सरकारले आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए।
स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
जीवनभर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ।
आफूहरुलाई सरकारले उचित सेवा सुविधा दिनुपर्ने भन्दै उनीहरु ‘अग्र समाज नेपाल’ नामक संस्था बनाई आन्दोलनमा उत्रिएका हुन्। समाजका सहअध्यक्ष नयन्द्रबहादुर खड्काले सेवा सुविधा नबढाएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए।
भोट माग्न अनेक आश्वासन दिएर घर घरमा आएका राजनीतिक दलहरुले अहिले आन्दोलन थाल्दा कसैले पनि गुनासो नसुनेको उनले बताए। ‘अहिलेको भत्ताले चिया खाजा खान समेत पुग्दैन’ उनले आक्रोश पोखे ‘नेताहरुलाई सानो रोग लाग्दा पनि करोडौं खर्चेर विदेश जानुपर्ने, हामीलाई भने सामान्य औषधिलाई पनि खर्च नपाउने ?’
स्वास्थ्य उपचार तथा भत्ता गरी हाल सरकारले मासिक २ हजार रुपैयाँ प्रदान गर्दै आएको छ। उनीहरुले भने यो रकम ५ हजार पुर्याउनुपर्ने माग गरेका छन्। ‘पाँच हजार जति भयो भने सामान्य खाजा खर्च र सामान्य औषधिका लागि पुर्याउन सकिन्थ्यो’ खड्काले भने।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.