अभिनेत्री दीपाश्री निरौलाको जीवन : भन्छिन्- ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

‘व्यस्तै छु,’ हिजो (साउन २८ गते) प्रज्ञाप्रतिष्ठान कमलादीमा भेटिएकी अभिनेत्री दीपाश्री निरौलाले सुनाइन्, ‘असोज ११ मा छक्कापन्जा–२ रिलिज हुँदै छ । त्यसकै पोस्ट प्रोडक्सनमा व्यस्त छु ।’ आफ्नै प्रोडक्सनबाट निर्मित प्रदर्शन तयारीमा रहेको छक्कापन्जा–२ चौथो फिल्म हो ।

पहिले/पहिले रेडियो नाटक, फिल्ममा समेत अभिनय गर्ने अभिनेत्री निरौला हिजोआज पनि रेडियो अडियोमा कार्यक्रम सञ्चालन गर्न भ्याएकी छन् ।

मेरो खाना
दाल, भात, तरकारी नै मीठो लाग्छ । पनिरका परिकार असाध्यै मन पर्छ । बैगुनको तरकारी खान नपरे हुन्थ्यो भन्ने लाग्छ । नामै बैगुन भएर हो कि त्यसमा धेरै गुन छ जस्तो लाग्दैन । रेष्टुरेन्ट गइरहनेमा पर्दिनँ । रेष्टुरेन्ट पुगिहाल्दा भेज मःमः, पकौडा आदि खाने गरेकी छु । पकाउने रुचि त्यति छैन ।

मेरो पोसाक
विशेषतः टीसर्ट र पाइन्ट मन पर्छ । उल्लिखित कपडा लगाउँदा सजिलो लाग्छ । तर, ‘अकेजन’ अनुसार बनिएर हिँड्न मन लाग्छ । कपडामा यति नै खर्च हुन्छ भनेर हिसाब/किताब कहिल्यै गर्दिनँ ।

रातो, कालो, पहेँलो, सेतोलगायत सबै रङका कपडा मन पर्छ । मोटी भएकीले कालो रङको कपडा प्राथमिकतामा पर्ने गरेको छ । धेरैजसो कपडा वुटिककै प्रयोग गर्दै आएकी छु । ब्रान्डेड कपडाको चुजी छैन । ब्रान्डको महत्व रहे पनि लगाएको कपडा सुहाउँदिलो हुनुपर्छ भन्ने मान्यता छ ।

मेरो फिटनेस
दैनिक बानेश्वर हाइटदेखि पशुपतिनाथसम्म ‘मर्निङवाक’ गर्छु । धेरै खाना खान्न । खाना र आलु कम खाने गरेकी छु । चिनी खाँदै खान्न । दैनिक २० मिनेट प्राणायाम गर्दै आएकी छु । शारीरिकमात्रै नभएर मानसिक रूपमा पनि मानिस स्वस्थ रहनुपर्छ ।

मेरो अध्ययन
पछिल्लो समय अभिनेता हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पढें । कसैको जीवनी पढ्न जाँगर चल्छ । किनेरै किताब पढ्ने गरेकी छु । सबैले त्यसो गरे पठन संस्कृति विकास हुनेछ ।

मेरो घुमफिर
घुमफिरमा अभिरुचि छ । भन्नेले खुट्टामै चक्र लिएर आकिछेस् भन्ने गरेका छन् । नेपालका धेरै जिल्ला पुगेकी छु । भगवान्को कृपाले नेपाली पुगेका अधिकांश देश पुगेकी छु । पोखरा जति घुमे पनि अघाउँदैन । विदेशमा दुबई गइरहन मन लाग्छ । दुबई आठ/दसपटक पुगेकी छु ।

मेरो फुर्सद
आउँदो असोज ११ गते चलचित्र छक्कापन्जा–२ प्रदर्शन तयारीमा व्यस्त छु । जति व्यस्त रहे पनि आराम गर्नै मन लाग्दैन । एक दिनमात्रै घर रहन परे जेलमा बसेजस्तै लाग्छ । फुर्सद भइहालेमा साथीभाइसँग भेटघाट, रमाइलो गरेर बिताउँछु । फिल्म हेर्न जान्छु ।

मेरो खेलकुद
विद्यालयतहसम्म कबड्डी खेलें । दाइहरू क्रिकेट खेल्दा छक्का भन्नसमेत तयार हुन्थें । फुटबल पनि खेलें । माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग फुटबल खेलेकी थिएँ । नेता भर्सेस कलाकारअन्तर्गत प्रचण्डसँग फुटबल खेलेकी थिएँ ।

मेरो मोबाइल
मोबाइल सेट धेरै बोक्न लाज लाग्छ । आइफोन सेभेन प्रयोग गर्दै आएकी छु । यो भाइले बेलायतबाट पठाइदिएका हुन् । मोबाइलका ‘एप्लिकेसन्स’ सबै प्रयोग गर्छु । मोबाइलमा गेम खेल्न अल्छी लाग्छ ।

मेरो टीभी
टीभी हेर्ने बानी छुट्दै गएको छ । पहिले त धेरै हेर्थें । तीतोसत्य कहिल्यै छुटाउँदिनथें । भ्याइन्जेल टेलिशृंखला हेर्थें । घरमा सामसुङ र एलजीका दुई टीभी छन् । सामसुङ ६२ र एलजी ४२ इन्चका हुन् ।

मेरो चलचित्र
पछिल्लो समय चलचित्र प्रेमगीत–२ हलसम्मै पुगेर हेरें । पैसा तिरेरै चलचित्र हेर्ने गरेकी छु । अन्य अर्थ लाग्दैन भने आफ्नै चलचित्र ‘छ एकान छ’, ‘वडा नम्बर ६’ र ‘छक्कापन्जा’ मन पर्छ ।

पछिल्लो समय उदाएका नायकमा प्रदीप खड्का, अनमोल केसी र दीपकराज गिरी मन पर्छन् । प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतको अभिनय लोभलाग्दो छ ।

मेरो रोग
ज्यान एकदमै ‘पर्फेक्ट’ छ । भगवान्को कृपाले दीर्घरोगले समातेको छैन । ६÷६ महिनामा ‘चेकअप’ गराउँछु । नियमित ‘होलबडी चेकअप’ गराउन थालेको आठ/दस वर्ष भइसकेको छ । सकारात्मक सोचले मानिसलाई स्वस्थ राख्छ । सकारात्मक सोच भएकासँग मात्रै संगत गर्छु ।

मेरो भाषणशैली
कलाकार भएकाले भाषण गर्नैपर्छ । पोख्त नभए पनि भाषण गर्दा शब्द संयोजनमा सचेत छु । भाषण गर्दा ‘हो कि होइन’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्न जान्दछु । म नेतृ होइन, अभिनेत्री हुँ । तसर्थ, भाषण गरेकै आधारमा विवादमा तानिएकी छैन । भाषण गर्नअघि कुन विषयमा बोल्दै छु भनेर जानकारी हुनैपर्छ ।

मेरो मापसे
कहिलेकाहीं मादक पदार्थ खाने गरेकी छु । वाइन, ह्वीस्की र बियर खान्छु । वाइन दुई गिलास, ह्वीस्की दुई पेग र बियर दुई बोतलसम्म खाने गरेकी छु ।

मेरो संगीत
गीत/संगीत सुन्छु । मन पर्छ । रामकृष्ण ढकाल, सुगम पोखरेल, अञ्जु पन्त र मेलिना राईको आवाज श्रवणीय लाग्छ । जीवनसँग सम्बन्धित गीत गुनगुनाउन मन लाग्छ । आफ्नै फिल्मको ‘सुर्के थैली खै’ गीत गुनगुनाइरहन्छु । गीत पनि गाउने गरेकी छु ।

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेकी छैन । चलचित्र छायांकनक्रममा कहिलेकाहीं कलाकारलाई ‘डाइलग’ याद भइरहेको हुँदैन, त्यतिबेला ‘ह्या कस्तो गर्न नआएको’ भनिदिन्छु । भनिसकेपछि बेकारमा त्यसो भनेछु जस्तो लाग्छ । ‘सिनियर आर्टिस्ट’ परेको खण्डमा त्यस्तो गर्नुहुँदैनथ्यो भन्ने अनुभूत हुन्छ । मेरो स्वभाव झडंग रिसाउनेखालको छ ।

अप्रिल फुल मनाउनेक्रममा छोरा सिकिस्त भएर अस्पताल भर्ना गरेको छ भन्दा दिदी मुच्र्छा पर्दा आत्मग्लानि भएको थियो । कहिलेकाहीं भूल नगरी पनि सजाय पाइन्छ । तर, वास्तै गर्दिनँ ।

मेरो घर
चार वर्षअघि बानेश्वर हाइटमा घर किनेकी हुँ । आफ्नै कमाइले घर किनेकी थिएँ । तीनतले घर बंगला ‘स्टाइल’को छ । वास्तुशास्त्र मिलेको घर किन्न पाउने म भाग्यमानी रहेछु । त्यतिबेला एक करोड पाँच लाख रुपैयाँमा घर किनेकी थिएँ । अहिले अढाई करोड पुगिसक्यो ।

मेरो राशी
मेरा राशी कुम्भ हो । ग्रहदशा राम्रो छ । साउन २१ देखि राम्रो, भदौ २१ देखि झन् राम्रो हुँदै छ । कहिलेकाहीं ग्रहशान्ति गराउँछु । हातमा पन्ना, हीरालगायत लगाउँदै आएकी छु ।

मेरो सौन्दर्यचेत
कपालमा नरिवल तेल र तोरीतेल लगाउँछु । पतन्जलिद्वारा उत्पादित तेलसमेत प्रयोग गर्छु । महिनामा एकपटक फेसियल गर्ने गरेकी छु । अनुहारमा प्रायः ‘फाउन्डेसन/मेकअप’ नै हुन्छ । पफ्र्युम प्रयोग गर्छु । स्पा जान्छु । समय मिलाएर साउना बस्छु । स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने थाहा पाएपछि पहल गरिहाल्छु ।

मेरो प्रेम
‘स्कुल लाइफ’ मा कसैलाई प्रेम गर्थें । छुट्यो । बिहे गर्ने कुरोसमेत चले पनि भएन । त्यसपछि प्रेममा विश्वास छैन । बिहे गरेको भए यस्तो ‘करिअर’ बनाउन सक्दिनथें । अहिले त यही ठीक लाग्छ । बिहे गर्नुपर्छ भन्ने लागेको छ । छोरीले बिहे गरेको हेर्ने बुवाको तीव्र इच्छा छ । तर, देखेको होइन लेखेको चाहिँदोरहेछ ।

मेरो सपना
मुलुकभरि विस्तारित सडक खाल्डाखुल्डीरहित भइदिए हुन्थ्यो भन्ने लाग्छ । सडक राम्रो भए धेरै कुरा सहज हुन्छ । तसर्थ, सडकलाई प्राथमिकता दिनुपर्छ । बर्खा लाग्नबित्तिकै तराई/मधेस डुबानमा पर्छ । त्यसको स्थायी समाधान भए कति जाती हुन्थ्यो होला । त्यतिमात्रै होइन, असामाजिक मानिसले गरेको व्यवहार देख्दा, सुन्दा दुःख लाग्ने नै भयो ।

वैदेशिक रोजगारीका लागि बिदेसिएकालाई आफ्नै मुलुकमा रोजगारी दिन सके नेपाल बनाउन समय लाग्दैनथ्यो ।

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो तीतोसत्य हो । पहिले लागे पनि हिजोआज मृत्युसँग डर लाग्दैन । मलाई चारपटक जन्डिस र चारपटक टाइफाइड भएको थियो । तैपनि बाँचें । पहिले÷पहिले मेरो मलामी धेरै आऊन् भन्ने लोभ थियो । हिजोआज त्यस्तो लाग्दैन ।

‘नयाँ पत्रिका’बाट

The post अभिनेत्री दीपाश्री निरौलाको जीवन : भन्छिन्- ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.