बागलुङः प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकीमा हामफालेका युवाको शव नौ दिनपछि फेलापरेको छ। जेठ २३ गते बेलुका मालढुंगाबाट नदीमा हामफालेका काठेखोला गाउँपालिका– ८ का १७ वर्षका सुनील पुन अहिलेसम्म बेपत्ता थिए। ट्याक्सीमा पर्वतबाट बागलुङतर्फ आउँदै गरेका पुनलाई लागूऔषध प्रयोग गरेको आशंकामा प्रहरीले पक्रने प्रयास गरेको थियो। बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले खोजी गर्ने क्रममा पुनको शव नदी किनारमा फेला परेको जानकारी दिए। कालीगण्डकी पुलभन्दा केही तल नदीले बगाउँदै गरेको अवस्थामा शव देखिएपछि प्रहरीले पछ्याएर निकालेका थिए।
शव पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा राखिएको छ। त्यहाँ मृतक पुनका आफन्त र स्थानीयको भीड लागेको छ। उनीसँगै ट्याक्सीमा सवार बागलुङका २८ वर्षका दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षका भीमसेन लामालाई लागूऔषधसहित प्रहरीले सोही दिन पक्रेको थियो। उनीहरूको मोवाइलको एसएमएसको आधारमा दुई दिनपछि ठूलो मात्रामा लागूऔषधसहित भारतीय नागरिक जोतेन्द्र हरिजन पक्राउ परेका थिए। उनीहरू माथि अदालतमा म्याद थपेर लागूऔषध कारोवारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
सुनील पुनका आफन्तले भने निर्दोषलाई प्रहरीले यातना दिएर नदीमा हामफाल्न बाध्य बनाएको आरोप लगाउँदै दोषीलाई कारवाही गर्न र तत्काल बेपत्ताको खोजी गर्न माग गर्दै संघर्ष समिति नै बनाएर दुई दिनसम्म बागलुङ बजार बन्द गरेका थिए। प्रहरीले भने पछिल्लो समय बागलुङमा लागूऔषध प्रयोग र ओसारपसारका घटना बढेको भन्दै अनुसन्धानको कार्य भइरहेको जनाएको छ। जिल्लामा लागूऔषध कारोवार गर्ने सञ्जाल नै रहेको हुन सक्ने भएकाले त्यसबारे निरन्तर निगरानी र अनुसन्धान भइरहेको एसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.