एउटै परिवारका ६ बहिनी सरकारी जागिरे छोरीहरू

काठमाडौँ – विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।

भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचेजस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै हुन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् । घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् । सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।

छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छ । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । ‘एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व लाग्छ,’ भट्टराई दम्पती भन्छ । विदुरको चाहना छ, छोरीज्वाइँले आफ्नो कामको दायित्वअनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून् । कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । उनी भन्छन्, ‘सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटोछरितो सेवा दिऊन् मेरो इच्छा यति नै हो ।’

सरकारी जागिरे छोरीहरू
विष्णुकुमारी भट्टराई (जेठी): प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक
उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सुरु भएको हो । अहिले उनी नयाँ संरचनाअनुसार बनेको नगरपालिका प्रमुख बनेकी छिन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल यातायात व्यवस्था विभाग, काठमाडौँका निर्देशक हुन् ।
उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालिसकेकी छिन् ।

विन्दा आचार्य (माइली): उपसचिव, पर्यटन मन्त्रालय
२०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम सुरु गरेकी थिइन्, विन्दाले । उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य रक्षा मन्त्रालयमा उपसचिवमा कार्यरत छन् ।

रमा भट्टराई (साइँली): उपसचिव, वैदेशिक रोजगार विभाग
खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले । उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनी अहिले वैदेशिक रोजगार विभागमा कार्यरत छिन् । उनका श्रीमान् कोषहरि निरौला गृह मन्त्रालयमा उपसचिव रहेका छन् ।

रेनु भट्टराई (काइँली): शाखा अधिकृत, करदाता सेवा कार्यालय
रेनुले सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवबाट जागिर सुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छन् । उनका श्रीमान् चिरञ्जीवी तिम्सिना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव छन् ।

अनु भट्टराई (राइँली): नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, अनु । दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

जुनु भट्टराई (कान्छी): सुब्बा
सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छिन्, जुनु । उनका श्रीमान् मिलन कार्की राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत छन् । साभार : नागरिक परिवारबाट

The post एउटै परिवारका ६ बहिनी सरकारी जागिरे छोरीहरू appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.