डान्स प्लस टुको टप सिक्समा नेपालि वाइल्ड रिपर्स : नेपालबाट पनि भोट गर्न सकिने

भारतिय च्यानल स्टार प्लसमा प्रसारण भैरहेको रियालिटी डान्स कम्पिटिसन डान्स प्लस टुको टप सिक्समा नेपाली डान्सहरूको समूह ‘वाइल्ड रिपर्स’ ले समेत स्थान पाएको छ । १० जना डान्सर तथा डान्स ग्रुपको कडा प्रतिस्पर्धाका बीच आउटस्ट्याडिङ पर्फमेन्स दिँदै वाइल्ड रिपर्सले टप सिक्सभित्र स्थान बनाएको हो ।
वाइल्ड रिपर्स ग्रुपले नृत्य गरिसकेपछि निर्णायकहरूले आफू बस्ने कुर्सीमाथि उभिँदै वाइल्ड रिपर्सको प्रतिभाप्रति सम्मान प्रकट गरेका थिए । कार्यक्रमका सञ्चालकले त नृत्यलगत्तै वाइल्ड रिपर्सका एक सदस्यलाई नेपाली ढाकाटोपी पहिर्‍याइदिएका थिए । सुपर जज रेमो डिसुजाले यो डान्स ग्रुपको अद्वितीय प्रतिभाको कदर गर्दै उनीहरूको प्रस्तुति फाइनल जित्ने खालको भएको बताएका थिए । डान्स प्लस टुको टप थ्रीभित्र नेपालकै सुशान्त खत्रीले स्थान बनाइसकेका छन् भने सिक्किम नाम्चीका नेपालीभाषी मिंग्मा दोर्जे लेप्चाले पनि टप फाइभभित्र स्थान पाइसकेका छन् । 
वाइल्ड रिपर्स नेपाली हिपहप डान्स ग्रुप हो । यसको अर्को नाम बि–बोइङ डान्स ग्रुप हो । यो समूहमा ९ जना नेपाली युवा छन् । यो ग्रुपमा बुद्ध लामा २१, रोहन सिंह २४, किरण थापा २३, सुरेन राई २०, सन्तोष दर्जी २१, साउल जेम्स बोदी २३, सागर राई २१, सुमन तामाङ २१ तथा सुरज थापा मगर १९ वर्ष आबद्ध छन् । काठमाडौं, धनगढी तथा बुटवलका यी डान्स क्रेजी युवाहरूले काठमाडौंमा समूह बनाएपछि आफूलाई विभिन्न प्रतिस्पर्धामा अघि सारेका हुन् । 
नेपालमा स्थानीय रूपमा प्रसिद्धि कमाइसकेपछि यो डान्स समूह दुई वर्षदेखि भारतीय भूमिमा संघर्षरत थियो । भारतीय रियालिटी शोमार्फत शिखरमा पुग्ने उद्देश्य राखेको यो डान्स ग्रुपले कडा प्रतिस्पर्धाका बीच निरन्तर सफलता हासिल गरिरहेको छ । भारतमा उनीहरूले गरेको संघर्ष र सफलताले बिस्तारै उचाइ लिएको त्यहाँका समाचारमाध्यमहरूले जनाएका छन् । यो समूहले यसअघि नेपाल र भारतका विभिन्न डान्स प्रतियोगिताको उपाधि पनि हासिल गरेको थियो ।
इन्डिया बेस्ट डान्स क्रु–२०१६, इन्डियाज बिगेस्ट फेस्ट–२०१५, अल नेपाल अर्वान स्ट्रिट डान्स कम्पिटिसन, च्यानल भी अल इन्डिया फेस्ट–२०१५, युडिएमएस मुम्बई च्याम्पियनसिप–२०१४, निम्स डान्स च्याम्पियनसिप–२०१४, पुने फेस्ट–२०१४ जस्ता दुई दर्जन डान्स कम्पिटिसन जितिसकेको यो ग्रुपले अझ ठूलो सफलता हासिल गर्ने उद्देश्यसहित यो प्रतियोगितामा सहभागिता जनाएको हो । भारतीय च्यानलको यो फोरममा सफलता हासिल गर्न सके त्यसपछिको यात्रा केही सहज हुने भएकाले पनि उनीहरू जस्तोसुकै मेहनत गर्न तत्पर देखिन्छन् । यसबीच निर्णायकहरूबाटै उनीहरूले विभिन्न कामको अफरसमेत पाइसकेका छन् । 
डान्स प्लसमा हजारौं प्रतिस्पर्धीसँगको प्रतिस्पर्धापछि टप थर्टीमा पुगेको वाइल्ड रिपर्सको डान्स प्लसको प्रतिस्पर्धात्मक यात्रा सधैं चुनौतीपूर्ण तथा रोमान्चक रह्यो । उत्कृष्ट ३० पछि उत्कृष्ट १२ भित्र स्थान बनाउन वाइल्ड रिपर्सले दह्रै कसरत गर्नुपर्‍यो । निरन्तर निर्णायकको मन जित्न सफल भएपछि अगाडिको बाटो तय गर्न गाह्रो नभएको यो समूहका सदस्यहरूले बताउँदै आएका छन् । ठूलो प्रतियोगितामा आफूलाई अब्बल सावित गरेकै कारण नेपाल तथा नेपालीको मन जित्न सफल भएको अभिव्यक्ति पनि उनीहरूले दिने गरेका छन् । 
क्याप्टेन तथा निर्णायकहरूबाट स्ट्यान्डिङ अडिसन पाएका वाइल्ड रिपर्स ग्रुपका सदस्यहरूले उत्कृष्ट १२ भित्र पर्ने क्रममा सुपर जज रेमो डिसुजाबाट लगातार ३ पटक डबल प्लस पाएर ह्याट्रिक गरेका थिए । यति हुँदाहुँदै पनि टप सिक्समा प्रवेश पाउन भने बराबर पर्फमेन्स गर्न सक्ने अन्य ९ वटा टिमलाई पछार्नुपर्ने थियो । त्यसमा पनि उनीहरू सफल भए । अब उनीहरू उपाधिको नजिक पुगेका छन् ।
उपाधिको हकदारका रूपमा हेरिएको वाइल्ड रिपर्स ग्रुपले आगामी दिनमा आफ्नो नृत्यप्रतिभालाई अझ निखार्दै लाने जनाएको छ । अब यो प्रतियोगिता पब्लिक भोटिङ चरणमा प्रवेश गर्दैछ, जसमा नेपालबाट पनि भोट गर्न सकिने बताइएको छ ।
                                                                                                                            कान्तिपुर साप्ताहिक बाट 



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.