बिहे गर्ने फुर्सद नै छैन : रेखा थापा

रियालिटी शो ‘नेपाल आइडल’ को स्टेजमा राजेशपायल राईले गाइरहेको फोटो सेयर गर्दै अभिनेत्री रेखा थापाले आफ्नो फेसबुकमा लेखेकी थिइन्, ‘ओ माइ गड! आइ लभ यु राजेशपायल राई! यु आर रियल्ली किङ, फ्यान अफ योर्स भोइस एन्ड पर्फमेन्स!’

राजेशपायल राईले सांगीतिक प्रस्तुतिका लागि भोजपुर पुग्दा मुख चोसो पारेर हातभरी रातो गुलाफको गुच्छा लिँदै पलेटी कसेकी रेखाको फोटो राख्दै क्याप्सनमा लेखे, ‘मेरो मान्छे मिस यु! प्रसंग भोजपुर!’

यसैलाई सेयर गर्दै रेखाले ‘रिप्लाई क्याप्सन’ लेखिन्, ‘आइ मिस यु टु किङ … भोजपुर अनि सिडओ!’

एउटा संगीत र एउटा फिल्मक्षेत्रको चर्चित व्यक्तिका यस्ता ‘मिस’ र ‘लभ’ वाला स्टाटस ‘गसिप मेकर’का लागि ठूलै खजाना हुने भइहाल्यो!

एक अन्तरवार्तामा त राजेशपायल राईले खुल्लम–खुल्लै भनिदिए, ‘रेखालाई प्रेम गर्छु, बिहे गर्ने सम्भावना छ।’

आगो बलि’गो!

रेखा बाठी छिन्। सधैं चर्चाको टुप्पोमा रहन रुचाउने रेखालाई बेच्ने कला थाहा छ। त्यसैले उनी आफूले बनाएका फिल्म बेच्ने बेला बजारतिर दुई–चार जाल फिँजाउँछिन्, ताकि सोहोरिएर आफूतिरै आउन्!

कुरा बुझ्नुभयो? रुद्रप्रिया रिलिज हुँदैछ!

रेखासँग यिनै ‘बिहेका हल्ला’ बारे सोध्दा थाहा भयो, हल्लाको मामलामा रेखाभन्दा राजेश पो खप्पिस रहेछन्!

प्रेमको प्रसंग उप्काउनेबित्तिकै रेखा खित्का छोडेर हाँसिन्।

केहीबेरसम्म हाँसिरहिन्।

(रेखालाई हाँस्ने कला पनि थाहा छ!)

‘एउटै क्षेत्रको भएपछि डेफिनेट्ली माया त भइहाल्छ नि। तर बिहे नै हुने भन्ने त हैन नि। सोच्न पनि कसरी सक्या भन्या!’ अनि, राजेशपायललाई आरोप लगाइन्, ‘त्यो दाइले हाउडे तालमा भनेको हो क्या! त्यो दाइ क्या फन्डा गरिरहेको हुन्छ क्या! जिस्केको कुरा पनि के पत्याइरहेको भन्या! ऊ पनि सिंगल, म पनि सिंगल। कसैले सोध्दा भनिदिए होलान्। जोक त हो नि भन्या।’

रेखा र राजेश कलाक्षेत्रका पुराना व्यक्ति हुन्। फिल्मको पाश्र्वसंगीतमा समेत उत्तिकै जमेका राजेश र रेखाबीच कलात्मक साइनो हुने भइहाल्यो। रेखासँग नाचेका थुप्रै ‘हिरो’हरुले राजेशको गीतमा ओठ नचाएका छन्। लामो समयदेखि चिरपरिचित यी दुईको समानता भनेको यी दुवै ‘सिंगल’ हुन्।

यही समानताले नै बिहेको हल्ला फिँजाइदिएको रेखा बताउँछिन्। ‘म पनि जिस्किँदै भन्छु नि बेला बेला, त्यो केटा कस्तो राम्रो, बिहे गर्नुपर्छ कि क्या हो,’ रेखा भन्छिन्, ‘त्यो त सिरियस्ली भन्या हैन नि। आइ लभ यु, आइ मिस यु भन्नु कुन नौलो कुरा भयो र भन्या!’

रेखाको भनाइमा यो पुरै राजेशको ‘फन्डा’ हो। तर, राजेशसँग उनको कुनै गुनासो भने छैन रहेछ। हुन पनि उनले भनेको सत्य रहेछ भने जिस्किँदा नि के गुनासो त!

बरु उनले राजेशको बखान गर्न थालिन्। ‘मिल्ने भए त राजेश दाइलाई म स्वरसम्राट उपाधि नै दिन्थेँ,’ तुरुन्तै आफ्नो बोली सच्याइहालिन्, ‘व्यक्तिगत रुपमा मैले प्रशंसा गर्न त किन नपाउनु र!’

कतै राजेश माध्यम बनिदिएका त हैनन्? (हल्लाका कुरा गर्दा रेखाको हकमा अलि बढ्तै शंका गर्ने छुट छ!)

रुद्रप्रिया रिलिज नजिकिएकाले ‘फन्डाको सर्जक’ रेखा नै हुनसक्ने कुरालाई उनले ठाडै अस्वीकार गरिदिइन्। त्यसपछि रेखाले दुई–चार ‘डोज’ दाबी पेलिन्!

रुद्रप्रिया आफैंमा राम्रो बनेको र राम्रो चिजलाई ‘फन्डा’ को बलले प्रचार गर्नु आवश्यक नहुने रेखाको दाबी रह्यो। बिहे आफ्नो नितान्त व्यक्तिगत मामला भएकाले फिल्मसँग जोड्न आवश्यक नरहने पनि उनको भनाइ छ।

अहिले त उनलाई लभ गर्ने, बिहे गर्ने फुर्सद नै छैन रे! यी कुरा उनलाई ‘झिनामसिना कुरा’ लाग्छन् रे!

‘रेखा थापासँग लभ गर्ने, बिहे गर्ने फुर्सद नै कहाँ छ र भन्या!,’ रेखाले भनिन्, ‘म त एउटा उद्देश्य बोकेर हिँडेको मान्छे। मलाई अझै धेरै गर्नुछ। बिहेको कुरा त मैले सोच्नै भ्याएको छैन। सोच्ने बेला पनि छैन। मायाप्रेममा अल्झिएर जिन्दगी बिताउने समय होइन यो। फिल्म नै अहिलेको मेरो ब्वाईफ्रेन्ड हो, श्रीमान् हो!’

एकछिनपछि उनकै कुरा फनक्क घुम्यो। अघिसम्म बिहेलाई ‘नितान्त व्यक्तिगत’ भन्दै आएकी उनले आफू नै निजी नभएको बताइन्। भनिन्, ‘मेरो प्राइभेट लाइफ पनि त छैन नि,’ उनले भनिन्, ‘ब्वाईफ्रेन्ड भएको भए म भनिहाल्थेँ नि। रेखा थापालाई केको लाज, कसको डर!’

The post बिहे गर्ने फुर्सद नै छैन : रेखा थापा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.