१० लाख मानिस उतारेर एकघण्टामा काठमाडौं सफा पार्छु : शुशीला महर्जन –

‘आजभोली श्रीमानले डिभोर्स माग्न थालेका छन्, पहिला त निकै सहयाेगी थिए’ शुशीलाले भनिन्। विश्वलाई नै फोहोर मुक्त बनाउँछु भनेर सरसफाइ अभियानमा लागेपछि किर्तिपुरकी ४० वर्षीया सुशिला महर्जनका श्रीमान बिकाश महर्जन आजकाल उनीसँग चिढिन लागेका हुन्। ‘सुरुसुरुमा त उनले मेरो यो अभियानलाई निकै साथ दिएका हुन्, सफाइ अभियानमा धेरै बाहिर जान थालेपछि उनी मसँग रिसाउन थालेका छन्, शुशीला भन्छिन्, बेलाबेलामा डिर्भोस मागिरहन्छन्।’

जव घरमा धेरै समय दिन नसक्ने भईन तव श्रीमान उनीसँग रिसाएका हुन् भन्ने अनुमान लगाउन उनलाई धेरै समय लागेन। तरपनि महर्जन निराश छैनन् —’अहिले कुरा नबुझे पनि पछि आफैँ कुरो बुझ्नुहुनेछ किनभने म कुनै गलत बाटोमा छैन। मैले जे गरिरहेकी छु सही गरिरहेकी छु ‘ उनी भन्छिन्।

९ वर्ष अगाडि घरकी गृहिणी थिइन्। उनका दिन घर, छोराछोरी, श्रीमान र सासुससुरा सबैको सेवा गर्नमा नै वितेका थिए। किर्तिपुरमा जन्मेकी उनै महर्जन अहिले सिंगो विश्व सरसफाई अभियानमा जुटेकी छन्। २०७० असोजदेखि घर परिवार र सारा गृहस्थी छोडेर यो अभियानमा जुटेकी ४० बर्षीया महर्जन भन्छिन् —’अवको वाँकी जीवन सरसफाई अभियानमा लगाउनेछु।’

२०६७ सालमा किर्तिपुर महोत्सव हुने भएपछि त्यहाँका ५५ सय महिलाले ४० वर्ष पुरानो डम्पीङ साइट एक घण्टामा सफा गरेका थिए। सरसफाईमा उनको सक्रियता देखेर छिमेकीले निकै प्रशंसा गरे। यहीं प्रशंसाले नै उनलाई सरसफाई गर्ने उत्साह थप्यो । उनलाई एक्कासी यस्तो लाग्यो — ‘सिंगो संसार सफा भए कति रमाईलो देखिन्थ्यो होला।’ यसरी आफैँभित्र आएको देश र विश्व नै सफा गर्ने बिचारपछि उनी यसरी सरसफाई गर्ने अभियानमा लागेको वताउँछिन्।

त्यसैले अहिले उनको पहिचान सेतो हाफ भेष्ट, सेतै हाफ पाईन्ट र गुलावी रङको सडक बढार्ने लामो कुची हो। यो कुची उनी कही गएपनि छोड्दिनन्। बाटो हिँड्दै गर्दा जहाँ फोहोर देख्यो त्यही बढार्न थालिहाल्छिन्। उनीसँग एउटा हरियो रङको झोला पनि छुट्दैन, जहाँ उनले आफूलाई आवश्यक पर्ने सामान राखेकी छन्। सफा गर्दै जाँदा जहाँ रात पर्छ त्यहीँ उनको सेल्टर हुन्छ। त्यहाँका जनताले जे खान दिन्छन् त्यहीं खान्छिन्। एक ठाँउबाट अर्को ठाँउ जाँदा कुनै गाडीमा गाडीवालाले भाडा लिँदैनन् कतै, कसैले भाडा सौजन्य गरिदिन्छ भने कतै आफैँ खर्च बेहोरेर हिंड्ने गरेकी छन्।

अव आउने ३ वर्षमा नेपाललाई मानविय फोहररहित बनाउने उनको लक्ष्य छ। यो अभियानलाई सार्थक बनाउन २०१७ जनवरी २२ तारिख अर्थात २०७३ माघ ८ गते सरसफाइ अभियानमा १० लाख मानिस उतार्ने र एक घन्टामा काठमाडौं सफा गर्ने योजना उनको छ। सफा गर्ने भन्दा पनि फोहर नै नगरौं भन्ने मान्यता उनको छ। आफूबाट सिर्जित फोहर आफैँ निश्चित ठाँउमा राख्नको लागि उनले सबैलाई आग्रह पनि गरेकी छन् ।

उनीसँगै सोही अभियानमा छन् उनका छिमेकी दाई नाता पर्ने ५१ वर्षीय राजमान मानव। उनीहरू अहिले देशका बिभिन्न ठाउँ सफा गदै हिंडेका छन्। महर्जन र राजमानले सिंगो नेपाललाई फोहोरमुक्त पार्ने अठोट गर्दै देशभरका ६५ नगरपालिकामा पुगेर सरसफाई गरिसकेको महर्जनले बताईन्। उनीहरूले लगाएको सेतो टिसर्टको अगाडी लेखिएको छ — ‘मैले नगरे कसले गर्छ।’ टिसर्टको पछाडीको भागमा अंकित छ– अंग्रेजी अक्षर ‘आई’।
किर्तिपुरपछि टोखा, ठिमी, भक्तपुर, ललितपुरलगायत उपत्यकाका केही ठाँउमा उनीहरूले सरसफाई अभियान चलाए। त्यसैगरी इलाम, दमक, इटहरी, धरान, बिराटनगर, जनकपुर, हेटौंडा, नारायणगढ, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, दाङ र बुटवल गरी दर्जनौ शहरमा हजारौं मानिस परिचालन गरेर नगर सफा गर्ने उनीहरूको अभियान जारी रहेको छ।

महर्जनले साढे ५ वर्ष घरमै रहेर यो अभियानलाई निरन्तरता दिईन्, तर यसरी मात्र पुग्दैन भन्ने लाग्यो साढे दुई वर्षदेखि घरपरिवार सबै छाडेर पूर्णकालिन सरसफाई अभियानकर्ता बनेर उनी देशदाैडाहामा छन्। यस अभियान कै कारण उनी कहिले पुर्व पुग्छिन् त कहिले सुदूरपश्चिम। केही समय अघिमात्र उनी कैलालीको धनगढीमा थिइन्।

पुरुषले घरवाहिर जति बसेपनि उसको कुनै आलोचना हुँदैन, तर महिला आठ बजे घरको ढोका भित्र नपसेमा कुरा काट्न थाल्ने हाम्रो समाजको कारण धेरै महिला घरभित्रै खुम्चिन बाध्य भएको महर्जनको तर्क छ। धेरै संघर्षपछि नेपाल सफा गर्ने अभियानमा घरवाट बाहिर निस्कन सकेको सुनाउँदै उनी भन्छिन् —’घरपरिवारवाट त मलाई अहिले छोराछोरीले मात्र सहयोग गरिरहेका छन्, तर यो अभियानमा सिंगो देशवासीको साथ र सहयोगले हिंडीरहेकी छु।’

यदि महिलाले कुनै फरक काम गर्ने चाहन्छिन् भने उनलाई घरपरिवार र समाजले साथ दिनुपर्ने उनी वताउँछिन्। आफ्नो जीवनभरी देश र विश्व सफा गर्ने प्रण गरेकी महर्जन भन्छिन् —’म यो धर्तीलाई सफा गर्दागर्दै मर्न चाहन्छु।’

२०११ जनवरी २२ तारिखका दिनदेखी शुरु भएको उनको विश्व सरसफाई अभियान पछाडि धेरैले काठमाडौं तथा वाग्मती सफा गर्ने अभियान चलाएका छन्। यसले उनलाई खुशी लागेको छ। आफ्नो अभियान शुरु भएको दिन अर्थात जनवरी २२ तारिखलाई वातावरण दिवशको रुपमा घोषणा गर्नको लागि नेपाल सरकार समक्ष प्रस्ताव गर्ने सोच रहेको उनले बताईन्। sajhapage

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.