सीताराम कट्टेल धुर्मुसले ५४ मिनेट जुवातास खेल्दा १२ हजार रुपैयाँ हारेँ पछी …

जुवातासमा कतिसम्म पैसा हार्नुभएको छ ?

सीताराम कट्टेल, हास्यकलाकार

मलाई जुवातास खेल्न खासै मन लाग्दैन । तर, मलाई तासको चाहिँ कुनैकुनै खेल खेल्न आउँछ । मैले जुटपत्तीबाट तास खेल्न सिकेको हुँ । त्यसपछि तीनपत्ती खेल्न सिकेँ अनि धेरैपछि म्यारिज पनि खेल्न थालेँ । मलाई धेरै त आउँदैन । खेले पनि थोरै पैसा मात्र खेल्छु । केही वर्ष पहिला लाजिम्पाटस्थित मिडिया हबको कार्यालयमा ५४ मिनेट म्यारिज खेल्दा १२ हजार रुपैयाँ हारेँ । त्यसपछि म त्यहाँबाट रन्थनिएर घर जान लाग्दा पार्किङमा राखेको आफ्नो स्कुटर नै नचिन्ने भएँ छु । त्यसयता मैले तास खेलेको छैन ।

पशुपति शर्मा, गायक

म तासचाहिँ खेल्छु । जिते पनि हारे पनि आधा घन्टाभन्दा खेल्नै सक्दिनँ । मलाई धेरैबेर तास खेल्यो भने निद्रा लाग्छ । आजभन्दा चार–पाँच वर्ष पहिला तिहारको वेलामा तीनपत्ती खेल्दा १० हजार हारेको थिएँ । त्यसपछि मैले खासै तास खेलेको छैन । तर, यसपालिचाहिँ भाइटीकाको दिन खेल्ने विचार छ ।

पशुपति मुरारका, उद्यमी

तिहारको वेलामा कहिलेकाहीँ साथीभाइसँग तास खेल्छु । तर, पैसा कमाउने उद्देश्यले चाहिँ कहिल्यै तास खेल्दिनँ । आजभन्दा तीन–चार वर्ष पहिला तिहारमै तास खेल्दा १२–१३ हजार रुपैयाँ हारेको थिएँ । तर, गत वर्षको तिहारमा चाहिँ मैले १२ हजार जितेको थिएँ ।

रवीन्द्र अधिकारी, नेता, एमाले

मलाई अलिअलि तीनपत्ती, जुटपत्ती, कलब्रेक, दहरमाराजस्ता खेल खेल्न आउँछ । तर, तास खेल्न भनेर आधा घन्टा पनि बस्न सक्दिनँ । तिहारकै वेलामा तास नखेलेको पनि धेरै भयो । मलाई खासै तास खेल्न मन पर्दैन । बरु म फुर्सद पाएँ भने किताब पढेर समय बिताउँछु । ०६२÷०६३ सालतिरको तिहारमा साथीभाइसँग एकछिन तास खेल्दा एक हजार रुपैयाँ हारेको थिएँ ।

रामहरि खतिवडा, नेता, कांग्रेस

म जुवातास खासै खेल्दिनँ । तर, कृष्णप्रसाद भट्टराई रहुञ्जेल मलाई दसैँतिहार खर्च भनेर पाँच हजार रुपैयाँ दिनुहुन्थ्यो । त्यसमा पनि दुई हजार आफ्नो जिल्ला जान र आउन खर्च हुन्थ्यो । एक हजार आमाबुवालाई, एक हजारको कपडा र एक हजारचाहिँ जुवातास खेल्नु भनेर उहाँले नै छुट्याइदिनुहुन्थ्यो । म खासै जुवातास खेल्दिनथेँ । तर, अरूले खेलेको ठाउँमा च्याखेँचाहिँ थाप्थेँ । ०६८ सालको कुरा हो । तिहारको वेलामा गाउँमा जुवा खेलिरहेको ठाउँमा मैले च्याखेँ थापेँ । यसरी च्याँखे थाप्दा ३५ हजार रुपैयाँ हारेको छु । त्यसपछि मैले त्यो हेर्न पनि छाडेँ ।

सरोज खनाल, अभिनेता

म आफ्नो परिवारसँग तिहारमा तास खेल्छु । तर, बाहिरी मान्छेसँग खेल्दिनँ । हामीहरूमा पनि त्यस्तो ठूलो खेल हुँदैन । म प्रायः तासमा जित्छु । यसपालि दसैँमा दाजुहरूसँग तीन हजार रुपैयाँ जितेँ । तर, गत वर्षको तिहारमा दिदीको घर पोखरामा तास खेल्दा दुई हजार–पच्चीस सय हारेको थिएँ ।

सुभाष खकुरेल, क्रिकेटर

घरमा रहेको वेला कहिलेकाहीँ खेल्छु । म विशेषगरी साथीहरूसँग खेल्दा म्यारिज खेल्छु । घरमा परिवारसँग खेल्दा फलाँस र इन बिट विन टु भन्ने खेल खेल्छु । म तासमा खासै हार्दिनँ । धेरै ठूलो खेल खेलिँदैन । तिहारमा एक–दुई घन्टा खेलिन्छ । मैले पोहोर तिहारमा करिब दुई हजार जति हारेँ ।

आनन्द कार्की, गायक

म पहिलापहिला दसैँ–तिहारको समयमा भयंकर जुवातास खेल्थेँ । ०६३ सालको कुरा हो, मैले त्यो सालको तिहारमा जुवा खेल्दा ४० लाख रुपैयाँ हारेको थिएँ । त्यो पैसाले एउटा नयाँ गाडी किन्ने योजना थियो । तर, हारपछि गाडी किन्ने योजना तुहियो । त्यसयता मलाई जुवातास खेल्ने आँट नै आएको छैन । साथै, चाडबाडको नाममा जुवातास खेलेर पैसा कमाउने मनसाय बनाउनेहरूलाई जुवातास नखेल्न सुझाब दिन्छु ।

सुनील पोखरेल, रंगकर्मी

तिहारको समयमा कहिलेकाहीँ छोरा र श्रीमतीसँग तास खेल्छु । तर, जुवाडे होइन । म तासका धेरै गेम खेल्न जान्दछु । अहिले त छोराले नै जित्न थालिसक्यो । यसपालि दसैँमा आफ्ना विद्यार्थीसँग तास खेलेँ । तीन सय रुपैयाँ हारेँ ।

अमर न्यौपाने, साहित्यकार

मैले १८ वर्षको उमेरसम्म तासको खेल जुटपत्ती र सत्र भन्ने खेल जानेको थिएँ । त्यो वेलामा तिहारमा खुब तास खेल्थेँ । तर, त्यत्रो ठूलो खेल खेलिँदैन थियो । मेरो मिल्ने साथीचाहिँ तास खेल्दैनथ्यो । उसको संगतले गर्दा तास खेल्न छोडेँ । त्यसैले तास खेलेर त्यति धेरै पैसा
हारेको छैन । उसवेला तिहारको समयमा जुटपत्ती खेल्दा त्यही पन्ध्र–बीस रुपैयाँ हारिन्थ्यो ।

जितु नेपाल, हास्यकलाकार

आजभन्दा एक–दुई वर्ष पहिला म तिहारको समयमा निकै जुवातास खेल्थेँ । तर, अहिले खासै खेल्दिनँ । आजभन्दा तीन वर्षअघि मैले तिहारमा जुवातासमा ५० हजार रुपैयाँ हारेको थिएँ । त्यसवेला निकै नरमाइलो लाग्यो । तर, मैले परारको साल पचास साठी हजार जितेको थिएँ । त्यसवेला पनि अध दुःखी हुँदा नरमाइलो लागेको थियो । त्यसैले यसपालि नखेल्ने योजना बनाएको छु ।

कुमार नगरकोटी, लेखक

म जुवातास रमाइलोका लागि खेल्छु । खेल्दा आफ्नै परिवारसँग मात्र खेल्छु । बाहिर खेल्दिनँ । यसपालि दसैँमा परिवारसँग खेल्दा पनि १२ सयजति हारेँ । तर, अरू वेला बाहिर साथीभाइसँग खेल्ने बानी छैन । मलाई त्यस्तो मन पनि पर्दैन ।

हरि खड्का, खेलाडी

मलाई त्यति धेरै जुवातास खेल्न मन लाग्दैन । तिहारको समयमा आफ्नो परिवारमा रमाइलोका लागि खेल्ने गर्छु । तर, बाहिर गएर कसैसँग पनि जुवातास खेल्दिनँ । परिवारसँग खेल्दा पनि मैले धेरैजसो जितिरहेकै हुन्छु । जसले गर्दा हारको अनुभव मसँग छैन ।

केशव स्थापित, पूर्वमेयर, काठमाडौं महानगरपालिका

पहिलापहिला दसैँ–तिहारमा साथीभाइसँग रमाइलोका लागि खेल्थेँ । आजभन्दा आठ वर्ष पहिला एकजना साथीको घरमा गएँ । त्यहाँ कौडा खेलिरहेका रहेछन् । तर, मलाई खेल्ने मन थिएन । म खेल्ने उद्देश्यले नगएको हुनाले पैसा पनि त्यति धेरै बोकेको थिइनँ । तर, मलाई खेलाउनका लागि त्यहीँ एकजनाले मलाई एक लाख रुपैयाँ दियो र खेल्न थालेँ । अन्त्यमा त्यो पैसा त्यही साथीले खायो । तर, त्यसबाहेक मैले जुवातासमा हारेको छैन । मलाई अहिले खासै खेल्न मन पनि पर्दैनँ ।

जयकिसन बस्नेत, अभिनेता

मैले अहिलेसम्म जुवातास खेलेको छैन र खेल्दिनँ पनि । मलाई यो जुवातास भन्ने कुरा मन नै पर्दैन । कतिपय मानिस कुनै पनि चाडपर्व आउनेबित्तिकै जुवातास खेल्ने भनेर तम्सिन्छन् । त्यो त आ–आफ्नो कुरा हो, तर मलाईचाहिँ जुवातास खेलेको मनपर्दैन ।

प्रदीप उदय, अध्यक्ष, नेपाल चलचित्र संघ

कहिलेकाहीँ रमाइलोका लागि साथीहरूसँग तिहारमा म्यारिज खेल्छु । मलाई तासका सबै खेल खेल्न आउँछ । हामी तास खेल्दा अहिलेसम्म त्यति धेरै हारजित पनि भएको छैन । गत वर्षको तिहारमा दुई–चार हजार रुपैयाँ हारेको थिएँ ।

बद्री पंगेनी, गायक

पहिला दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष हुँदा तिहारमा म्यारिजचाहिँ खेलिन्थ्यो । तर, अध्यक्ष भइसकेपछि एकपटक बेल्जियममा खेलेको थिएँ । त्यसपछि खेल्ने अवसर मिलेको छैन । केही समयअघि मात्र मैले जुवातास खेलेको आरोपमा अनायसै प्रहरीको फन्दामा परेँ । त्यसपछि मलाई जुवातास खेल्न त के हेर्न पनि मन छैन । तर, म तास खेल्दा प्रायः हार्दैनथेँ । आजभन्दा तीन वर्षअघि पाल्पाको रामपुरमा म्यारिज खेल्दा १५ हजार रुपैयाँ हारेको थिएँ । मलाई म्यारिजबाहेक अधखेल खेल्न आउँदैन ।

सुगम पोखरेल, गायक

म कहिलेकाहीँ परिवारसँग तास खेल्छु । त्यो पैसा कमाउनका लागि नभएर रमाइलोका लागि खेल्छु । मलाई तास खेल्दा पैसा हारेँ भने रुन मन लाग्छ । गत वर्षको तिहारमा परिवारसँग तास खेल्दा पनि एक हजार रुपैयाँ हारेको थिएँ । त्यति पैसा हार्दा पनि मलाई निकै नरमाइलो लागेको थियो ।

प्रदीप पौडेल, नेता, नेपाली कांग्रेस

मलाई तासको खेलमध्ये म्यारिजको नियमचाहिँ अलिअलि थाहा छ । त्यो पनि तिहारको समयमा दिदीबहिनीहरूसँग सिकेको थिएँ । मैले अहिलेसम्म कोहीसँग पनि पैसा राखेर तास खेलेको छैन । जसले गर्दा जुवातासमा हारजितको अनुभव मसँग छैन ।

चेतन सापकोटा, संगीतकार

तिहारको वेलामा कहिलेकाहीँ बुबा, दाइ, छोरा, श्रीमतीसँग परिवारमै रमाइलोका लागि तास खेल्छु । मेरो छोरा तास खेल्न निकै रहर गर्छ । त्यसैले तिहार आएपछि उसको रमाइलोका लागि पनि तास खेल्दिनुपर्छ । त्यसैले पैसा हारजित हुँदैन । तर, म कहिलेकाहीँ छोराको रमाइलोका लागि पाँचसय देखि एक हजारसम्म हारिदिने गर्छु । नयाँ पत्रिकाले छापेको छ ।

नवयुग श्रेष्ठ, खेलाडी

तासचाहिँ कुनैकुनै वेला साथीहरूसँग रमाइलाका लागि खेल्छु । म विशेषगरी म्यारिज र फराँस खेल्छु । रमाइलोका लागि खेलिन्छ जसले गर्दा त्यति धेरै हारजित हुँदैन । मैले केही समयअघि म्यारिज खेल्दा ५ हजार रुपैयाँ हारेको थिएँ । तर, तासमा हारजित भइरहन्छ यो स्वाभाविक हो ।

The post सीताराम कट्टेल धुर्मुसले ५४ मिनेट जुवातास खेल्दा १२ हजार रुपैयाँ हारेँ पछी … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.