मोबाईलले गरेको बाल विवाहको परिणम ‘न गरी खानु न मरी जानु’

बझाङ, माघ ८ – बझाङमा पछिल्लो समय मोवाइल फोन बालविवाहको कारण बनेको छ । मोबाइल फोनकै कारण सानै उमेरमा विवाह गर्ने प्रचलन बढ्दै गएको छ । सानो कक्षामा पढ्दा नै अभिभावकले छोराछोरीको हातमा मोबाइल दिने गरेपछि पढाई भन्दा बढी ध्यान मोबाइलमा जाने गरेको छ ।

पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मोवाइलबाट फेसबुक चलाउने, मोवाइलमा लामो समय माया पे्रमका कुरा गर्ने र मोवाइलमै भेटेका केटाकेटीसँग उमेर नपुग्दै बाल विवाह गर्ने गरेका छन् । कलीलै उमेरमा विवाह गरेपछि चौध–पन्ध्र वर्षको उमेरमा नै बालबच्चा जन्मिने र सोच्दै नसोचेको पीडा भोग्न बाध्य हुने गरेका छन् ।

सुर्मा गाँउपालिका–२ की मेनुका बोहराले आधावगर माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा साथिहरुको हात हातमा मोवाइलले देख्नुभयो । उहाँलाई पनि मोवाइल किन्न रहर लाग्यो । उहाँले घरमा दिनदिनै मोवाइल किन्दिन आमाबुबालाई भनिरहनुभयो । मोबाइल नकिनिदिएसम्म विद्यालय नै नजाने भनेपछि उहाँका बुबाले उहाँलाई मोवाइल किनिदिनुभयो । त्यसपछि उहाँले मोवाइललाई गीत सुन्ने माध्यममात्र बनाउनुभएको थियो ।

मोवाइल किनेको एक महिनापछि घाँस काट्न गएको बेला अचानक मोवाइलको घण्टी बज्यो । नयाँ नम्बर थियो । उहाँले साथिहरुले फोन गरेको हो की भनेर फोन उठाउनुभयो । उहाँले फोन उठाउने वित्तिकै प्रिय भन्ने सम्बोधन सुनियो । नयाँ नम्बर । केटाको आवाज । मेनुका एकैछिन रनभुल्लमा पर्नुभयो ।

उहाँलाई अचम्म लाग्यो । केही बोल्नुभएन । धेरैबेर चुपलागेर बसेपछि उता बाटै आवाज आयो । ‘किन नबोलेको प्रिय ?’ त्यसपछि मेनुकाले सोध्नुभयो, ‘तपाईले कस्लाई खोज्नु भएको ? यो गलत नम्बर पर्यो कि ?’ यो वाक्य पुरा गर्न नपाउँदै उताबाट आवाज आइहाल्यो ‘मैले मेनुका बोहरालाई खोजेको’ । त्यसपछि मेनुकाले सोध्नुभयो, तपाई को हो ? मैले चिनिनँ । त्यसपछि फोनमा बोल्ने मान्छेले भन्यो, मैले चिनेको छु तिमीलाई । त्यसपछि उसले भनिहाल्यो, ‘म तिमीलाई धेरै माया गर्छु’ यति भन्नासाथ मेनुकाले फोन राख्नुभयो ।

त्यसपछि बारम्बार त्यस नम्बरबाट मेनुकालाई फोन आउन थाल्यो । मेनुकाले बारम्बार मैले चिनेको छैन भन्दै फोन काटिरहनुभयो । सुर्मा गाँउपालिकाको पटुडी र काँटैमा चौदशि मेला लाग्थ्यो । गाँउका सबै मानिस त्यही मेला हेर्न जाँदा मेनुका पनि जानुभएको थियो । उहाँका एउटै कक्षामा पढेका साथिहरु खिना बोहरा, आशा बोहरा, तुलसि बोहरा पनि सँगै गएका थिए । रात पर्नै लागेको थियो ।

सबैजना मेलामा पुगेका थिए । फेरी मेनुकाको फोन बज्यो । उहाँले मोवाइलमा हेर्दा त्यही नम्बर थियो । सधैँ फोन आउने गरेको थियो । उहाँले फोन उठाउनुभयो । फोनमा मेनुका मेलामा आएको र फोन गर्ने केटाले उहाँलाई देखिरहेको प्रतिक्रिया पाएपछि उहाँ छक्क पर्नुभयो । उहाँले रातो ज्याकेट लगाएर मेलामा जानुभएको थियो । यसरी त्यो मान्छेले आफूलाई पछ्याइरहेको थाहा पाएपछि उहाँ मनमनै डराउनुभयो ।

उहाँले मेलामा यता उता हर्नुभयो । धेरै मान्छे मेलामा आएका थिए । त्यहाँ निकै भिँड थियो । उहाँलाई को मान्छेले मलाई पछ्याइरहेछ भनेर चिन्न सक्नुभएन । मेनुका आफ्ना साथिहरुसँगै खाजा खान जानुभयो । खाजा खाइसकेपछि पैसा तिर्न जाँदा पैसा तिरिसकेको जानकारी पाएर अचम्ममा पर्नुभयो ।

पैसा कसले तिर्यो होला उहाँको मनमा जिज्ञासा थियो । फेरी एकैछिनमा उहाँको मोवाइलको घण्टी बज्यो । फोन गर्ने मान्छे उही थियो । उसैले उनीहरुको खाजाको पैसा तिरेको थियो । त्यसपछि मेनुकालाई त्यो फोन गरिरहने मान्छेसँग भेट्न मन लाग्यो । दुबैजना एक अर्कामा परिचित भए ।

यसरी मोबाइलमा दिनप्रतिदिन फोन गर्दै गर्दा दुबैबीच माया प्रेमका कुरा हुन थाल्यो । यसैबीच मेनुकाले कक्षा सातमा पढ्दा नै भागेर त्यो केटासँग विवाह गर्नुभयो । यस्तै दाँतोलाकी हिमालय माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्यनरत १५ वर्षीया रमा विष्टको पनि सानै उमेरमा विवाह भएपछि दैनिकी कष्टकर बनेको छ ।

रमाले धेरै पढेर नर्स बन्ने सपना बोक्नुभएको थियो । कक्षा सातमा पढ्दा नै विवाह गर्नुभएकी रमाको एक वर्षमा नै छोरी जन्मिइन् । उहाँ नौ कक्षामा पढ्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘अहिले घरको काम भ्याईनभ्याई हुन्छ । पढाई छुट्यो । घर बडारकुडार लिपपोत, गाई दुहुने, धान कुट्ने काम विहानै गरी सक्नु पर्छ । डोको नाम्लो बोक्यो घाँस काट्न गयो । फर्किँदा दश बजिसकेको हुन्छ । खाना खाएर विद्यालय जान पनि भ्याउँदिन । कहिलेकाहीँ त पहिलो विषय नै छुटिसकेको हुन्छ ।’

तीन वर्ष अगाडी विवाह के हो ? भन्ने थाहा नै नपाई विवाह गरेकी रमा विष्ट जस्तै हिमालय माध्यमिक विद्यालयमा पढ्ने ५६ जना छात्राहरु यस्तै किसिमको सकसपूर्ण दैनिकी सँग जुध्दै सुखद् भविष्यको आसामा पढाइलाई निरन्तरता दिइ रहेका छन् । उनले पनि फोनमा कुरा गर्दागर्दै विवाह गरेकी थिइन् ।

सुर्मा गाँउपालिका दौलिचौरका नरेन्द्र बहादुर बोहरा र उनकी श्रीमति सर्मिला बोहराले पनि सानै उमेरमा विवाह गर्नु भएको थियो । अहिले सर्मीलाको दुई बर्षको छोरा छ । सत्यवादी उच्च माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्दै गर्दा सर्मिलाले नरेन्द्रलाई फोन गर्नुहुन्थ्यो । सर्मिलाका बुबाले छोरीले अरु केटालाई फोन गरेको थाहा पाएर उहाँको मोवाइल नै फुटाइदिनुभयो ।

बुबाले फोन फुटाइदिएपछि पनि सर्मिलाले साथिहरुको मोवाइलबाट फोन गर्न थालिन् । पछि नरेन्द्रले नै सर्मिलालाई मोवाइल किनिदिनुभयो । आठ कक्षामा पढ्दै गर्दा सर्मिलाले नरेन्द्रसँग विवाह गर्नुभयो । सर्मिलाले भन्नुभयो, ‘अहिले दुबै जना विद्यालय जाँदैनौ । घरको काममा नै ठिक्क छ । तर जीवन भने दिक्क लाग्दो बनेको छ । सँगैका साथिहरु रोजगारी गर्न थालेका छन् । तर हामीले भने यस्तो जीवन जिउनु परेको छ ।’

यस्तै मोवाइल बाट माया पे्रम बसेर १९ बर्षको उमेरमा नै दुई छोरा र एक छोरीकी आमा बन्नु भएकी सुर्माकी तुलसी बोहराको पनि उस्तै ब्यथा छ । मोवाइलमा माया पे्रमका कुरा गर्दै उनले पाँच वर्ष पहिले विवाह गर्नुभयो ।

सुर्मामा जस्तै रिलु, मेलविसौना, मष्टा, काँडा, सर्मा दौलीचौर, मौलाली, सैनपसेला, भातेखोल, देउलीकोट, बुंगललगायत जिल्लाका २२ भन्दा वढी ठाउँमा अहिले पनि सानै उमेरमा विवाह गर्ने प्रचलन छ ।

सात कक्षामा पढ्दै गर्दा विवाह गर्नुभएकी अर्की १३ वर्षीया प्रियङ्का विस्टका अनुसार घरबाट विद्यालय जानु र माइतबाट विद्यालयमा जानुमा धेरै फरक छ । उहाँ भन्नुहुन्छ, ‘घरमा त सबै काम आफैँले गरेर मात्र विद्यालय जान पाइन्छ । घरकै काम गर्न भ्याइँदैन ।’

११ वर्षकै उमेरमा ६ कक्षामा पढ्दै गर्दा विवाह गर्नु भएकी १५ वर्षिया गोमा कुमारी विष्ट अहिले १० कक्षामा पढ्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विवाह गरेपछि पढ्न निकै दुःख हुन्छ । दुःख गरेर पढे पछि सुख पाइएला कि ?’

सुर्मा र आसपासका गाँउपालिकामा अधिकांस छात्राहरुको १२ देखि १५ बर्षको उमेरमा विबाह हुने गरेको दौलिचौर माविका प्रधानाध्यापक शिवराज जोशिले बताउनुभयो । ‘विवाह गर्नुअघि उत्कृट हुने छात्राको पनि विवाह पछि पढाइ कमजोर भएको पाएका छौँ ।

जोशीले भन्नुभयो ‘अन्य छात्राको भन्दा विवाहीत छात्राको हाजिरी कम छ ।’ अहिले यहाँ बढी जस्तो मोवाइलका कारण विवाह गर्ने प्रचलन बढी रहेको छ । सानै उमेरका विद्यार्थीहरुको हातमा मोवाइल रहेका कारण भागेर विवाह गर्ने प्रचलन बढीरहेको उहाँले बताउनुभयो ।

यो समस्या एक दुई ठाँउको मात्र नभई जिल्ला भरी नै छ । कम उमेरमा नै विवाह गर्ने, छोराछोरी जन्माउने अनि विद्यालय छोड्ने पनि उत्तिकै छन् । यस्तै जालपा उमाविमा अध्यनरत विवाहित १५ बर्षीया कमला खड्का सानो उमेरमा विवाह नगर्न अरुलाई सुझाव दिनुहुन्छ ।

विवाहित छात्राहरु पढाइको भन्दा बढी घरधन्दाको बारेमा सोच्ने हुनाले उनीहरुको पढाइमा ध्यान केन्द्रित हुन नसकेको हिमालय माध्यमिक विद्यालयकी शिक्षिका जानकी विष्टले जानकारी दिनुभयो । सानै उमेरमा विवाह हुदा शैक्षिक मात्र नभइ शारिरिक र मानसिक रुपमा पनि उनीहरु कमजोर हुने गरेका छन् ।

यस ठाउँका मानिसहरु कृषि पेशामा आवद्ध छन् । यस जिल्लामा स-साना केटाकेटी देखि बुढाबुढीले समेत सक्दो काम गरिरहेका हुन्छन् । पहिलेको तुलनामा छोरी बुहारीलाई पढाउनु पर्छ भन्ने भावनाको विकास भएको भए पनि सानैमा विवाह गर्ने प्रचलनले स्कुले बुहारीको पढाइ कमजोर हुने गरेको छ ।

विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाका तत्कालीन २० वटा गाविसमा बालविवाहसम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गरिरहेको भए पनि यसबाट उपलब्धि हासिल हुन सकको छैन ।

जिल्ला समन्वय समिति बझाङको २०६६ सालको तथ्याङ्क अनुसार ५ सय २८ जना बालिकाले १० बर्ष भन्दा कम उमेरमा ८ हजार ८ सय ४२ जनाले १० देखि १४ वर्षमा ३३ हजार १ सय ३१ जनाले १५ देखि १९ वर्षको उमेरमा विवाह गरेका छन् । ujyaaloonline

The post मोबाईलले गरेको बाल विवाहको परिणम ‘न गरी खानु न मरी जानु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.