खर्चिला हुँदै फिल्मी गीत एउटै गितको लागी १५ लाख देखी २२ लाख सम्म खर्च

असार २, २०७४- टिजर, ट्रेलर र गीतहरूले फिल्मको प्रचारप्रसारमा सघाउँछन् । त्यसैले आजकल यी सामग्री निर्माणमा सकेसम्म होस पुर्‍याउन थालिएको छ । ट्रेलर हेरेर फिल्म हेर्न जाने चलन बढेको छ भने गीत मनपर्दा समेत कपितय दर्शक हलसम्म डोहोरिन्छन् । दर्शकको रुचि बुझेरै हुनुपर्छ, पछिल्लो समय नेपाली फिल्मका गीतको भिडियोहरू मेहनतपूर्वक र राम्रै खर्च गरेर बनाउन थालिएको छ ।

भदौमा रिलिज हुने भनिएको ‘दुई रुपैयाँ’ फिल्मको गीत ‘कुटुमा कुटु…’ अहिले निकै चर्चित छ । यसको भिडियो बनाउन फिल्म टोली इटहरी पुगेको थियो । लगालग चार दिन छायांकन गरिएको भिडियोका लागि निर्माताले १५ लाख रुपैयाँ खर्च गरे । ‘गीतले नै टिजरको काम गरिरहेको छ’, निर्देशक असीम शाह भन्छन्, “यो फिल्मका दुइटा भिडियो खिच्न जति खर्च भएको छ, त्यतिले त मैले पहिला ‘कर्कश’ फिल्म नै बनाएको थिएँ ।’

मधेसको कथा भएकाले भिडियो पनि उतै खिचिएको असीम बताउँछन् । यसमा ६० जना कोरस डान्सर छन् भने आसिफ साह, निश्चल बस्नेत, स्वस्तिमा खडका र बुद्धि तामाङलाई देख्न सकिन्छ । गीत राम्रो बनाउन आफूहरूले भरपूर मेहनत गरेको निर्देशक असीमले बताए । ‘मेहनत अनुसारको प्रतिफल पाइरहेका छौं,’ उनी भन्छन्, ‘गीतले फिल्मको म्यासिभ विज्ञापन गरिदिएको छ ।’

‘कुटुमा कुटु…’ कै कोरियोग्राफर कविराज गहतराज ‘म यस्तो गीत गाउँछु’ फिल्मको गीत ‘भन्छु आज मनका कुरा…’ को छायांकनका लागि माथिल्लो मुस्ताङ पुगेका थिए । उनी अचेल फिल्मका गीतमा नृत्य निर्देशन गर्न देश–विदेश चहार्छन् । ‘पहिले–पहिले राम्रो लोकेसनमा भिडियो छायांकन गरौं भनेर हामीले कर गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘अचेल निर्माता/निर्देशकहरू आफैं सचेत हुन थालेका छन् । नेपाली मार्केटलाई सुहाउने खालको नाचगान बल्ल देखाउन पाइएको छ ।’

‘म यस्तो गीत गाउँछु’ का निर्देशक सुदर्शन थापा फिल्मलाई राम्रो दृश्य दिऊँ भन्ने लागेर टाढाको यात्रा गरेको बताउँछन् । एउटा गीतका लागि फिल्म टोलीले १४ दिन माथिल्लो मुस्ताङमा बिताएको थियो । ‘पोखरादेखि डुंगा लिएर गएका थियौं,’ उनले भने, ‘माथिल्लो मुस्ताङ जानुभन्दा विदेश जान सजिलो रहेछ ।’ उनले भनेको डुंगा भिडियोमा देख्न सकिन्छ ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर २’ का दुइटा गीतको भिडियो रिलिज भएको छ । ‘कसम हो कसम…’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको केमेस्ट्री देखाइएको छ भने ‘किनिदेऊ न साइँला दाइ…’ मा साम्राज्ञीको नाच पपुलर भइरहेको छ । दुवै गीतको भिडियो बनाउँदा लोकेसन र कस्टयुममा विशेष ध्यान दिएको आभास हुन्छ ।

थाइल्यान्डमा छायांकन गरिएको ‘कहानी यो प्रेमगीतको…’ को भिडियो पनि निकै भव्य देखिन्छ । रामशरण पाठक निर्देशित ‘प्रेमगीत २’ को उक्त भिडियो युट्युबमा ३१ लाखभन्दा बढीले हेरेका छन् । यसको निर्माणमा २२ लाख रुपैयाँ खर्च गरेको निर्माता सन्तोष सेनले दाबी गरे । यही फिल्मको ‘मोटरसाइकलमा…’ बोलको क्लब सङको भिडियो तयार पार्न १९ लाख र ‘बिस्तारै–बिस्तारै…’ बनाउन १५ लाख खर्च भएको उनले सुनाए ।

‘गुणस्तर मेन्टेन गर्न यत्तिको खर्च गरिएको हो,’ निर्माता सेनले भने, ‘भिडियोमा ब्रान्ड भ्याल्यु देखिएको छ भन्ने प्रतिक्रिया पाइरहेका छौं । मेकिङका हिसाबले केही फड्को मारौं भन्ने लागेर एउटै गीतका लागि पनि राम्रै खर्च गरेका हौं ।’ लभ–सङको भिडियो बनाउन खासै महँगो नपर्ने भए पनि आफूहरूले थाइल्यान्डमा सुटिङ गरेकाले खर्च बढी भएको उनले बताए । ‘लोकेसन नै महँगो पर्‍यो,’ उनले भने, ‘कस्ट्युम सस्तो थिएन । प्राविधिक र क्राउडलाई राम्रै पारिश्रमिक दियौं ।’

‘जोनी जेन्टलम्यान’ का निर्देशक नीतीन चन्द एउटै भिडियोका लागि धेरै खर्च गर्ने ट्रेन्डलाई सकारात्मक मान्दैनन् । तर, फिल्मका गीतमा यत्तिको लगानी ठीकै भएको उनको बुझाइ छ । ‘हामीले फिल्मको कन्टेन्टमै आफूलाई बलियो बनाउनुपर्छ,’ उनले भने, ‘तर, गीतहरू पनि राम्रा हुनैपर्‍यो ।

अहिले लोकेसन र ड्रेसमा जोड दिने गरिएकाले खर्च बढी भइरहेको छ । खर्च घटाएर राम्रो आउटपुट दिन सिक्नु छ हामीले ।’ उनको फिल्मका गीत ‘तिमीबिना मान्दैन…’ र ‘क्याट वाक…’ को भिडियो क्रमश: १५ लाख र ३ लाखमा बनेका हुन् । अघिल्लो गीतको भिडियो भारतका गोवा, सिलोङ, दिल्लीलगायत सहरमा खिचिएको उनले बताए ।

गीत लागत (रुपैयाँ)
कहानी यो… (प्रेमगीत २) २२ लाख
कुटुमा कुटु… (दुई रुपैयाँ) १५ लाख
भन्छु आज… (म यस्तो गीत गाउँछु) १५ लाख
तिमीबिना मान्दैन यो मन… (जोनी जेन्टलम्यान) १५ लाख

kantipur.ekantipur

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.