ठूलो पर्दाको हिट कथा नक्कल गरेर टेलिसिरियल, नेपाली फिल्मबाट पनि बनेको छ हिन्दी सिरियल

‘कपी क्याट’ को रोगले बलिउडको ठूलो पर्दा मात्र प्रभावित छैन। विभिन्न टेलिभिजन च्यानलको सानो पर्दामा प्रसारण हुने धारावाहिकहरू पनि अर्काको कथाबाट प्रभावित हुने गरेका छन्। जहाँ बलिउडका फिल्म हलिउडबाट साभार गरिएका हुन्छन्, त्यहीँ सानो पर्दाको कथा र विषयवस्तु ठूलो पर्दाबाट प्रभावित हुने गरेको पाइन्छ।

सञ्जयलीला भन्सालीले ‘बाजीराव मस्तानी’ बनाएर मराठा इतिहासलाई ठूलो पर्दामा मात्र जीवित पारेनन्, अहिले सोनी च्यानलको सानो पर्दामा पनि यो इतिहास धारावाहिकका रूपमा प्रसारण भइरहेको छ। ‘पेशवा बाजीराव’ नामको उक्त धारावाहिक पछिल्लो समय खुबै लोकप्रिय छ।

‘पेशवा बाजीराव’ का लेखक फैजल अख्तर भने आफ्नो धारावाहिकलाई बलिउड फिल्मको अनुकरण मान्न तयार छैनन्।

‘सानो पर्दा ठूलो पर्दाको नक्कल गर्दैन, बरु ठूलो पर्दालाई ठूलो भाइको समान मानेर त्यसबाट मार्गदर्शन लिन्छ। पेशवा बाजीराव सिरियलमा हामीले बाजीरावको कथा मात्र देखाएका छैनौं, यसमा पेशवा आसपासका बासिन्दाको जीवनशैली पनि देखाइएको छ,’ उनले भने।

‘जिन्दगी’ च्यानलमा प्रसारण भइरहेको धारावाहिक ‘अगर तुम साथ हो’ को कथा पनि यश चोपडाको सुपरहिट फिल्म ‘डर’ मा आधारित छ। ‘डर’ मा शाहरुख खान जसरी जूही चावलाप्रति आसक्त हुन्छन् र उनलाई पाउन कुनै कसर छाड्दैनन्, त्यस्तै यो धारावाहिक ‘अगर तुम साथ हो’ मा पनि यस्तै साइको–प्रेमीको कथा देखाइएको छ।

‘एंड टिभी’ मा प्रसारण भइरहेको धारावाहिक ‘बडे बहू’ लाई ‘दंगल’ को सिक्वेलका रूपमा निर्माण गरिएको छ। ‘दंगल’ मा जसरी आमिर खान आफ्ना छोरीहरूलाई कुस्ती खेल्न प्रेरित गर्छन्, यो धारावाहिक पनि कुस्ती खेल्ने छोरीहरूको कथामा आधारित छ।

यो धारावाहिक ‘दंगल’ सँग मात्र होइन, सन् २०१५ मा रिलिज भएको ‘दम लगाके हैसा’ फिल्मसँग पनि केही हदसम्म मिल्दोजुल्दो छ।

उमेश शुक्ला निर्देशित ‘ओएमजी’ ले सन् २०१२ मा धूम मच्चाएको थियो। विष्णु भगवान स्वयं धर्तीमा अवतरित भएर धर्म र पाप, नास्तिक र आस्तिकबीचको भेदबारे बहस गरेको उक्त सिनेमाको त्यही विषयवस्तुमा आधारित सिरियल ‘जिटिभी’ मा प्रसारण भयो। त्यसको नाम थियो, ‘नीली छतरीवाले’।

धारावाहिक ‘नीली छतरीवाले’ मा अभिनेता यशपाल शर्माले भगवान दासको भूमिका निर्वाह गरेका छन्। यो धारावाहिक निर्माण गरेका अश्विनी धीर ‘अतिथि तुम कब जाओगे’ र ‘सन अफ सरदार’ जस्ता फिल्मका निर्देशक हुन्।

सन् २००१ मा रिलिज भएको शाहरुख खानको ‘अशोका’ मा आधारित रहेर पनि धारावाहिक बनेको छ, जुन ‘कलर्स’ टेलिभिजनमा प्रसारण भइरहेको छ। यो चक्रवर्ती सम्राट अशोकको जीवनकथामा आधारित छ।

आशुतोष गोवारिकर निर्देशित तथा हृतिक रोशन र ऐश्वर्या राय अभिनीत ‘जोधा अकबर’ को कथामा आधारित धारावाहिक पनि अहिले ‘जिटिभी’ मा प्रसारण भइरहेको छ।

दूरदर्शनको ‘इन्तजार और सही’, स्टार प्लसको ‘सगुन’ र कलर्स टेलिभिजनको ‘उडान’ जस्ता धारावाहिकका लेखक राजेश सक्षम सबै मान्छेको बलिउड फिल्ममा पहुँच नहुँदा त्यही कथालाई सानो पर्दामा देखाउनु सकारात्मक भएको बताउँछन्।

‘कतिपय ठूला फिल्महरू साना स्टेसनका साना सिनेमाघरमा कहिल्यै प्रदर्शन हुँदैनन्। त्यहाँका जनताले ती सिनेमा हेर्न टेलिभिजन आउने समय नै कुनुपर्छ। त्यसैले, ठूलो पर्दामा देखाइएको कथालाई सानो पर्दामार्फत् अझ ठूलो जनसमुदायमाझ पुर्याउनु राम्रो हो भन्ने मलाई लाग्छ,’ उनले बिबिसीसँग भने, ‘यसमा हामीले दर्शकको राम्रो प्रतिक्रिया पनि पाइरहेका छौं।’

फिल्मको कथालाई अझ परिस्कृत रूपमा धारावाहिकमा प्रस्तुत गर्न सकिने उनको भनाइ छ।

‘फिल्ममा साढे दुई घन्टाभित्रै कथा सकाउनुपर्ने चुनौती हुन्छ। धारावाहिकमा भने एउटा पात्र मात्र मूख्य भूमिकामा हुँदैन, बरु यसमा पात्र र उसँग जोडिएका सबै व्यक्तिहरूको कथालाई गहन रूपमा प्रस्तुत गरिएको हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो कोशिस भनेको पात्रको जिन्दगीमा भएका त्यस्ता घटनाहरूलाई खोतल्नु हो जसमा दर्शकको रुचि हुन्छ वा उनीहरू त्यसबारे अनभिज्ञ हुन्छन्।’

सानो पर्दामा लामो समय चलेको धारवाहिक ‘रानी लक्ष्मीबाई’ ले पात्रको यस्तै गहन प्रस्तुति र ऐतिहासिक विषयवस्तुका कारण दर्शकहरूमा आफ्नो अमीट छाप छाड्न सफल भएको थियो।

यो धारावाहिक सन् २००९ मा सुरु भएर २०११ सम्म चलेको थियो। यही कथावस्तुमा आधारित ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ अब ठूलो पर्दामा प्रदर्शन हुन लागेको छ। त्यसअघि पनि झाँसीकी रानीको विषयवस्तुमा सिनेमा बनेका छन्। सन् १९५३ मै यही नाममा फिल्म बनेको थियो, जुन भारतको पहिलो ‘टेक्नो फिल्म’ को सूचीमा दर्ज छ।

ठूलो पर्दाबाट प्रभावित भएर धारावाहिक बनाउने सूची यतिमै सीमित छैन।

सन् १९७६ मा रिलिज भएर बक्स अफिसमा सुपरहिट भएको ‘नागिन’ को कथामा आधारित धारावाहिक गत वर्ष ‘कलर्स’ टेलिभिजनमा प्रसारण भएको थियो। दर्शकहरूले धारावाहिकका रूपमा पनि यसको कथावस्तु मन पराएका थिए।

महेश भट्ट निर्देशित ‘जख्म’ लाई उनी आफैंले धारावाहिक बनाएका थिए। ‘नामकरण’ नामको उक्त धारावाहिक ‘स्टार प्लस’ मा प्रसारण भएको थियो।

सन् १९९० मा रिलिज भएको अनिल कपुर र माधुरी दीक्षितको ‘जमाई राजा’ नामकै धारावाहिक ‘जिटिभी’ मा लामो समय प्रसारण भयो। दुवैको कथावस्तु मिल्दोजुल्दो छ।

दस वर्षअघि मात्र ठूलो पर्दामा सुपरहिट भएको सुभाष घई निर्देशित तथा शाहरुख खान र महिमा चौधरी अभिनीत ‘परदेश’ मा आधारित धारावाहिक पनि बनिसकेको छ, जसको नाम हो, ‘परदेश मैं है मेरा दिल’।

कला संवाददाता श्रावंती बनर्जी भने धारावाहिकहरू ‘सर्ट कट’ को सूत्रमा लागेकाले ठूलो पर्दाका कथावस्तु हुबहु नक्कल गर्न थालेको बताउँछिन्।

‘बक्स अफिसमा सफल भएको सिनेमामा आधारित रहेर टेलिसिरियल बनाउँदा दर्शकको मन जित्न सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो कामले सजिलै टिआरपी बढ्छ।’

नेपाली फिल्मबाट पनि बनेको छ हिन्दी सिरियल

बलिउडका फिल्मबाट प्रभावित भएर धारावाहिक बनाउने यो सूचीमा एउटा नेपाली फिल्म पनि सामेल छ।

उगेन छोपेल निर्देशित तथा डेनी डेन्जोङ्पा, भुवन केसी र तृप्ती नाडकर अभिनीत ‘साइनो’ फिल्मकै कथामा आधारित रहेर हिन्दी धारावाहिक बनेको छ, जसको नाम हो, ‘बन्धु’। यसको निर्देशन उगेन छोपेलले नै गरेका थिए।

सुरुमा उगेनले साइनोकै कथामा आधारित रहेर हिन्दी फिल्म बनाए। त्यो फिल्म व्यावासयिक रूपमा खासै नचलेपछि त्यसलाई धारावाहिकको रूप दिएका थिए। त्यो धारावाहिक ‘दूरदर्शन’मा प्रसारण भएको थियो। source:setopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.