सुरु भयो मह जोडीको ‘शत्रु गते’

काठमाडौं : मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) केही समयको विश्रामपछि नयाँ चलचित्र ‘शत्रु गते’ लिएर आउन लागेका छन् । महले चलचित्र निर्माण गर्ने घोषण गरेपछि यसको विषयवस्तु र उनीहरूको भूमिकालाई लिएर विभिन्न चर्चा सुरु भएको छ । दर्शकमा चासो र कौतुहल जन्माएको छ । महले चलचित्रमा उठाउने विषय पृथक् र गम्भीर हुने भएकाले पनि चासो बढाएको हो ।

चलचित्रको पर्दाभन्दा काँचको पर्दा र स्टेजमा बढी रमाउने उनीहरू पुन:निर्माणसँगै रजतपटमा प्रवेश गर्नुलाई चलचित्र उद्योग सुधारिएको संकेतका रूपमा पनि हेरिएको छ । मह सञ्चारको प्रस्तुति रहने चलचित्र ‘शत्रु गते’ को छायांकन शुक्रबार वीरगन्जबाट सुरु भएको छ । शुक्रबारको छायांकनमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, नरेन्द्र कंसाकार, रमेश झा, मोहित आचार्यलगायत सहभागी थिए । अर्का अभिनेता दीपकराज गिरी पनि छायांकनका लागि वीरगन्ज पुगिसकेका छन् । वीरगन्जका विभिन्न स्थानमा १५ दिन चलचित्रको छायांकन हुने निर्माण पक्षले जनाएको छ ।

हरिवंशले लेखेको कथालाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दीपा श्री निरौला, किरण केसी, शिवहरि पौडेल, प्रियंका कार्कीलगायतका कलाकारको पनि अभिनय रहनेछ । कमेडी जनरमा निर्माण हुने चलचित्रले देशको वर्तमान सामाजिक अवस्था चित्रण गर्ने निर्माता किरण केसीले बताए । ‘यो हाम्रै समाजको कथा हो । सामाजिक परिवेशमा घुमेको छ । तर, राजनीतिक विषय भने खासै उठाइने छैन’, केसीले भने, ‘शत्रु गतेभित्रका शत्रु र मित्रका कुरा भने अहिले नखोलौं ।’ ‘हास्य कलाकारकै टिमले निर्माण गरेको हुनाले ‘कमेडी’ नहुने त कुरै भएन तर सामाजिक विषय नै केन्द्रमा रहनेछ’, उनले भने ।

‘म चाहिँ हाउजिङ कम्पनीको साहुजी’, मदनकृष्णले आफ्नो भूमिकाबारे भने, ‘मलाई चलचित्रका बारेमा धेरै कुरा भनेका छैनन्, मेरो सुटिङ हुन पनि बाँकी छ ।’ हरिवंश चलचित्रमा नायक पल शाहका बाबुको रूपमा देखिने छन् भने दीपाश्री हरिवंशको जोडी । यसमा पनि छक्का पञ्जा सिरिजको हिट जोडी प्रियांका कार्की र दीपकराज गिरी रोमान्स गर्दै देखिनेछन् । हरिवंशको जोडी हुन पाउँदा दीपाश्री पनि मक्ख छिन् । निर्देशनमा बाजी मारेकी यिनी हरिवंशको जोडी बनेर अभिनयमा पनि फेरि जम्ने तयारीमा छिन् । ‘मेरो भूमिकालाई दिएर निकै उत्साहित छु’, उनले भनिन् ।

चलचित्रमा कालीप्रसाद बाँस्कोटा, राजनराज शिवाकोटी र रोजेनको संगीत रहने निर्माता केसीले बताए । ‘अहिले गीतसंगीत बनाउने कार्य भइरहेको छ’, उनले भने । चलचित्रको वीरगन्जपछि काठमाडौं र स्टुडियोभित्र छायांकन हुनेछ । ५० दिनमा छायांकन सक्ने योजनासहित फ्लोरमा गएको चलचित्रको लागत पनि ५० लाख रहने निर्माण पक्षले बताएको छ । चलचित्रको प्रदर्शन मिति चैत्र ९ गते तोकिएको छ ।

The post सुरु भयो मह जोडीको ‘शत्रु गते’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.