चीनको ग्वान्जाउबाट नेपाल घुम्न आएकी छङ छिङ चुलाई नेपाली सारीले खुबै लोभ्यायो । नेपाली पहिरन देखेर मन थाप्न नसकेकी उनले यसै साता भक्तपुर घुम्न जाँदा भने रातो सारी लगाएर रमाउँदै फोटो सेसन गराइन्।
छिङ चुसँगै भक्तपुर पुगेकी स्याउ चुनले गुलाबी सारी रोजिन् भने छङ सुइनले बुट्टे सारी पहिरिएर फोटो खिचाइन् । उनीहरूसँगै रहेकी छिङ चु भने सारीमै सजिएर सेल्फी खिच्न मस्त थिइन्।
फूलको सहरका नामले चिनिने चिनियाँ सहरबाट नेपाल आएका उनीहरू भने भक्तपुर दरबार क्षेत्रमा पुतलीझैँ रमाउँदै थिए । ‘धेरै रमाइलो लागिरहेको छ,’ छङ सुइनले भनिन्, ‘जता हे¥यो उतै रमाइलो ।’ दुई साता अघि पहिलोपटक नेपाल आएकी उनले भक्तपुर निकै राम्रो भएको बताइन्।
चीनमा ‘सेल्स गर्ल’का रूपमा कार्यरत उनीहरूले भूपतिन्द्र मल्लको सालिकअगाडि उभिएर फोटो खिचे, टौमडीमा सेल्फी खिचे, नजिकैको पसलमा जुजु धौ चाखे र पाटीमा सुस्ताए । ‘हामीले दृश्य नियाल्दै दृश्य खिच्दै छौँ,’ क्वान चिङले भनिन्, ‘सबै सुन्दरतामा आफूलाई पनि कैद गर्न लागेका छौँ।’
चीनमा रहँदा कोट, पाइन्ट र भेस्ट लगाउने उनीहरूलाई नेपाल आएलगत्तै सारीले लोभ्याएको हो । ‘नेपालका महिलाले लगाउने सारीले हामीलाई लोभ्यायो,’ छङ छिङले थपिन्, ‘त्यही भएर हामीले यहाँका पुराना सहरमा सारी लगाएर घुम्न आएका हौँ ।’
चार जनाका लागि दैनिक एक हजार रुपैयाँ भाडा तिरेर सारी लिएको उनीहरूले सुनाए । ‘किन्ने भन्दा पनि भाडामा लिन सजिलो,’ उनले थपिन्, ‘फोटो खिचेपछि हामी यो फिर्ता गर्नेछौँ।’
सारी लगाएपछि नेपाली युवाले निकै चाख मानेर आफूहरूलाई नियालेको उनीहरूले बताए । सारी लगाए पनि नेपाली युवासँग बिहेबारी गर्ने सोच भने नआएको उनीहरूले बताए । ‘नेपाली युवा राम्रा लाग्छन्,’ छङ सुइनले हाँस्दै भनिन्, ‘तर, बिहे त चिनियाँ केटासँगै गर्छौं।’
पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो छ । भक्तपुरमा मात्र वार्षिक ६० हजार चिनियाँ पर्यटक आउने गरेको पर्यटक सूचना केन्द्रका मुरज दिदियाले बताए । ‘भारतीयभन्दा चिनियाँ पर्यटकको संख्या बढ्दो छ,’ उनले भने, ‘चिनियाँ युवा–युवतीको भीडले भक्तपुरको रौनक झनै बढेको छ ।’
पहिरन नेपाली, लगाउने विदेशी
उपत्यकामा विभिन्न क्षेत्रमा चिनियाँ मात्र होइन, अन्य मुलुकका पर्यटक पनि नेपाली पोसाकमा देखिन थालेका छन् । कोही सारीमा सजिएका भेटिन्छन् भने कोही ढाका–टोपी र दौरा सुरुवालमा ।
अस्ट्रेलियाली युवतीको नेपाली युवकसँग गत बिहीबार सम्पन्न वैवाहिक कार्यक्रममा सहभागी सोफी अमलाले नेपाली पहिरन राम्रो लागेको बताइन् । ‘बहिनीको बिहेमा सारी लगाएर आएकी हुँ,’ नीलो सारीमा सजिएकी सोफीले भनिन्, ‘सारी लगाउँदा निकै रमाइलो लागेको छ ।’ जीवनमा पहिलोपटक उनले यस्तो कपडा लगाएकी हुन् । सारी लगाउँदा सबैले चासोका साथ नियालेको उनले बताइन् । सबैले आफैँलाई हेर्दा आफू साँच्चै राम्री भएजस्तो लागेको उनले सुनाइन्।
सोही कार्यक्रममा सहभागी हुन रातो सारीमा सजिएकी म्याडी कोनलीलाई पनि धेरैले आफूलाई हेरेको महसुस भयो । ‘यो लगाउँदा आफूलाई फरक पाएकी छु,’ उनले भनिन् , ‘नेपालीले चासोका साथ नियालेको पाएँ।’ nagariknews
The post चीनको ग्वान्जाउबाट नेपाल घुम्न आएका चिनियाँ युवतीको सारी मोह appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.