ममी बाइ..’ भन्दै स्कूल हिडेका कुन्दनको ‘हत्या’,परिवारमा अझै आँशु नै आँशु

स्कुल विदाको मौकामा १४ वर्षिय कुन्दन थापा मगर आफ्नी दिदीको घर जाने तयारी गर्दै थिए ।बिहानै दिदीलाई फोन गरे र भने,‘म आज उतै खाना खान आउछु ।’ भर्खर परिक्षा सकिएकाले बिदा पनि अलि लामै थियो ।परिक्षाको नतिजाको पर्खाइमा रहेका उनी दिदिको घर जान पाउने खुसीले फुरुङ्ग थिए । सामाखुसी रानीबारीस्थित दिदिको घरमा जाने बेला ‘वाई ममी’ भन्दै घरबाट निस्किएका कुन्दन न त दिदीको घर पुगे न त आफ्नो घर फर्केर नै आए ।

दिउसो करिब २ बजेको थियो स्कुलकी ईन्चार्ज शर्मिला गुरुङ्गले कुन्दनकै मोबाइलबाट आमा गौमतिलाई फोन गरिन्, ‘तपाईको छोरा नेपाल प्रहरी अस्पताल महाराजगंजमा छ, छिटो आउनुस् ।’ यस्तो अवाजपछि छोराको प्रतिक्षामा बसेकी आमाको होसहवास् नै उढ्यो ।

नेपाल प्रहरी बिद्यालय समाखुशीमा कक्षा ८ मा अध्ययनरत कुन्दन एकाएक अस्पतालमा रहेको खबरपछि उनका आमा बुवा तथा आफन्तहरुले भिषण अनिश्चय लख काटे ।घरबाट खुसी हुँदै बाहिरिएको छोरा कसरी अस्पताल पुग्यो भन्ने प्रश्नले आमाको मन झस्किएको थियो । छोराको अवस्था बुझ्नका लागि हतार हतार गर्दै थापा दम्पती नेपाल प्रहरी अस्पताल पुगे । तर, प्रहरीले गेटमै रोक्यो ।

‘मेरो बाबुलाई के भयो ? ल्पीज… मलाई एकपटक भेट्न दिनुस् न’ भन्दै गौमतीले हारगुहार गरिन् । केही बेर पछि उनलाई भित्र जान दिइयो । भित्र रगताम्य अवस्थामा छोराको मृत शरिर लडिरहेको थियो । एउटी आमाको लागि भन्दा ठूलो चित्कार के हुन सक्थ्यो र ! गौमती त्यही बेहोस भइन् ।

बुढेसकालमा जन्मेको एउटै छोरा थिए कुन्दन । ‘ममी बाइ…’ भन्दै केही समयअघि बाहिरिएको छोरालाई एकाएक रगतको आहालमा मृत अवस्थामा देखेपछि कुन आमाले सहन सक्छे र ? अस्पतालमै रुवाबासी चल्न थाल्यो ।
‘तपाईंको छोराले स्कुलको ३ तलामाथिबाट हाम फालेर आत्महत्या ग¥यो,’ स्कुलकी ईन्चार्ज शर्मिला गुरुङ्गले भन्दै थिइन् । तर, मृतक कुन्दनका आफन्तहरु शर्मिलाको कुरा पत्यार लागेन । ‘ मेरो छोराले कसरी आत्महत्या गर्न सक्छ ?,’ बेहोसीमै गौमती चिच्यान्,‘घरबाट खुसी हुँदै निस्केको बच्चालाई आत्महत्या गर्न कसले प्रेरित गर्‍यो ?’

स्कुल ईन्चार्ज शर्मिलासँग गौमतीले थुप्रै सवालहरु उठाइन् । तर, उत्तर भने रहस्यको गर्भमै छ ।छोराको आत्महत्या हो या हत्या ? भन्ने प्रश्नको जवाफमा अस्पतालको पोष्टमार्टम रिपोर्टले समेत केही खुलाउन सकेन । पोस्टमार्टम रिर्पोटमा ‘तीन तला माथिबाट खसेर मृत्यु भएको’ भनिएको छ । तर आफ्नो छोराले आत्महत्या गर्न नसक्ने ठोकुवा गर्दै ‘यो हत्या नै भएको’ दाबी परिवारले गरिरहेको छ ।
००००
कसरी भयो घटना ?

गोंगवु–६, शिव मन्दिरका स्थानीय बासिन्दा भरत थापा र गौमति पुनका एक्ला छोरा कुन्दन पढाइमा अब्बल थिए । एक्लो छोरा भएकाले पनि छोराको ईच्छा चाहनामा बावुआमाले कुनै कमी राखेका थिएनन् ।

सानै देखि निडर र फुर्तिलो स्वभावका कुन्दनलाई राम्रो शिक्षा दिक्षा दिएर ठूलो र असल मान्छे बनाउने बाबु आमाको तीब्र चाहना थियो । काठमाडौँका नाम चलेका स्कुल मध्येको ‘नेपाल प्रहरी बिद्यालय’मा छोरालाई पढाउन पाउँदा उनीहरु खुसी थिए । छोराले पनि राम्रै पढेको थियो । ७ कक्षा पास गरेर ८ कक्षामा भर्ना गर्नका लागि परिवारको तयारी हुँदै थियो ।

केही दिन पहिले स्कुलकै समकक्षी प्रमिशा अधिकारीसँग कुन्दनको झगडा भएको थियो । ०७३ चैत १६ गते बिहान दिदिको घरमा खाना खान हिँडेका कुन्दनलाई बाटैमा स्कुलकी इन्चार्ज शर्मिला गुरुङ्गले फोन गरिन् र छलफल भएकाले स्कुल आउन आग्रह गरिन् । कुन्दन दिदिको घर नगई सिधै स्कुलतिर हानिए ।

प्रमिशा अधिकरीका बुवा बाबुराम अधिकारी छोरीसँग झगडा गर्ने कुन्दनलाई भेट्नका लागि नेपाल प्रहरी बिद्यालय रानीबारी पुगिसकेका थिए । बाबुराम अधिकारी पूर्वडिएसपी हुन् । स्कुल पुगेको केहि छिन पछि कुन्दनलाई ईन्चार्ज गुरुङ्गले कार्यालयको एउटा कोठा भित्र लगिन् ।
धेरैबेर पछि तीन जना व्यक्तिले पछाडिको गेट हुँदै कपडाले छोपेको अवस्थामा झुण्ड्याउदै कसैलाई लैजाँदै गरेको छिमेकीले देखेका थिए । ‘यो के बोकेर ल्याएको भन्दा चोर समातेर ल्याएको’ भन्दै ट्याक्सीमा हालेर बाहिर लगेको प्रत्यक्षदर्शीको भनाई छ ।

‘कार्यालयको कोठाकोे भित्तामा लतपतिएको रगत, ईन्चार्ज गुरुङ्गका हातमा कुन्दनको मोवाईल, कार्यालय भित्रै जुत्ता हुनुले’ यो घटना रहस्यमयी छ । यता आमा गौमती पुनको भने आफ्नो छोराको ‘हत्या नै भएको,’ दाबी छ ।

‘मेरो छोरालाई कुटेर मारे, आफु निर्दोष बन्नका लागि उसले आत्महत्या गरेको प्रचार गरियो’ गौमतीले भनिन्,‘यो हत्या नै भएको हो मेरो छोराले आत्महत्या गर्न सक्दैन । यो घटनाको न्यायीक र निश्पक्ष छानबिन होस् ।’

त्यसो त, कुन्दनले हाम फालेर आत्महत्या नै गरेको भएपनि उनी खसेको ठाउँमा रगत हुनुपर्ने हो । तर, उनी खसेको ठाउँमा रगत छैन कोठा भित्रको भित्तामा भने रगत लत्पतिएको छ । ‘यो भित्तामा के को रगत हो,’ भन्ने प्रश्नमा ईन्चार्ज शर्मिलाको जवाफ थियो,‘पान खाएर थुकिएको हो ।’ तर, मृतकका आफन्तले यस्तो जवाफलाई जालसाँझीको रुपमा बुझेका छन् ।

परिवारको उपस्थिति बिना शव उठाएर अस्पताल पुर्‍याइएको प्रति परिवारको तीब्र असन्तुष्ट रहँदै आएको छ । नातामा कुन्दनका दाजु पर्ने सर्जित थापा पनि कुन्दनको आत्महत्या स्वीकार्न तयार छैनन् । ‘प्रहरी प्रशासन नै आत्महत्याको प्रपन्च रचेर यो घटनालाई दबाउन तिर लागेको छ’, उनको प्रश्न थियो,‘हामीलाई न्याय कसले दिन्छ ?’

यता महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बम बहादुर भण्डारीले पोष्टमार्टम रिपोर्टका आधारमा यो आत्महत्या नै भएको दाबी गरेका छन् । तर स्कुलकै हाता भित्र यो घटना भएकाले स्कुलले यसको जिम्मा लिनु पर्ने उनको भनाई छ । इन्चार्ज शर्मिला गरुङ्गलाई पक्राउ गरि छनबिन गरिने र पीडितलाई न्याय दिनका लागि कुनै कसुर बाँकी नराखिने उनले बताए ।

तर प्रहरीको आश्वासनले आफुहरु ढुक्क हुन नसकेको र प्रहरीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै पीडित परिवारले आन्दोलनका कार्यक्रम नै अघि सारेको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने देखि सिंहदरबार घेराउ गर्दा समेत कसैले सुनुवाई नगरेको कुन्दनका बुवा भरत थापाले दुखेसो पोखे । ‘हामीले छोरा पनि गुमायौ, त्यसमाथि हामीलाई कसैले न्याय दिएन’,–छोराको आकस्मिक मृत्युले बिक्षिप्त बनेका उनी आफुहरुले न्याय पाउनेमा शंका व्यक्त गर्छन् ।

कुन्दनको हत्या हो या आत्महत्या, यो रहस्यकै गर्भमा छ । तर, कुन्दनले आत्म हत्या नै गरेको भए पनि यसको यथेस्ट प्रमाणहरु प्रशासनले जुटाउन नसकेको परिबारको आरोप छ ।

भित्तामा लतपतिएको रगतलाई पान खाएर थुकेको भनि गलत जवाफ दिएर घटनालाई अझै रहस्यमय बनाएको भन्दै पीडितले आक्रोश व्यक्त गरेका छन् ।

एउटा १४ वर्षको नावालकलाई स्कुलमा एक्लै बोलाएर छानबिन गर्नु स्कुल प्रशासनको गैर जिम्मेवारी भएको उनीहरुको ठहर छ । ‘परिवारलाई जानकारी नै नगराई बिद्यार्थीलाई बिदाको समयमा स्कुलमा बोलाएर कार्वाही गर्नु गलत थियो’ । कुन्दनकी सानीआमाले आक्रोश पोखिन् ।

यो घटनाका बारेमा चित्त बुझ्दो जवाफ नआए आफुहरु थप आन्दोलनमा उत्रने पीडित परिवारले चेतावनी दिएका छन् । यसैबीच उनीहरुले घटनाको निष्पक्ष छनवीन र क्षतिपूर्तिको माग सहित बैसाख ५ गते जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता समेत गराएका छन् ।

पीडित परिवारले स्कुल प्रशासन, संयम बाबुराम अधिकारी (पूर्वडिएपी) र प्रहरी प्रशासन संग वार्ता गरी एउटा निश्कर्षमा पुग्ने जनाएका छन् । तर नेपाल प्रहरी बिद्यालयकी ईन्चार्ज शर्मिला गुरुङ्ग यतीबेला सम्पर्क बाहिर छिन् ।

घटना भएको ३ दिनमै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जनाईएको छ । उता बाबुराम अधिकारी पनि सम्पर्कमा आउन चाहादैनन् । यसकारण पनि प्रहरी नै प्रमाण नष्ट गर्न तिर लागेको परिवारको आरोप छ ।

The post ममी बाइ..’ भन्दै स्कूल हिडेका कुन्दनको ‘हत्या’,परिवारमा अझै आँशु नै आँशु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.