खुशिको खबर: चिनियाँ कम्पनीले सुरु गर्‍यो पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य ..

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा प्रवेश गरेको छ। नागरिक उड्डयन प्राधिकरणले चिनियाँ सरकारी ठेकेदार कम्पनी सीएएमसीइलाई असार २७ गतेदेखि निर्माण समय सुरु भएको भन्दै पत्राचार गरेको थियो। सीएएमसीइले कामदार लगायत आफ्नो टिम बस्ने शिविरको निर्माण थालिसकेको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले निर्माण कम्पनीद्वारा थालिएको शिविर निर्माणको बुधबार उद्घाटन गरे। ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर जेरी याङले सम्झौता अनुसार २०७८ साल असार २६ गतेभित्रै पूरा गर्ने गरी निर्माण अघि बढाउने बताए।

‘अहिले बर्खा छ, पहिला हामी बस्ने क्याम्प बनाउँछौं’, उनले भने, ‘हिउँद लागेपछि यहाँ ठुल्ठूला निर्माण सामग्री पनि आउँछन्, धावनमार्ग सम्याउन सुरु गर्छैँ।’ हिउँदमा धानवमार्ग, ट्याक्सीवे र टर्मिनलको स्थानको छनक आउने गरी निर्माण हुने जानकारी पनि उनले दिए।

प्रोजेक्ट म्यानेजर याङले नेपालको नागरिक उड्डयन प्राधिकरण र आफूहरुबीच कुनै समस्या नरहेको पनि बताए। ‘हामी कहिलेसम्म कतिकति काम भ्याइसक्छौं भन्ने कार्यतालिका नै प्राधिकरणलाई बुझाउँछौ’, उनले भने, ‘स्थानीय र सरोकारवाला सबैको सहयोग लिएर अघि बढ्छौं।’ अहिले सय जनाको टिम पोखरामा आइसकेको जानकारी पनि याङले दिए। बसोबासको बन्दोबस्त मिलाउन शिविर निर्माण गरिरहेकै समयमा विमानस्थलको डिजाइन पनि बनाउँदै जाने उनले सुनाए।

मन्त्री देवले सरकारका तर्फबाट विमानस्थल निर्माणमा पूरापूर सहयोग गर्ने बचन दिए। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल निर्माण पूरा हुँदासम्म हवाईमार्ग सम्बन्धी समस्या सुल्झाइसकिने सुनाए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अन्तर्राष्ट्रिय हवाई नीतिअनुसार भारतसँग लिनुपर्ने हवाईमार्गको अनुमति प्राप्त नगरेसम्म विमानस्थल बन्नुको अर्थ नहुने बताएका थिए।

विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक सांसद रवीन्द्र अधिकारीले आवश्यक थप जग्गा अधिग्रहणलाई तुरुन्तै सल्टाउने र भदौ १५ भित्र त्यसको मुआब्जा तोक्ने बताए। कानुन मन्त्री यज्ञबहादुर थापाले स्थानीयको तर्फबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता व्यक्त गरे।

सांसद अधिकारीका अनुसार विमानस्थल वरिपरि रिङरोड निर्माणका लागि थप ५० रोपनी अधिग्रहण गरिँदैछ। त्यसैको मुआब्जा भदौ १५ भित्र तोकिसक्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको हो।

त्यसअघि ६ सय २९ रोपनी जमिन विमानस्थलका लागि थप अधिग्रहण गरिएको थियो। त्यसमध्ये १३ रोपनीको अझै मुआब्जा वितरण बाँकी छ। ४० वर्षअघि ३१ सय ५० रोपनी जमिन विमानस्थलका लागि भनेर सरकारले लिएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर प्रदीप अधिकारीले ऋण सम्झौता लगायत सम्पूर्ण प्रक्रिया पूरा भइसकेको हुँदा निर्माणका लागि असार २७ बाट समय सुरु भएको जानकारीसहित ठेकेदार कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए।

पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा विमानस्थल निर्माणको शीलान्यास २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए। निर्माण खर्च चिनियाँ एक्जिम बैंकबाट ऋण लिनका लागि प्रधानमन्त्री ओलीले गत वर्ष चैत दोस्रो साता आफ्नो भ्रमणकै क्रममा सम्झौता गरेका थिए। चीनबाट उपलब्ध हुने झन्डै २२ अर्ब ऋण नागरिक उड्डयन प्राधिकरणलाई सरकारले सहायक सम्झौतामार्फत दिने अर्काे सहमति पनि भइसकेको छ।

सरकारी स्वामित्वको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइले पोखरा विमानस्थल निर्माण गर्न २०७१ वैशाख २९ गते ठेक्का पाएको थियो। उसले निर्धारित समयमै पूरा नगरे सरकारलाई क्षतिपूर्ति दिनेसर्तमा ठेक्का लिएको हो। २५ सय मिटर धावनमार्ग हुने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० मोडलका वा ती सरहका जहाजले उडान र अवतरण गर्न सक्छन्।source:annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.