आत्महत्याका लागि म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा हामफालेकी एक महिलाको युवाहरूले सकुशल उद्धार गरेका छन्। आत्महत्याका लागि दाउरा खोजेजस्तै गरेर नदीमा प्रवेश गरेकी अन्दाजी ४० वर्षकी ती महिलाले युवाहरूले उद्धार गर्न खोज्दा प्रतिकारको निकै प्रयास गरेको भए पनि उनलाई सकुशल नै नदीबाट बाहिर निकालिएको उद्धारमा सहभागी युवा पृथ्वी बानियाँले जानकारी दिए।
उनको बारेमा खोजतलासी गरिरहेको भए पनि कुनै पनि परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्। मानसिक रोगी जस्तै देखिने ती महिलाले पटक–पटक आफ्नो नाम र ठेगाना परिवर्तन गर्ने गरेको र धेरैजसो पटक आफ्नो घर धरान बताउने गरेको पनि प्रहरीले जनाएको छ। एभर ग्रिन युवा क्लवमा आवद्ध युवाहरूको प्रयासमा ती महिलाको उद्धार भएको हो।
मंगलबारदेखि सदरमुकाम बेनीमा हुन लागेको ‘सेभेन ए साइड’ कप फुटबलको तयारीका क्रममा क्लबमा आवद्ध युवाहरू खेलमैदानका लागि आवश्यक बालुवा लिनका लागि कालीगण्डकी नदीमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीले ज्यान जानबाट बचाएको भन्दै उद्धारमा संलग्न युवाहरू किसान कार्की, पुरन शाही, पृथ्वी बानियाँ, भरत श्रीपाइली, भुवन घर्तीमगरलगायतलाई विशेष धन्यवाद दिएको छ।
source:thahakhabar

Post a Comment
Thanks.