिर लम्पसार पर्दा पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरी घाँउ नै घाँउ भएको टिप्पणी गरेका छन् । भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत्त चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने ‘राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाँटा परेका छन ।’ माओवादी कांग्रेस गठवन्धन तर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।
ओलीले भने चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि यही छन्, हजुरआमा भेट्न आउँदा टाडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाँडमा अझै सुम्लाका डाम छन् । ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नवस्न आग्रह गरे । माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय वर्वाद बनाएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन् त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’
सभामा एमाले महासचिव इश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरको उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए । एमाले अध्यक्ष ओली आजै पुर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीमा हुने जनसभामा सहाभागी हुने छन् । narayanionline

Post a Comment
Thanks.