विराटनगर, जेठ ३० | कतारमा ज्यान गुमाउनु भएका धनकुटाको महालक्ष्मी नगरपालिका ४ का २२ वर्षीय रोशन बुढाथोकीको शव १९ दिन भइसक्दा पनि परिवारले पाउन सकेका छैनन् ।
बैदेशिक रोजगारीका लागि ६ महिना अघि कतार पुग्नु भएका बुढाथोकीको गत जेठ १० गते मृत्यु भएको थियो । बुढाथोकी सुतेकै स्थानमा मृत भेटिनु भएको थियो । त्यहाँका चिकित्सकले भने हृदयघातका कारण मृत्यु भएको जानकारी बुढाथोकी कार्यरत कम्पनीलाई दिएका छन् । मृत्यु भएको लामो समयसम्म पनि शव ल्याउनका लागि कसैले सहयोग नगरेको गुनासो आफन्तको छ ।
मृत्युको विषयलाई लिएर परिवार शोकाकुल रहे पनि शव भने अझै नेपाल पठाउन नसकिएको कतारमै रहनु भएका आफन्त राजेश बुढाथोकीले बताउनु भयो । रोशनको शव लिएर नेपाल आउने तयारी गरेपनि कतारस्थित नेपाली राजदूतावासले सहयोग नगरेको राजेशको भनाइ छ । परिवारमा अझै रुवाबासी छ । मृत्युको खवरसंग परिवारका सदस्य र आफन्तको आँखा ओभानो हुन सकेका छैनन् ।
परराष्ट्र मन्त्रालयले भने मृतकको शव चाँडो गरेर नेपाल झिकाउने जनाएको छ । ‘जति सक्दो शव ल्याउन हाम्रोतर्फबाट पहल हुनेछ,’ पराष्ट्र मन्त्रालयका कर्मचारी तीर्थराज वाग्लेले भन्नु भयो, ‘तत्काल यस विषयमा कतार स्थित नेपाली राजदूतावासलाई पत्र पठाएर शव चाँडो नेपाल ल्याउने वातावरण बनाउने छौं ।’
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.