कलिउडका आगन्तुक अभिनेत्री


नेपाली चलचित्रमा अभिनय गर्ने विदेशी अभिनेत्रीको सूची लामै भेटिन्छ । तर, उनीहरूमध्ये कमै अभिनेत्री, जो नेपाली दर्शकमाझ चिनिन सके । धेरै विदेशी अभिनेत्रीले एउटाबाहेक दोस्रो नेपाली चलचित्रमा अभिनय गरेको भेटिँदैन । चलचित्रमा नयाँ स्वाद दिन विदेशी अभिनेत्री ‘हायर’ गरेर खेलाउने गरिएको भए पनि त्यसले नगण्य प्रभाव पारेको देखिन्छ । हलिउड र बलिउडका अभिनेत्रीको अभिनय कलिउडमा देखिए पनि तृप्ति नाडकर, रजनी शर्मा, निरुता सिंह, माला सिन्हालगायत केहीले मात्रै नेपाली दर्शकमाझ छाप छोड्न सकेको देखिन्छ ।

माला सिन्हा
माला सिन्हा चलचित्र ‘माइतीघर’की अभिनेत्री हुन् । सिन्हा भारतीय नागरिक हुन् । तत्कालीन समयमा भारतीय चलचित्र जगत्मै भरपूर नाम कमाएकी सिन्हाले २०२३ सालतिर ‘माइतीघर’बाट कलिउडमा पनि चर्चा बटुलेपछि नेपाललाई घरकै रूपमा बदलेकी थिइन्, सोही फिल्मका नायक सिपी लोहनीसँग लगनगाँठो कँसेर । यसपछि सिन्हालाई चलचित्र ‘चिनो’ र ‘भाउजू’मा मुख्य भूमिकामा अफर आएको थियो, तर पछि केही कुरा नमिलेपछि उक्त भूमिकामा सुभद्रा अधिकारी आइन् । सिन्हाको माइतीघरबाहेक अन्य कुनै पनि फिल्ममा अभिनय देखिएन । तर, सिन्हा अभिनित ‘माइतीघर’ त्यतिखेर सुपरहिट थियो ।
मीरा माधुरी
तुलसी घिमिरेकै ‘अन्याय’मा मीरा माधुरीको मुख्य अभिनय छ । ‘अन्याय’को भूमिकामा आउनुअघि नै भारतीय नागरिक माधुरीले बलिउडका केही चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।
निरुता सिंह
‘दक्षिणा’बाटै नेपाली चलचित्रमा डेब्यु गरेकी निरुता सिंह भारतीय नागरिक भए पनि धेरै नेपाली चलचित्रमा अभिनय गरिन् । त्यसैले त सिंहलाई धेरैले नेपाली नागरिक नै ठान्छन् । सिंह दार्जिलिङमा जन्मिएकी हुन् ।
तृप्ति नाडकर
नेपाली चलचित्रहरू ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कोसेली’ र ‘लाहुरे’मा तृप्ति नाडकरले मुख्य भूमिका निभाएकी छिन् । भारतीय नागरिक नाडकरले चलचित्र ‘पिरती’मा भने गर्भवती भएका कारण प्रस्ताव स्वीकार गर्न सकिनन् । गर्भवतीपछिको लामो समय अल्झिएकी नाडकरले झन्डै २० वर्षपछि ‘आमाको काख’ चलचित्रमा अभिनय गरिन् ।


दीप्ति नवल
चलचित्र ‘पञ्चवटी’मा भारतकी चर्चित अभिनेत्री दीप्ति नवलले अभिनय गरिन् । ‘पञ्चवटी’ नेपाली र भारतीयको संयुक्त लगानीमा बनेको चलचित्र हो । पन्जाबमा जन्मिएकी नवल फिल्म निर्देशक, लेखक, चित्रकार र फोटोग्राफरको रूपमा समेत चर्चित छिन्, बलिउडमा । तर, कलिउडमा भने उनले जम्ने गरी ‘पन्चवटी’बाहेक अन्य चलचित्रमा अभिनय गरिनन् ।
रिया मर्फी
अमेरिकी नागरिक रिया मर्फीले ‘काठमाडौं’ नामको चलचित्रमा अभिनय गरेकी छिन् । अमेरिकामा केही टेलिशृंखलामा अभिनय गरेकी मर्फीले ‘काठमाडौं’मा नेपाली अभिनेता आकाश अधिकारीको जोडीको रूपमा मुख्य अभिनय गरेकी छिन् ।
सल्मा आघा
‘हामी एक हौँ’ चलचित्रमा भारतीय चलचित्रकी अभिनेत्री सल्मा आघाले अभिनय गरिन् । ‘हामी एक हौँ’ नेपाली र पाकिस्तानीको संयुक्त लगानीमा बनेको चलचित्र हो । आघा बेलायती गायिकासमेत थिइन् ।
श्वेता तिवारी
भारतीय नागरिक श्वेता तिवारी ‘त्रिनेत्र’की अभिनेत्री हुन् । ‘त्रिनेत्र’ नेपाली र भोजपुरी भाषामा बनेको चलचित्र हो । हिन्दी टेलिशृंखला र चलचित्रमा अभिनय गरिसकेकी श्वेता हिन्दी टेलिशृंखला ‘कसौटी जिन्दगीकी’मा प्रेरणाको भूमिकामा चर्चित भएकी थिइन् ।
रजनी शर्मा
चलचित्र ‘बाँसुरी’की अभिनेत्री रजनी शर्मा भारतीय नागरिक हुन् । ‘बाँसुरी’ अहिलेका चर्चित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको पहिलो चलचित्र हो । शर्माले अर्को चलचित्र ‘मसाल’मा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको भारतीय चलचित्र ‘बालिका बधु’ निकै चर्चित बनेको थियो ।
कार्ला बेचिची
कार्ला बेचिची अमेरिकी नागरिक हुन् । उनले नेपाली चलचित्र ‘स्वीकार’मा अभिनय गरेकी छिन् । रविराज अर्यालद्वारा निर्देशित चलचित्र ‘स्वीकार’मा कार्लाको मुख्य भूमिका छ । यो चलचित्रले विभिन्न अवार्डसमेत प्राप्त गरेको थियो ।
यी नायिकाका अतिरिक्त ‘दुई थोपा आँसु’की नायिका अनुराधा सावन्त र चलचित्र ‘दक्षिणा’की अभिनेत्री डली थापा पनि भारतीय नागरिक हुन् । डली निर्देशक बिएस थापाकी छोरी हुन् । उनले दक्षिणापछि नेपाली चलचित्रमा फेरि अभिनय गरिनन् । सावन्त पनि तुलसी घिमिरेले निर्देशन गरेको ‘दुई थोपा आँसु’बाहेक अन्य नेपाली फिल्ममा देखिइनन् । ‘कोसेली’की अभिनेत्री भारती गजमेर भारतभूमिकै चेली हुन् । उनी निर्देशक तुलसी घिमिरेकी धर्मपत्नी हुन् । त्यसैगरी ‘पाकेटमार’की सोनिया मल्ल, ‘जन्म–जन्म’की श्वेता गौतम, भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसी पनि पहिले भारतीय नागरिक हुन् । नेपाली चलचित्रमा अभिनय गर्ने रुस्मा राई र रन्जु लामिछाने सिक्किमका हुन् । ‘परिचय’की अभिनेत्री मोनिका वेदी र ‘हाम्रो मिलन कहिले हुन्छ’को गीतकी नृत्यंगना प्रीति झिँगयानी पनि भारतीय मूलकै हुन् ।

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.