जेष्ठ ३१, २०७४- सिगास गाउपालिका–१ टकौरेकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी स्वास्थ्यचौकी आइन् । शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन् । उनका श्रीमान्सहित आफन्तबाहिर प्रतीक्षामा थिए । अनमीले छोरी जन्मेको सुनाउनेबित्तिकै विमला बेडमै बेहोस भइन् । श्रीमान् जीतबहादुर भुल छेउमा गएर ‘धुरुधुरु’ रुन थाले ।
२६ वर्षीया विमला छैटौं सन्तान पनि छोरी जन्मिएको सुन्दा बेहोस भएकी थिइन् । उनकी जेठी छोरी ९ वर्ष पुगिन् । राति संयोगले स्वास्थ्यचौकीमै बास बसेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थी र सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बेहोस भएको खबर पाएपछि सोचमग्न भए । डाक्टर र स्वास्थ्यकर्मीले सम्झाएपछि श्रीमान् रुन रोकिए । विमलालाई एक घण्टापछि होस आयो ।
छोराको आसमा उनले ज्यान जोखिममा राखेर छैटौं पटक गर्भधारण गरेकी थिइन् । बैतडीमा छोराको आसमा बढी सन्तान जन्माउने धेरै छन् । अन्य क्षेत्रको तुलनामा च्वागढ र डिलासैनीमा छोरा नभई नहुने मान्यता छ । धार्मिक अन्धविश्वास, सामाजिक प्रतिष्ठा र दबाबका कारण छोराको आसमा बर्सेनि गर्भधारण गर्ने तथा कतिपयले बहुविवाहसमेत गर्दै आएका छन् ।
२३ वर्षदेखि स्वास्थ्यचौकीमा कार्यरत अनमी ढाटका अनुसार छोरा नजन्मेसम्म गर्भधारण गर्ने महिलाको संख्या अत्यधिक छ । ‘कसैले ४/५ सन्तानसम्म छोरा नभए अर्को बिहे गर्छन्, कतिले छोराको आसमा १३/१४ सन्तान जन्माएका पनि छन्,’ ढाटले भनिन्, ‘सात/आठ पटक गर्भधारण गर्नु यो क्षेत्रमा सामान्य जस्तै छ ।’
बालविवाह गर्ने र बढी सन्तान जन्माउने महिलाको स्वास्थ्य नाजुक देखिन्छ । छोरी मात्रै जन्माएको भन्दै धेरै महिला घरपरिवारबाट बहुविवाहलगायत शारीरिक र मानसिक हिंसा सहन बाध्य छन् । सानै उमेरमा गर्भवती भएका, गर्भान्तर नराखेका, धेरै सन्तान भएका परिवारका बालवालिका कुपोषित हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । छोरीलाई पालनपोषण र शिक्षामा समेत विभेद हुने गरेको पाइन्छ । स्वास्थ्य जाँचमा चासो नदिने, छोरीलाई विद्यालय नपठाउने र बालविवाह गर्ने समस्या विद्यमान रहेको गाजरी स्वास्थ्यचौकी प्रमुख सिअहेव जनकसिंह धामीले बताए ।
खाद्यान्न उत्पादन कम हुने र वैकल्पिक आयस्रोत नहुँदा पालनपोषणको बोझले यहाँका परिवारमा आर्थिक संकट बढदो छ । प्राय: घरमा पुरुषहरू वर्ष दिनमा फर्कने गरी कामको खोजीमा भारततिर जान्छन् । महिलाहरू बालबालिकाको स्याहार खेतीपाती, गाईबस्तु, घरायसी बोझले उमेर नहुँदै वृद्धावस्था जस्तो देखिने धामीले बताए ।
‘१३/१४ वर्षमै विहे हुन्छ र त्यही बेलादेखि महिलाहरू गर्भवती हुन्छन्,’ धामीले भने, ‘हरेक वर्ष गर्भवती हुने र पोषणयुक्त खानाको कमी तथा कार्यबोझ बढी हुँदा स्वास्थ्य कमजोर भएको हो ।’
भौगोलिक विकटता, चेतनाको कमी र कामको बोझका कारण धेरैजसोले गर्भावस्थामा स्याहार पाउन सक्दैनन् । गर्भ जाँच र प्रसूति सेवा सहज गर्न पछिल्लो समय स्वास्थ्य कार्यालयले बस्ती हेरेर सुरक्षित प्रसूति केन्द्र, सामुदायिक स्वास्थ्य इकाईको संख्या थपेको छ ।
‘गाउँबाट स्वास्थ्यचौकी जान दिनभर हिँडेर मुस्किलले पुगिने गाउँ छन्,’ जिल्ला स्वास्थ्य प्रमुख डा. अवस्थीले भने, ‘अहिलेको एउटा वडामा ३/४ ठाउँबाट स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्न सके सबैको पहुँच बनाउन सकिन्छ ।’ kantipur.ekantipur
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.