काठमाडौं : नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिनुभएको छ।
.
उहाँले निर्वाचन सुरक्षाका क्रममा पड्कदै गरेको बम समातेर फ्याँक्ने प्रहरीको कामको उच्च प्रशंसा गर्नु भएको छ। दाङको एक स्थानीय निर्वाचनमा मतदान भइरहेका बेला प्रहरी हवल्दार दुर्गाबहादुर रानाले सम्भावित मानवीय क्षति राक्नु भएको थियो।
‘आम जनताको जनधनको सुरक्षाका खातिर आफ्नो किन्चित परवाह नगरी बिना हिचकिचाहट पड्कदै गरेको बम समेत टिपेर फ्याँक्नेसम्मको अदम्य साहसिक कार्य गर्ने लगायत सम्पूर्ण प्रहरी कर्मचारीको व्यवसायिक इमान्दारिता र कर्तव्यपरायणताले सिंगो नेपाल प्रहरी र सम्पूर्ण प्रहरी कर्मचारीको छाती पुनः एकपटक गर्वले चौडा भएको छ ’, दोस्रो चरणको निर्वाचनको मतदान भएको दुई दिनपछि विज्ञप्ती जारी गर्दै आईजी अर्यालले भन्नु भएको छ। उहाँले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिकाको पनि प्रसंसा गर्नु भएको छ।
.
त्यो दिन
आगोको मुस्लो बलेको बम आउँदै थियो, भूइँमा खस्न नपाउँदै च्याप्प समातेर सुरक्षित ठाउँमा अर्कोले फ्यालिदियो।सुन्दा साउथ इन्डियन फिल्मको दृश्य जस्तो लाग्ने यो घटना आज बिहान साढे नौ बजे दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय, प्रतापकोट, अम्बासमा भयो।
यो मतदान केन्द्रको सुरक्षामा केही दिनदेखि खटिएका थिए प्रहरी हवल्दार दुर्गाबहादुर राना। हजारभन्दा बढी मतदाता भएको यो केन्द्रमा बिहानैदेखि मतदाताको भिड थियो। सुरक्षामा खटिएकै बेला कसैले ढुङगा हानेको जस्तो आवाज उनले सुने। उनी भन्छन्, ‘यसो हेरेँ, देखेँ, आगोको मुस्लो बलेको बम। बम पड्किएको भए धेरैको ज्यान जाने जोखिम थियो।’
.
ड्युटीमा रहेका राना आफ्नो सुरक्षाका लागि भागेनन्। उनका अनुसार उनी अगाडि बढे र हावामै बम च्याप्प समातेर नजिकैको जंगलतिर हुर्याइ दिए। फालेको केही सेकेन्डमा नै बम विस्फोटन भयो।
‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो। त्यसैले बम समातेर फालेको हुँ’, ड्युटीमा खटिएकै अवस्थामा पहिलोपोस्टसँग फोनमा कुराकानी गर्दै रानाले बताए। करिब १६ वर्ष अगाडि प्रहरीमा भर्ना भएका रानाले आउँदो मंसीर महिनामा अवकाश पाउँदैछन्। ‘बम समातेर फालेपछि सबैले धन्यवाद र माया दिनुभयो’, उनले भने, ‘एकदमै खुसी लागेको छ।’ केही वर्षअगाडि बम डिस्पोजलसम्बन्धी तालिम लिएको कारणले पनि बम समातेर फ्याँक्न सकेको उनले बताए।
Post a Comment
Thanks.