कतारबाट श्रीमानले तिमी अझै मरेकी छैनौ भनेपछि..

काठमाडौं, भदौ ५ – ‘ए तिमी पो ! तिमी अझै मरेकी छैनौ’ झण्डै एक महिनापछि फोनमा बोलेका श्रीमानका यस्ता कुरा सुनेपछि चन्द्रमायालाई छाँगाबाट खसे जस्तै भयो ।
त्यतिबेला श्रीमानले फोन नउठाएको एक महिना भन्दा धेरै भइसकेको थियो । आफ्नो नम्बरबाट गरेको फोन नउठाएपछि चन्द्रमायाले बहिनीकी छोरीको मोवाइलबाट फोन गर्नुभएको थियो । फोन उठाएका श्रीमानले राम्रोसँग कुरा गर्लान भन्ने सोचेकी चन्द्रमायालाई यो भन्दा ठूलो आघात के हुन्थ्यो र ।
त्यसैले उहाँले पनि ‘किन तपाईंका लागि म मर्नुपर्ने थियो र ? यदी मर्नुपर्ने हो भने आउनुस् तपाईंकै अगाडि मर्दिन्छु’ भन्नुभयो । त्यसपछि उहाँसँग फोन सम्पर्क बन्द छ ।
सिन्धुपाल्चोककी चन्द्रमाया तामाङ र कास्कीको मिजुरे डाँडा गाविस २ का डिलबहादुर क्षेत्रीको भेट विदेशमै हुँदा भएको थियो १० वर्ष भन्दा पनि अघि । त्यतिबेला चन्द्रमाया ओमानमा हुनुहुन्थ्यो अनि डिलबहादुर कतारमा ।

ओमानमा काम गर्दै गरेको घरमा पैसा नपाएपछि चन्द्रमाया नेपाल फर्किने सोच लिएर फर्काइदिने कार्यालयमा पुग्नुभएको थियो । तर घर साहुनीकी दिदीले आफूले राम्रो काम दिने भन्दै उहाँलाई ब्युटी पार्लर र गार्मेन्ट कम्पनीसहित चार ठाउँमा पुर्याइन् । ब्युटी पार्लरमा काम गर्न पढाइ चाहिने तर चन्द्रमायाले धेरै पढ्नुभएको थिएन । त्यसैले उहाँले गार्मेन्टको काउन्टर बस्ने काम गर्न थाल्नुभयो ।
डिलबहादुरकी काकाकी छोरी पनि त्यही कम्पनीमा काम गर्थिन् । काम गर्नेहरुको मोबाइल काउन्टरमै छोड्नुपर्ने भएकाले डिलबहादुरले बहिनीलाई फोन गर्दा चन्द्रमायासँग कुराकानी हुन थाल्यो । त्यही क्रममै उहाँले विहे गर्ने निधो गर्नुभएको थियो ।

१० वर्ष अघि दुवै जना सँगै काठमाडौं ओर्लिए अनि विहे गरे । चन्द्रमायाको यो दोस्रो बिहे थियो । बिहेपछि कास्कीका डिलबहादुरको बसाई सिन्धुपाल्चोकतिर सर्यो ।डिलबहादुर विहे गरेर ४ महिना बसेपछि कतार फर्किनुभयो । कतार गएका डिलबहादुर ६ वर्षमा दुई पटक घर आउनुभयो ।
घर आउँदा जाँदा मात्रै होइन कतारबाट पनि फोनमा राम्रै कुराकानी गर्नुहुन्थ्यो डिलबहादुरले । ६ वर्षमा नेपाल आएका डिलबहादुरले घरको डिपीसी हालेर कतार जानुभएको थियो । त्यसैले घर बनाउन साढे दुई लाख रुपैयाँ पनि पठाउनुभयो । तर त्यसपछि भने डिबहादुरको व्यावहार फेरियो ।
फोन गर्ने क्रम पातलिन थाल्यो । ‘उताबाट फोन आउँदैनथ्यो अनि मैले नै यताबाट गर्दा पनि त्यति धेरै चासो दिनुहुन्नथ्यो’ चन्द्रमायाले भन्नुभयो । चन्द्रमायाले आफू विरामी परेको भन्दै घर आउन आग्रह गर्नुभयो तर उहाँले सँधै म पैसा पठाइदिन्छु उपचार गर्नु म अहिले आउँदिन मात्रै भनिरहनुभयो ।
अघिल्लो वर्षको चैतमा चन्द्रमायालाई अनौठो फोन आयो कतारबाट । फोन गरेकी थिइन् मकवानपुर माइत अनि घर सिन्धुपाल्चोकको चौतारा स्याउली घर बताउने सीता तामाङले ।
‘उसले मलाई तपाईं डिलबहादुर ड्राइभर को हो भनेर सोधि मैले श्रीमान हो भनें अनि मैले पनि उसलाई तपाईं चाहिँ को हो त भनेर सोध्दा उसले म डिलबहादुरलाई दाई मान्छु भनि’ अपरिचित महिलाका कुरा सुनेपछि चन्द्रमाया तनावमा पर्नुभयो ।

डिलबहादुर कास्कीका अनि बहिनी भन्ने महिला मकवानपुर माइत, सिन्धुपाल्चोक घर भनेपछि चन्द्रमायालाई उनीहरुको सम्बन्धमा शंका लाग्यो । त्यसैले उहाँले त्यो दिन दुवै जनाको फेसबुक हेर्नुभयो । त्यो दिन राती ३ बजेसम्म एक्टिभ भएको दुवै जनाको फेसबुक त्यसपछि चलाएको देखिँदैन ।
सीताले डिलबहादुरका बारेमा सोधिनन् मात्रै धेरै प्रशंसा पनि गरिन् । ‘उहाँ धेरै सहयोगी हुनुहुन्छ हामी कहिलेकाहीँ कम्पनीबाट ढिलो हुँदा उहाँले गाडीमा पुर्याइदिनुहुन्छ’ चन्द्रमायाले सीताले भनेका कुरा सुनाउनुभयो ।
श्रीमानका बारेमा प्रशंसा गरिरहँदा उहाँको मन खुशी थिएन् । किनकी उहाँले श्रीमानबाट श्रीमतीले पाउनुपर्ने व्यावहार पाइरहनुभएको थिएन् । उहाँलाई श्रीमानले त्यही केटीसँग नयाँ घरजम गरेकी जस्तो पनि लागेको छ ।
श्रीमान् बेपत्ता भएपछि उहाँले कतारमै भएका आफन्तहरुलाई खोज्न पनि लगाउनुभयो । उनीहरुबाटै श्रीमानले कहिले काहिँ कतारमा रहेको नेपाली दुतावासको गाडी चलाउनुहुन्थ्यो भन्ने पनि थाहा पाउनुभयो । तर दुतावाससँग सम्पर्क गर्ने पहुँच उहाँसँग छैन् । त्यसैले उहाँ अहिले पनि दुतावासमा सम्पर्क गरेर कसैले सोधिदिए श्रीमानका बारेमा यथार्थ थाहा हुन्थ्यो भन्ने आशमा हुनुहुन्छ ।

उहाँले भएका आफन्तलाई बुझ्न लगाउँदा फरक फरक कुरा सुन्नुभयो । कसैले श्रीमान् कतारमै छन् कसैले चाहिँ नेपाल गएको छ भने त्यसैले अहिले डिलबहादुर कहाँ छन् भन्ने पनि टुङगो छैन । साथीहरुले उनी विदामा नेपालको गएको भनेकाले अहिले त उनी फेरि कतार नै फर्किसके होला भन्ने चन्द्रमायालाई लाग्छ ।
श्रीमान् खोजिदिन आग्रह गर्दै उहाँले सिन्धुपाल्चोकमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन पनि दिनुभएको छ ।
डिलबहादुले डिपीसी हालेर गएको घर भुकम्पले भत्कायो
६ वर्षमा घर आउँदा डिलबहादुरले घरको जग हालेर जानुभएको थियो । घर बनाइसक्न साढे दुई लाख रुपैयाँ पनि पठाउनुभयो ।
श्रीमानले पठाएको पैसाले चन्द्रमायाले घर त बनाउनुभयो तर २०७२ सालको भूकम्पले घर चर्किएको छ । त्यसैले केही दिन अघि आएको पानी न छतले छेक्यो न भुइँले । भुकम्पले चर्किएको घरको छतबाट पानी चुहियो अनि जमिनबाट भल पस्यो । त्यसैले अहिले उहाँ समस्यामाथि अर्को समस्या झेलिरहनुभएको छ ।

(जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रकी कार्यक्रम संयोजक रीना श्रेष्ठको सहयोगमा)

source :-मोहन पौडेल/ उज्यालो

The post कतारबाट श्रीमानले तिमी अझै मरेकी छैनौ भनेपछि.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.