जब विवाहमा निश्चलको जुत्ता हराएपछि उनले ३० हजार रुपैँया दिनु पर्यो..

भगवानमा विश्वास गर्नेहरु भन्छन्, मानिसको जोडी भगवानले नै जुराएर पठाउँछन् । कसलाई कस्तो जोडी जुराउने उनैले निर्णय गर्छन् । त्यस विपरीत जान खोज्नेहरु मायाको सट्टा पल पल पिडाले तड्पीन पुग्छन् । जीवनको तीन दशक पार गरिसकेका सेलिब्रेटी निर्देशक निश्चल बस्नेत जोडीको ममलामा भाग्यमानी छन् । किनकी उनलाई भगवानले जुराएर पठाइदिएजस्तै जीवन साथी मिलेको छ ।नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउन सफल निर्देशक निश्चल बहुप्रतिभाशाली व्यक्तित्व हुन् । पढेर, बुझेर चलचित्र क्षेत्रमा आएका जुझारु युवा हुन् । उनी गाउँछन्, नाच्छन्, अभिनय गर्छन्, कथा लेख्छन् र आफ्नै निर्देशनमा अब्बल चलचित्र दर्शकमाझ प्रस्तुत गर्न सक्छन् । त्यसैले उनीसँग दर्शकले बढी अपेक्षा गर्दै आएका छन् । त्यो अपेक्षा पुरा गर्न निश्चल दिनरात लागि परिरहेका छन् ।

यस्ता, व्यक्तित्वसँग आर्कषीत नहुने मानिस सायदै होलान् । स्वस्तिमा पनि त्यीनै मध्येको एक हुन् जसले निश्चललाई आफ्नो श्रीमान्को रुपमा पाईन् । स्वस्तिमा निश्चलको काम बारे त पहिल्यै जानकार थिइन् । अन्र्तवार्ताहरु हेर्दा उनलाई निश्चल झन् राम्रो मान्छे लाग्थ्यो । किनकी उनी चलचित्र क्षेत्रमै संघर्ष गरिरहेकी युवति थिइन् । चलचित्रमा म्युजिक भिडियोमा नायिकाको रुपमा देखिसकेकी थिइन् ।

एउटै क्षेत्रमा क्रियाशील रहेकाले एक अर्कालाई बुझ्न दुबैलाई सजिलो भयो । भतिजीमार्फत प्रत्यक्ष भेट भएकी स्वस्तिमा, निश्चललाई झनै राम्रो लाग्न थाल्यो । हाई, हल्लोमा सिमित सम्पर्कमा माया मिसियो । छरितो तन, सफा मन भएकी स्वस्तिमा र प्रतिभाका धनी निश्चल, दुबैको मनमा मायाको अँकुर पलायो । छ महिना पुरा नहुँदै उनीहरुको प्रेम, विवाहमा परिणत भयो ।

राष्ट्रिय दाजु र भाउजुको रुपमा चर्चामा आएको यो जोडी अभिनित चलचित्र ‘दुई रुपैँया’को ‘कुटुमा कुटु’ बोलको गीत अहिले लोकप्रियताको शिखरमा छ । चर्चामा रहेको चलचित्र ‘छक्का पञ्जा २’ ले पनि स्वस्तिमाको उचाई अग्ल्याउने छ । यसको मतलब विवाह पछि उनीहरुलाई काम गर्न झनै सजिलो भएको छ । उचाई लिइसकेका निर्देशकको साथले स्वस्तिमालाई पनि गतिलै फाइदा पुगिरहेको छ । यता, निश्चललाई स्वस्तिमाको माया, रेखदेख र ख्यालले अझै उर्जा मिलीरहेको छ ।

निश्चल स्वस्तिमाको पहिलो भेट
निश्चल र स्वस्तिमाको पहिलो भेट एउटा रेस्टुरेन्टमा भएको थियो । उनीहरुको पहिलो भेट गर्ने वातावरण निश्चलको भतिजीले मिलाएकी थिईन् । भतिजीले भेट्नको लागि आग्रह गर्दा निश्चलको मनमा के कुरा गर्ने ? भन्ने दुविधा बढिरहेको थियो । त्यसो त निश्चल र स्वस्तिमा भेट हुनु भन्दा पहिला नै एक अर्कालाई चिन्थे । औपचारीक कुराकानीहरु गर्थे ।

यद्यपी, उनीहरु दुई जनालाई भेटाउनको लागि निश्चलको भतिजीले स्वस्तिमाको बारेमा धेरै कुराहरु सुनाउँथीन् । एकदमै राम्री छिन्, स्वीट छिन्, काममा सिरियस हुन्छिन् भन्दै स्वस्तिमाको प्रशंसा गर्थिन् । भतिजीले गरेको प्रशंसा सुनेर निश्चललाई पनि स्वस्तिमा भेट्ने चाहना पलायो । उनको बारेमा अझै धेरै कुरा बुझ्ने कौतुहलता बढ्यो । जब उनी तयार भए स्वस्तिमासँग भेट्ने ठाउँ र समयको टुङ्गो लाग्यो ।

निश्चलसँग भेट्ने कुरा हुँदै गर्दा स्वस्तिमाले एकैपटकमा हुन्छ भनिन् । तर, पछि भने उनलाई लाग्यो बिना हिच्कीचाहट भेट्ने प्रस्ताव स्विकार गर्दा नराम्रो पो सोच्ने हो की ? यद्यपी, उनले निश्चललाई बुझेकी थिइन् । भेटले उनीहरुको औपचारीक सम्बन्धलाई मायामा बाँध्दै लग्यो । जसले म्यासेजमार्फत माया प्रिति र भविष्यबारे विचारहरु आदानप्रदान हुन थाल्यो ।

जुन बेलामा निश्चल र स्वस्तिमा प्रेममा थिए । निश्चलको घरबाट विवाहको लागि दबाब आउन थाल्यो । जता गएपनि बिहे कै कुरा चल्न थालेपछि उनले आफन्तहरुकोमा जान समेत कम गरिरहेका थिए । घरमा आफ्नो माया प्रेमलाई बताउन नसकिरहेका उनीहरुले मिडिया समेत गोप्य राखिरहेका थिए । तर, उनीहरुले स्वीकार नगरेपनि कतिपय मिडियाले उनीहरुको प्रेम सम्बन्धको सुईँको पाइसकेका थिए ।

विवाहको पनि सेतु बनिन् भतिजी
एकातिर विवाहको लागि परिवारको दबाब र अर्को तर्फ मायालु भेटिसकेको अवस्थामा पनि निश्चलले घरमा यसबारेमा बताउन सकिरहेका थिएनन् । यो समयमा उनकै भतिजीले निकै महत्वपूर्ण भूमिका खेलिन् । उनले निश्चल र स्वस्तिमा दुबैको घरमा उनीहरुको प्रेमको बारे खुलासा गरिन् । विवाहको कुरा चलिरहेको समयमा केटीको कुरा आएपछि बिहेको कुरा झनै चर्किएर गयो । निश्चल स्वस्तिमाको घर गए । त्यो बेलाको सम्झना सुनाउँदै भन्छन्, ‘केटीको बुवाआमाले के सोध्ने हुन्, मलाई कस्तो ठान्ने हुन् भन्ने सोचहरु आइरहेको थियो । स्वस्तिमासँग बोल्दा त लाज मान्ने मेरो बोली फुट्न साह्रै मुश्किल परेको थियो ।’

चुप बसेर त नहुने नै थियो । निश्चल लाजले रातोपिरो भए र भने, ‘स्वस्तिमालाई राम्रोसँग राख्छु, सोचेकोे कुराहरु गर्न दिन्छु ।’ छोरीले मन पराएको भनेजस्तै ज्वाई पाउँदा नाइनास्ती गर्ने कुरै थिएन । उमेर भिन्नतालाई बिर्सीएर स्वस्तिमाका बुवाआमाले छोरीको भविष्य र खुशी हेरे । छोरी दिने वचन गरे ।

सुटिङजस्तै लाग्यो विवाह
बिहेको दिन, दौरा सुरुवालमा हल्का मेकअप गरेर बिहेमा जाँदा निश्चल एकदमै उत्साहित थिए । सबैजना गाडीको सिँगारपटार गर्न लागेको बेलामा उनी बजिरहेको बाजाको तालमा गज्जबले नाचे । जब निश्चल बेहुला बनेर बिवाह गर्ने पार्टी प्यालेसमा पुगे, एकदमै गमक्क परेका थिए भने रमाईलो पनि मानिरहेका थिए ।

उता स्वस्तिमालाई भने बिवाहको दिन सुटिङ गरेको जस्तो अनुभव भईरह्यो । बिवाहको दिन बिहानै उनलाई मेकअप गर्नको लागि एकजना आए । पार्टी प्यालेसमा जानेबित्तिकै पनि पत्रकारहरुको टन्नै उपस्थिती थियो । त्यहाँ उनको फोटोसुट भयो केहि पत्रकारहरु अन्तर्वार्ताको लागि पनि आएका थिए । सबै मानिसहरु चलचित्र क्षेत्रबाट नै भएकोले पनि उनलाई विवाह, विवाह नभई सुटिङजस्तो लागिरहेको थियो ।

विवाहमा जुत्ता भेटियो, ३० हजार हरायो
विवाहमा निश्चलको जुत्ता हरायो । परम्परा अनुसार विवाहमा सालीले जुत्ता लुकाउने गर्छन् । उनको पनि हरायो । स्वस्तिमाका साथीहरुले नै निश्चलको जुत्ता लुकाईदिएका थिए । जुत्ता फिर्ता लिनका लागि उनले ३० हजार रुपैँया दिनु पर्यो ।

विवाह दिनभरी राम्रैसँग सम्पन्न भयो । तर बेहुली अन्माउने बेलामा स्वस्तिमालाई नरमाइलो लाग्यो । मन पराएकै मान्छे पाउँदा पनि उनको आँखामा आँशु टिल्पीलाईरहेका थिए । आफ्नो घर परिवार छोडेर त जानु नै थियो । उनी गाडीमा गएर बसिसकेका निश्चलको छेउमै गएर बसिन् । तर, केहि बोलेनन् निश्चल । उनलाई यस्तो बेलामा आफुले नरोउ भनी सम्झाउन खोज्नु उचित हैन जस्तो लागेको रहेछ । धेरैवटा बिहेहरु हेरेका र धेरै फिल्महरुमा बिहेको सिनहरु देखेका उनलाई त्यो समय आफु केहि बोल्नु उचित लागेन । जब उनले स्वस्तिमाको आमा बुवाको आँखामा पनि आँशु देखे तब निश्चल आफैँ भावुक बने ।

ठुस्का ठुस्कीलाई जितेको माया
निश्चलले देखाएको सकारात्मक बानी ब्यबहारले स्वस्तिमालाई बिहेको लागि आफु सानै छु भन्ने कहिल्यै लागेन । निश्चलमाथी स्वस्तिमालाई यति धेरै भरोसा थियो कि उनले भुलिदिईन् निश्चलको उमेर र उनको चुरोट पिउने बानी, जुन उनी आजको दिनसम्म पनि सुधार्न चाहन्छिन् ।

दुवैजना एउटै क्षेत्रमा भएको कारणले उनीहरुले एक अर्काको कामलाई राम्ररी बुझेका छन् र सम्मान पनि गर्छन् । जसको कारणले उनीहरुबीच अहिलेसम्म कामको बिषयलाई लिएर कहिल्यै पनि विवादहरु भएको छैन । एकले अर्कोको कामको बिषयमा छलफल गर्दा उनीहरुले गर्ने कामलाई पनि धेरैले रुचाएका छन् । कहिले काँही ठुस्का ठुस्की भएपनि उनीहरुबीच एउटा यस्तो किसिमको माया छ, जसले गर्दा उनीहरु धेरै समय टाढा रहनै सक्दैनन् । कुनै कामको कारणले कोहि बाहिर गयो भने पनि उनीहरु फोनमार्फत लगातार सम्पर्कमै रहिरहन्छन् । Gazzabkoonline

The post जब विवाहमा निश्चलको जुत्ता हराएपछि उनले ३० हजार रुपैँया दिनु पर्यो.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.