यस्ताे छ तपाइकाे आषाढ महिनाको भाग्यफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तृतीय भावमा राशिस्वामी मङ्गल र सूर्यको उपस्थिति देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले यो महिना राम्रै रहने सङ्केत छ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । घुमघाम र भ्रमणमा अधिकतम समय बित्नेछ । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । राशिस्वामीसमेत सूर्यका साथमा रहेकाले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । तर छैटौं भावमा भाग्येश बृहस्पति रहेकाले थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, २३, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं भावमा राशिस्वामी शुक्र र दोस्रो भावमा सूर्यको उपस्थिति भएकाले यो महिना आर्थिक प्रतिकूलताको महिना हुनेछ । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । सानातिना रोगव्याधिको प्रकोप सहनु पर्ने हुन सक्छ । दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले हानि पुर्याउने प्रयास गर्नेछन् । परिवारजनको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनु पर्नेछ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने छ । कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । भाग्येश शनिश्चरसमेत प्रणयस्थानमा बक्री रहेकाले दाम्पत्यसम्बन्ध र दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नै राशिमा रहेको सूर्यका साथमा ०२ गतेदेखि १८ गतेसम्म राशिस्वामी बुधको समेत उपस्थिति हुने हुँदा यस अवधिमा आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । राशिस्वामी बुधले राशिको र दोस्रो भावको विचरण गर्ने भएकाले प्रायशः शुभ परिणाम नै प्राप्त हुनेछन् । सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । अयाचित लाभ मिल्नेछ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना पनि छ । भाग्येश शुक्र सुरुमा राज्यस्थानमा रहेकाले पनि यो महिना राम्रो छ भन्दा फरक पर्दैन, तर आफ्नै राशिमा मङ्गल ग्रहले महिनाभरि उपस्थिति जनाउने हुँदा इच्छाविपरीत परिणाम आउनसक्छ, स्वास्थ्यस्थितिमा असर पर्ने सम्भावना देखिन्छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाह्रौं घरमा रहेको सूर्य र पञ्चमेश मङ्गलको प्रभावले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । तर अत्तालिनु पर्दैन, भाग्येश बृहस्पति तृतीय भावमा रहेकाले गरेका क्रियाकलापको प्रशंसा हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । वैवाहिक जीवन वा प्रेमप्रसंग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ०९, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राज्यस्थानमा रहेको राशिस्वामी सूर्यको प्रभावले यो महिना सकारात्मक देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयको आगमन भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । लामो यात्रा सुखद र सफल हुनेछ । भाग्येश मङ्गल पनि एघारौं भावमा नै रहेकाले व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । पूर्णरूपेण कर्मशील भइने छ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । दोस्रो भावमा पञ्चमेश बृहस्पतिको उपस्थिति पनि शुभकारक नै हुनेछ, यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, २३, ३०, ३१, ०१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्मक्षेत्रमा रहेको सूर्यको प्रभावले यो महिना तपाईंका लागि सकारात्मक नै रहने छ, उता राशिस्वामी बुधले क्रमशः भाग्य, कर्म र राज्य स्थानमा विचरण गर्ने भएकाले शुभ परिणामकै आधिक्यता रहने सङ्केत छ । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनेछन् । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । भाग्येश शुक्रले महिनाको उत्तरार्द्धमा भाग्य भावको यात्रा गर्ने नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । चौतर्फी समुन्नतिको लक्षण छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४, २५, गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यस्थानको सूर्यले मिश्रित परिणाम प्रदान गर्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै देखिन्छ । उता राशिस्वामी शुक्र सुरुमा सातौं भावमा रहने भएकाले दाम्पत्य जीवन सकारात्मक रहने छ, विपरीत लिङ्गीले सहयोग गर्नेछन् । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुको कारोबारमा सफलता मिल्नेछ । पञ्चमेश बुधले समग्रमा राम्रो परिणाम प्रदान गर्नेछ । बुद्धि निर्मल बन्नेछ । मित्र र सहयोगीबाट पूर्ण सहयोग मिल्नेछ । लामो यात्राबाट लाभ हुनेछ । विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । गरेका प्रतिस्पर्धा र सङ्घर्षमा विजयी भइने छ । स्वास्थ्यस्थिति ठीकै रहनेछ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अष्टम भावमा रहेको कर्मेश सूर्य राशिपति मङ्गलको प्रभावले असार महिना तपाईंका लागि फाइदाकारक देखिंदैन । अचानक विविध समस्या देखा पर्न सक्छन् । घरपरिवार र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । आर्थिक पक्षमा हानिको सम्भावना छ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । परिचित व्यक्तिका बारेमा दुःखद समाचार सुन्नु पर्नेछ । तर राज्यस्थानमा बसेर आफ्नो घरमा पूर्णदृष्टि राखेको बृहस्पति ग्रहका कारण केही राहत हुनसक्छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ०९, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सातौं भावमा रहेको सूर्य र मङ्गल ग्रहको प्रभावका कारण असार महिना तपाईंका लागि त्यति सहज हुने सङ्केत छैन । यद्यपि पारिवारिक वातावरण र दाम्पत्य सम्बन्ध सकारात्मक नै रहने देखिन्छ । तर यस अवधिमा मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यो समय कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । यात्राबाट लाभको सम्भावना छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । तर अत्तालिई हाल्नु पर्दैन, राशिस्वामी बृहस्पति चौथो भावमा रहेकाले वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । सञ्चार माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, २३, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिस्वामी शनिश्चर राज्यस्थानमा रहेको तथा छैटौं भावमा सूर्यको उपस्थिति रहेकाले असार महिना तपाईंका लागि उपयोगी समय छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । पञ्चमेश शुक्र महिनाको उत्तरार्द्धमा स्वगृही हुने भएकाले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ । भाग्येश बुध पनि महिनाको प्रारम्भमा नै आफ्नै राशिमा रहने भएकाले धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पाँचौं भावमा रहेको सूर्य, पञ्चमेश बुध र मङ्गलको युतिका कारण मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । उता भाग्येश शुक्रले तृतीय र चतुर्थ भावको भ्रमण गर्ने हुँदा दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ । तर पञ्चम मङ्गलले चिन्तनमननमा निर्लिप्त बनाउन सक्छ, त्यसैले प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सातौं घरमा राशिस्वामी बृहस्पतिको प्रभाव रहेकाले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने समय चल्दैछ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । तर चौथो घरमा सूर्य, मङ्गल र बुध ग्रह रहने हुँदा यो महिना फलदायी महिनाका रूपमा नरहने सम्भावना छ । कडा मिहिनेत र परिश्रम व्यर्थैमा खेर जानसक्छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । समग्रमा यस समयावधिमा मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । सामान्यतया यस महिनाको ०२, ०३, ०९, १०, ११, १८, १९, २०, २८, २९, ३०, गते तपाईंका लागि अशुभ रहने छन् । purbelinews

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.