वडाध्यक्षलाई दुःख दिने नीलकाजी अब आफैं वडाध्यक्ष

केही महिनाअघि मात्र चर्चित सिनेमा ‘जात्रा’मा टोल सुधार समितिको अध्यक्ष भएर खेलेका एक पात्रले यतिबेला जनताबाटै टोल सुधार गर्ने दायित्व पाएका छन्।

काठमाडौंको वडा नम्बर २५ बाट भर्खरै वडाध्यक्ष जितेका नीलकाजी शाक्यको रोचक पहिचान यतिमा मात्र सीमित छैन। उनी काठमाडौंको एउटा अत्यन्त पुरानो परम्परासँग जोडिएका अगुवा हुन्। कुनै समय मुलुकको प्रतिनिधित्व गर्दै विदेशमा गएर खेल्ने खेलाडी हुन्। र, धेरैलाइ थाहा नभएको कुरा, उनी प्रजातन्त्र निम्ति लामो जेल ब्यहोरेका विद्यार्थी नेतासमेत हुन्।

सबैभन्दा पहिले अभिनयकै कुरा।

हाँस्य फिल्महरूमा काठमाडौंको एउटा ठेट नेवारी चरित्रको कल्पना गर्दा यहाँका दर्शकको दिमागमा सजिलै घुम्ने अनुहारका धनी हुन् नीलकाजी। यी ६० वर्षीय विशेष गरेर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका फिल्ममा लामो समयदेखि देखापर्दै आएका हुन्।

‘सबैभन्दा पहिले ‘कान्तिपुर’ भन्ने टेलिफिल्ममा अभिनयको मौका पाएको थिएँ,’ उनी भन्छन्, ‘त्यसमा हरिवंश वडाध्यक्ष थिए, म चाहिँ विकास हुनै नदिने टोलवासी।’

उनी एकछिनसम्मै हाँसे र भने– ‘अब चाहिँ विकास गर्ने ठाउँमा जनताले पुर्याएका छन्।’

नीलकाजीसँग कुरा गरेलगत्तै संयोगले हरिवंश आचार्यसँग सम्पर्क हुन पुग्यो।

‘ओहो, त्यो टेलिफिल्ममा त वडाध्यक्ष बनेको मलाई दिनु दुःख दिएका थिए,’ हरिवंशले हाँस्दै प्रतिक्रिया दिए, ‘अब, भोट पाएर साँच्चिकै हैरान हुने ठाउँमा पुग्नुभएको छ।’

२०४६ सालमा प्रजातन्त्र आएपछि जे कुरामा पनि खोँचे थापेर वडाध्यक्षलाई कामै गर्न नदिने पात्र अर्थात् मुख्य खलनायकका रूपमा नीलकाजी देखिएका थिए। त्यस किसिमका चरित्र असाध्यै बढी भएकाले त्यतिबेला काठमाडौं महानगरपालिकाले प्रायोजन गरेर बनाएको सन्देशमूलक टेलिफिल्म थियो त्यो। फोहर व्यवस्थापन गर्नै नदिने, सडक चौंडा पार्नै नदिने त्यस टेलिफिल्ममा अन्तिममा नीलकाजीकै घर आगलागी हुँदा दमकलसमेत पुग्न नपाएर ध्वस्त भएको हुन्छ।

‘महजोडी बन्नुभन्दा निकैअघि काठमाडौंका डबलीहरूमा प्रहसन र नाचगान आयोजना हुन्थे,’ नीलकाजी भन्छन्, ‘मदनकृष्ण दाइलाई मैले त्यसै बेलादेखि चिन्दै आएको हुँ।’

त्यो परिचयकै आधारमा मदनकृष्णले बोलाएपछि अभिनय गर्न गएका उनी त्यसपछि महजोडीका धेरै टेलिफिल्म र नाटकहरूमा देखापरे। यसै क्रममा एकपटक महजोडीले नै उनलाई ठूलो पर्दाको सिनेमा खेल्न लगे। त्यो थियो ‘बलिदान’। त्यसमा नीलकाजीको भूमिका पञ्चायतका खुंखार अञ्चलाधीशको थियो। हरिवंशलाई कठोर सजाय सुनाउनेदेखि लिएर त्यो पात्रका छोरी चेलीलाई कुदृष्टि लगाउनेसम्मको भूमिका त्यो अञ्चलाधीशले निर्वाह गरेको थियो।

‘ह्या टोलमा त त्यो उतिबेलाको हिन्दी सिनेमाको प्राणै जस्तो भएँ ल…, ’ उनले विशुद्ध नेवारी लबजमा बोले, ‘यस्तो भूमिका पनि गरेर ल्याएको भनेर मान्छेहरूले थुइक्क गरे।’

नीलकाजीलाई भने आफूले जे जति गाली खाए पनि आफूभित्र रहेको कलाको त्यो ठूलो सफलता हुन पुगेको महशुस भयो र उल्टो खुसी भए। ‘खलनायकले गर्ने नै त्यही त हो,’ उनी भन्छन्, ‘यहाँ टोलमा सामाजिक काम गरिरहेको मान्छे, आफूविरुद्ध कत्रो घृणा उतार्न सफल भएको थिएँ म।’

आफूले नाटक र टेलिफिल्महरूमा स–सानो भूमिका खेल्दै आएका भए पनि मान्छेले देख्नेबित्तिकै चिन्ने गरेकामा उनी सन्तुष्ट छन्।

महजोडीकै निम्ति काम गर्दै आएका प्रदीप भट्टराईले पछिल्लो समय उनलाई ‘जात्रा’को निम्ति प्रस्ताव गरे। सुरुमा त उनले इच्छा देखाएनन्। त्यो चरित्र अरूले गर्न नसक्ने भनेर प्रदीपले पनि अडान लिइरहे। पछि अभिनय गरिरहँदा त्यो त काठमाडौंमा भइरहेकै घटनाको प्रतिबिम्ब हो भन्ने लागेर उनी सन्तुष्ट बने।

‘काम केही छैन, तीन–चारवटा घरको बहाल खाएर बाँचेको साहुजी,’ उनले भने, ‘त्यतिले मात्र नपुगेर सबैलाई हैरान खेलाएर बाँच्ने टोल सुधार समितिका अध्यक्ष।’

उनलाई आफ्नै वरपर भइरहेका घटना नै क्यामरामा उतार्दै गएकोमा खुसी लाग्यो। पछि सिनेमा पनि सफल भएकोमा उनी दंग परे।

‘साँच्चै भनुँ भने कस्तो विडम्बना परिदियो भने जहिल्यै टोलवासीलाई दुःख दिने मान्छेको भूमिका गर्दै आइयो,’ उनी भनिरहेका थिए, ‘अब अहिले यहाँ टोलकै विकास गर्न भनेर जनताले जिताइदिएका छन्।’

टेलिफिल्महरूमा जस्तै उनी एकछिन एकोहोरिएर गललल हाँस्न थाले।

‘अब मेरो जीवनको वास्तविक रोल बल्ल सुरु हुन्छ,’ उनले भने, ‘टोल र समाजको निम्ति अभिनयमा नकारात्मक मान्छेले पछिसम्म याद रहने गरी सकारात्मक काम गर्न सक्छु कि सक्दिनँ अब थाहा हुन्छ।’

जीवनमा सबैभन्दा बढी लगानी राजनीतिमै गरे पनि पहिलोपटक जननिर्वाचित हुनपुगेका यी वडाध्यक्षले यो चूनौति सफलतापूर्वक निर्वाह गर्ने अठोट सुनाए।

सबैलेजस्तै नीलकाजीलाई मैले पनि टेलिभिजन र सिनेमामा देख्दै आए पनि उनीसँग नजिक्याउने माध्यम चाहिँ अरुथोकै थियो। केही वर्षअघि एउटा वृत्तचित्रको निम्ति सेतो मच्छिन्द्रनाथ पछ्याउँदै हिँड्दा रथको मुखैमा बसेका एक चिरपरिचित अनुहार देखेर म झस्केको थिएँ। उनी थिए यिनै नीलकाजी।

‘म नौ पुस्तादेखि सेतो मच्छिन्द्रनाथको पुजारीका सन्तान हुँ,’ भोलिपल्ट मच्छिन्द्रबहालमा अन्तर्वार्ता दिँदै उनले भनेका थिए, ‘यो रथयात्रा व्यवस्थापन समितिको संयोजकका हैसियतले यसलाई सम्पन्न गर्ने दायित्व निकै अघिदेखि मैले नै निर्वाह गर्दै आइरहेको छु।’

कुराकानीका क्रममा नीलकाजीले आफू रथको अग्रभागमा बसेजस्तै निकैअघि स्वयं राजा नै रथमा बसेर गुड्ने गरेको पनि सुन्दै आएको बताए। उनका अनुसार पछि त्यो व्यवहारिक नभएकाले हनुमानढोका दरबारबाट गुरुजुको पल्टन र खड्ग पठाएर जात्रा सुरु गराउने परम्परा अघि बढाइएको हो।

अब त राजा पनि रहेनन्। तै पनि आफूहरूले परम्परामा अझै उपस्थित रहेको राजतन्त्रलाई मान्दै आइरहेको उनले जानकारी दिए। उनका अनुसार अहिले पनि हरेक विहान मच्छिन्द्रबहालमा राजाहरूको नाम लिएरै पहिलो पुजाको संकल्प गर्नुपर्छ।

चार सय वर्षभन्दा पुरानो यो परम्पराको मुख्य उद्देश्य नै मन्दिरसम्म आउन नसक्ने बुढापाका र बिरामीहरूलाई घरै पुगेर देउताको दर्शन गराउनु रहेको उनी बताउँछन्।

‘समय धेरै फेरियो,’ उनी भन्छन्, ‘त्यसैअनुसार हामीले रथयात्रामा परिमार्जन पनि गरेका छौं।’

त्यस्ता सुधारहरू विशेष गरेर पछिल्लो समय विकास भएका छेउछाउका संरचनाको सुरक्षादेखि लिएर कुनै पनि दुर्घटनामा मानिस असुरक्षित नरहुन् भन्ने रहेको उनले सुनाए। उनीअघिका पुस्ताले मन्त्रपाठ गरेर रथमा चढेपछि नियमित पूजामा मात्र केन्द्रित हुने गरेकामा नीलकाजी भने रथ कसरी गुडिरहेको छ, छेउछाउमा ठोक्किने सम्भावना कत्तिको छ, कुनै छतबाट इँटा पो खस्दैछ कि, भीडमा कुदिरहेका मानिसको अवस्था के छ जस्ता पक्ष नियाल्ने र तुरुन्ता तुरुन्तै निर्देशन दिने काम पनि गर्छन्।

‘हाम्रा बाबुबाजेहरू केवल टाउकामा पटुका बाँधेपछि जे परे पनि भगवानको शरण मानेर बस्थे,’ उनी भन्छन्, ‘मैले चाहिँ हामी आफू पनि सचेत हुनुपर्छ भनेर नियम बसालेँ।’

काठमाडौं हेर्दाहेर्दै यस्तो फराकिलो र व्यस्त भएको देख्दा उनलाई अचम्म लाग्छ।

‘त्योबेला काठमाडौं यत्रो (औंलाले गुच्चा समातेजस्तो गरेर देखाउँदै) थियो,’ उनले थपे, ‘अहिले सबै कुरा समयअनुसार नफेरेर कहाँ हुन्छ?’

यसरी परिमार्जन गर्दै लगेकाले आज पनि असन, हनुमानढोका हुँदै लगनटोलमा पुगेर रथयात्रा बिसर्जन गर्न सम्भव हुँदै आएको छ। परम्परा पछ्याउँदै आएका यी प्रतिबद्ध कांग्रेसीले केही साताअघि सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गरेपछि मात्रै बल्ल चुनावमा होमिने मौका पाएका थिए।
तर, पार्टीको टिकट पनि कहाँ सजिलै मिल्यो र?

‘हाम्रो कांग्रेसमा एउटा गजब छ,’ उनी निर्धक्क भन्छन्, ‘टोल र वडा इकाइका स–साना नेता पनि सिंगै पार्टीलाई आफ्नो पाकेटभित्र राखेर हिँड्न खोज्छन्।’

इकाइका नेताहरूले वडाबाट अरूकै नाम पठाइसकेका रहेछन्। ‘म किसुनजी र गिरिजाबाबुकै सामुन्ने कांग्रेस भनेको खुला र प्रतिस्पर्धा गर्ने पार्टी हो भनेर बोल्ने मान्छे हुँ,’ उनी भन्छन्, ‘कोठे राजनीति गर्ने यी टोलका झिनामसिनासँग म किन हच्कन्थेँ।’

यसरी कुरो प्रकाशमान सिंहसमक्ष पुगेको रहेछ। सिंहले ‘लड्ने हो त?’ भनेर सोधेछन्। नीलकाजीले मुन्टो हल्लाए। त्यसपछि टिकट उनकै हातमा आइपुगेको रहेछ।

‘नेपालमा चुनावको इतिहासमै काठमाडौंको यति महत्वपूर्ण यो वडामा कांग्रेस कहिल्यै जितेको थिएन,’ उनले गमक्क पर्दै भने, ‘हेर्नुस्, यसपाला नगरमै कांग्रेसलाई गाह्रो पर्दा पनि यहाँ चाहिँ मैले जितेर देखाइदिएँ।’

शनिबार मात्र सार्वजनिक भएको मतपरिणाममा उनले दुईपटक वडाध्यक्ष भइसकेका एमालेका बाबुराजा महर्जनलाई पराजित गरेका हुन्।

‘यस वडाका कांग्रेसीहरूको निम्ति यो चानचुने जित होइन,’ उनले थपे, ‘राजनीतिक भाषामा भन्ने हो भने यो नेपाली कांग्रेसको ऐतिहासिक जित हो।’

नेपाली कांग्रेसलाई यति धेरै माया गर्ने राजनीतिक आधार पनि उनीसँग रहेछ। २०४२ सालमा सत्याग्रह आह्वान हुँदा उनी पब्लिक युथ क्याम्पसमा नेविसंघका तर्फबाट सभापति थिए।

‘गणेशमानजीसँगै मैले पनि गिरफ्तारी दिएको थिएँ,’ उनी भन्छन्, ‘एक वर्ष जेलमा बसेर फर्केपछि गणेशमानजीकै आदेशमा २०४३ सालमा म वडाध्यक्ष लडेको थिएँ।’

त्यतिबेला भएभरका कम्युनिस्ट पार्टीहरुले ‘जनपक्षीय उम्मेदवार’ भन्दै साझा उम्मेदवार उठाइदिएपछि आफू पराजित भएको उनले सुनाए। ‘पञ्चायतलाई उपयोग गर्ने नीतिअनुसारै त्यतिबेला कांग्रेसबाट प्रधानपञ्चमा हरिबोल भट्टराई र उपप्रधानपञ्चमा तीर्थराम डंगोल जिते,’ उनी भन्छन्, ‘म चाहिँ हारेँ।’

त्यसपछि उनले चुनावमा कहिल्यै रुचि देखाएनन्। एक श्रीमती र हाल बैंकमा जागिरे एक छोराका यी पिताले सामाजिक काममै आफूलाई केन्द्रित गरे।

२०४३ को हारपछि नीलकाजीले चुनावमा प्रतिस्पर्धा गरेको यसैपाला रहेछ।
कुनै समय आरसिटी क्लबमा बायाँ तर्फका स्ट्राइकर रहेका नीलकाजी सन् १९७७ मा मुलुककै प्रतिनिधित्व गरेर रुसको मस्कोसम्म फुटबल खेल्न पुगेका थिए। त्यसैले उनलाई जति हारमा अपनाउनुपर्ने संयम र जितले दिने जिम्मेवारी अरू कसलाई थाहा होला?

‘वंशबाट पुजारी भएँ, रुचिबाट कलाकार र खेलाडी,’ उनी भन्छन्, ‘गणेशमानजी जस्ता मान्छेको प्रेरणाबाट जीवनको चार दशक राजनीतिमा लगाएको मेरो निम्ति अब परीक्षाको समय आएको छ।’

अभिनयका कारण कुनै समय टोलबासीबाट घृणा पाउँदा खुसी भएका उनी अब ठीक उल्टो सोच्न थालेका छन्।

‘भोट दिएर जिताएका मानिसबाट घृणा पाएँ भने बर्बाद् हुन्छ,’ सगुन लिएर भेट्न आएका मानिस को दबाबपछि उनले हाँस्दै विदा लिएर भने, ‘म मेरो जीवनलाई असफल हुन दिन्नँ।’
source:setopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.