यती सानो उमेर मा सबिनाले जन्मदिइन ७ सन्तान ….

ज्यामिरे (तेह्रथुम) — भर्खर २७ वर्ष लाग्दै गरेकी छथर गाउँपालिका ३ ज्यामिरेकी सबिना लिम्बूले ७ सन्तान जन्माइसकेकी छन् । उनको पहिलो सन्तान ८ वर्षको मात्र भयो । त्यसयता लिम्बूले बर्सेनि ६ सन्तानलाई जन्माइन् । २ जनाको भने मृत्यु भइसक्यो ।
तेह्रथुम छथर ३ ज्यामिरेकी २७ वर्षीया सबिना लिम्बू सन्तानका साथ ।

सोही गाउँकी पेक्चीमाया लिम्बू अहिले ४२ वर्षकी भइन् । यो उमेरमा उनले १७ सन्तानलाई जन्म दिएकी छन् । कलिलै उमेरमा धनकुटाको चौबीसे क्षेत्रबाट विवाह गरेर आएकी उनले निरन्तर सन्तान जन्माइरहिन् । जन्मिएका १७ मध्ये ७ जनाको बाल्यावस्थामै मृत्यु भयो । बर्सेनिका १० छोराछोरी भने जीवितै छन् । बर्सेनि सन्तान जन्माउँदा उनको शरीर कमजोर भएको छ । सुत्केरीमा पनि उनले मीठो मसिनो र पोसिलो खानेकुरा खान पाइनन् ।
सोही गाउँकी ४० वर्षीया विन्दुमाया लिम्बूले पनि ७ छोराछोरी जन्माइसकिन् । उनले जन्माएका सबै सन्तान बर्सेनिका हुन् । उचित खानपान, हेरचाह र स्याहार नपुग्दा सबै बालबालिका लुलालंगडाजस्ता देखिन्छन् । अरूकोमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका गाउँका २३ घर लिम्बू सबैमा सन्तान उत्पादन दर अत्यधिक रहेको स्थानीय अगुवा इन्द्रसागर लिम्बूले बताए ।

‘गरिबीले सबैका घरमा बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ,’ सोही समुदायबाट असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित इन्द्रकुमारी लिम्बूले भनिन्, ‘गाउँका सबैजसो महिला पुरुषमा प्रजनन स्वास्थ्य, परिवार नियोजनका अस्थायी तथा स्थायी साधनबारे जानकारी नै छैन ।’ यहाँका दम्पतीमा ‘भगवान्ले जति दिए पनि थाप्नुपर्छ’ भन्ने अन्धविश्वास रहेको युवा इन्द्रकुमारीले बताइन् ।

१८ वर्षको उमेरमा ०५० सालमा विवाह गरेकी पेक्चीमायाले धेरैजसो सन्तान खेतबारीमा काम गर्दा, ढुंगा बोक्दा र घाँसदाउरामा जाँदा जन्माएको सुनाइन् । ‘एउटा त अर्काको खेतमा धान रोप्दै गर्दा जन्मियो,’ पेक्चीमायाले भनिन्, ‘महिनै नपुगी जम्मिएको रहेछ, मरिहाल्यो, त्यही खेतकोहिलामा गाडिदिएँ ।’
महिना नपुगी जन्मिएका धेरै सन्तान छिट्टै बित्ने गरेको उनले बताइन् । उनको पछिल्लो सन्तान ५ वर्षको भयो । त्यसयता पनि पटकपटक गर्भधारण गरेकी उनले पछिल्लोपटक केही पर गाउँकी एक महिलाको सल्लाहमा धनकुटा हिलेस्थित मेरी स्टोप सेन्टर गएर गर्भपतन गराइन् । ‘गर्भपतन गराएका बच्चा जुम्ल्याहा पनि थिए,’ पेक्चीमायाले भनिन्, ‘१७ सन्तानमध्ये ती दुईको त मैले हिसाबै गरेको छुइन ।’
६ महिना पुगेकाको गर्भपतन गराएपछि मेरी स्टोप सेन्टरमै स्वास्थ्यकर्मीले परिवार नियोजनको अस्थायी साधन कपरटी राखेर पठाएको उनले बताइन् । परिवार नियोजनका साधनबारे थाहा नपाउँदा धेरै जन्माउनुपरेको उनले दुखेसो पोखिन् ।

अरूकामा ज्यालामजदुरी गरेर बिहानबेलुकाको छाक टार्ने गाउँका अधिकांश दम्पतीका धेरै सन्तान छन् । यही कारण उनीहरूले कहिल्यै मीठोमसिनो खुवाउन, राम्रा लुगाकपडा लगाइदिन र शिक्षा दिन सकेका छैनन् । परिवार नियोजन र अस्थायी साधनबारे थाहा नपाउँदा धेरै बच्चा जन्मिएको भन्दै उनीहरू अहिले पछुताउन थालेका छन् । त्यसो त ज्यामिरे गाउँमा पढेलेखेका कोही पनि छैनन् ।

अहिलेसम्म गाउँबाट एकै जनाले एसएलसीसम्म नपढेको अगुवा इन्द्रसागरले बताए । अघिल्लो पुस्ताकी गाउँकी वृद्धा इन्द्रमायाले पनि उमेर छँदा १८ सन्तानलाई जन्म दिएकी थिइन् । उनका १८ सन्तानमध्ये अहिले ६ जना मात्र जीवित छन् । हजुरबुबा, हजुरआमा पुस्तादेखि नाति, नातिनीबुहारी पुस्तासम्म आइपुग्दा पनि महिलापुरुषमा परिवार नियोजनाबारे खासै जानकारी छैन ।

गाउँका सबैजसोमा ‘परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ’ भन्ने मान्यता अझै नहटेको इन्द्रसागरले बताए । ‘सन्तान भगवान्ले दिने हुन्, दिएजति हात थाप्नुपर्छ’ भन्ने अन्धविश्वास अझै हट्न सकेको छैन । पछिल्लो पुस्ताका एकदुई बुहारीले मात्र परिवार नियोजनका साधन प्रयोग गरेको हुन सक्ने वडा सदस्य इन्द्रकुमारीले सुनाइन् । kantipurdaily

The post यती सानो उमेर मा सबिनाले जन्मदिइन ७ सन्तान …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.