म्याद नसकिदै दिन थाले म्यादी प्रहरीले राजीनामा

काठमाडौं : सरकारले अवधि थप गर्ने तयारी गरिरहेका बेला म्यादी प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् । प्रहरी प्रधान कार्यलयका अनुसार मंगलबारसम्म काठमाडौं उपत्यकाबाहिर मात्र ४ हजार ६ सय ४८ जना म्यादी प्रहरीले राजीनामा दिइसकेका छन् ।काठमाडौं उपत्यकाभित्र पनि पाँच सयभन्दा बढीले राजीनामा दिएका छन् । सरकारले स्थानीय तहको निर्वाचन दृष्टिगत गरी ७५ हजार म्यादी प्रहरी ५५ दिनका लागि नियुक्त गरेको थियो । तर, स्थानीय निर्वाचन दुई चरणमा हुने भएपछि उनीहरूको म्याद २० दिन थपिएको थियो ।

थपिएको समय पनि अपर्याप्त हुने भएपछि सरकार पुनः म्याद थप्ने तयारीमा छ । म्यादीलाई नियुक्ति दिइएको ५५ दिनको अवधि जेठ १६ गते नै सकिएको थियो । अवधि सकिएलगत्तै राजीनामा दिनेको लहर चलेको हो । राजीनामा दिनेमध्ये सबैभन्दा बढी मध्यपश्चिम क्षेत्रका छन् । यो क्षेत्रबाट दुई हजार ९३ जनाले राजीनामा दिएका छन् । मध्यमाञ्चल क्षेत्रबाट १९ सय एक जनाले, पूर्वाञ्चल क्षेत्रबाट तीन जनाले, पश्चिमाञ्चल क्षेत्रबाट ६ सय ४६ जनाले र सुदूरपश्चिमाञ्चलबाट पाँच जनाले राजीनामा दिएका छन् ।

स्रोतका अनुसार घरायसी र व्यक्तिगत कारण देखाएर उनीहरूले राजीनामा बुझाएका छन् । पहाडी र हिमाली क्षेत्रका लागि भर्ना गरिएका म्यादी दोस्रो चरणमा तराईमा खटाउने तयारी गरिएपछि राजीनामा आएको हुन सक्ने प्रहरीको केन्द्रीय निर्वाचन सेलका एक अधिकारीले बताए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता सर्वेन्द्र खनालले म्यादी प्रहरीले राजीनामा दिइरहेको स्विकार्नुभयो ।

काठमाडौं उपत्यकाभित्र ललितपुरका नौ सय दुई जनामध्ये दुई सय ८० जनाले राजीनामा दिएका छन् । काठमाडौंमा पनि दुई सय १४ जनाले राजीनामा दिइसकेका छन् । काठमाडौंका लागि २७ सय ५८ जना भर्ना गरिएको थियो । राजीनामा दिएकाहरू काममा आउनसमेत छाडेका छन् । स्रोतका अनुसार राजीनामा स्वीकृत भने भइसकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार कुल म्यादीमध्ये एक सय ८५ जनालाई हटाइएको थियो भने पाँच सय २३ जना नियुक्ती भएर पनि काममा हाजिर भएका थिएनन् । नौ जनाको मृत्यु र १० जना बिरामी÷घाइते भएर काममा आउन नसकेको प्रधान कार्यालयको भनाइ छ ।

ललितपुरमा म्यादीको आन्दोलन

यसैगरी, उचित पारि श्रमिक नपाएको भन्दै ललितपुरमा म्यादी प्रहरीले आन्दोलन गरेका छन् । उनीहरूलाई जनही ५५ दिनमा सबै शीर्षकअन्तर्गत ४९ हजार आठ सय ४४ रुपैयाँ दिइएको छ । यो रकमबाट पोसाक बापतको २४ सय ५० रुपैयाँ कटाइएको छ । तर, म्यादी प्रहरीले आफूलाई सरकारले उपलब्ध गराएको रकमभन्दा थोरै रकम दिएको दाबी गर्दै सडकमा प्रदर्शन गरेका थिए । ‘उहाँहरूले नबुझ्नुभएको हो । हामीले एक पैसा पनि तलमाथि नगरी पारि श्रमिक उपलब्ध गराएका छौं’, ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भन्नुभयो ।

५५ दिनको तलब ३१ हजार पाँच सय ८८, सोही अवधिको रासनबापत नौ हजार तीन सय २५ रुपैयाँ, पोसाक खर्च ७१ सय रुपैयाँ र दुई सय ५० रुपैयाँको दरले सात दिनको खाजा खर्च गरी कुल १७ सय ५० र सोही दरले सात दिनको विशेष भत्ता गरी १७ सय ५० रुपैयाँ दिइएको छ । यो रकममा एक प्रतिशत कर कट्टी गरिएको छ । यसबाहेक एक हजार रुपैयाँ भ्रमण खर्च उपलब्ध गराइएको छ । annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.